मलाई अघिल्लो दिन रातभर पटक्कै निन्द्रा परेन। भोलिपल्ट बिहानै ४ बजे साइकलबाट जो यात्रा गर्नु थियो। कहिल्यै नपुगेको ठाउँ कोइलाबास जान लालायित थिएँ।
यसअघि धेरै पटक गाडीबाट कोइलाबास जाने अवसर जुरेको थियो। तै पनि जाने मेसो मिलेको थिएन।
तर यसपटक भने साइकलमै नेपाल–भारत सीमा नाका कोइलाबास जाने अवसर जुरेको थियो। मैले यो अवसर …`मिस’ गर्न चाहिनँ।
कोइलाबाससम्मको साइकल टुर जो जिल्लामै पहिलो थियो।
एउटा साइकल राइडरलाई त्यस्तोमा मन निकै उत्साहित र चञ्चल नहुने कुरै भएन।
कति खेर उज्यालो होला? कोइलाबास कस्तो होला? त्यहाँसम्म साइकल चलाउन कत्ति गाह्रो होला? कतै मबीच जंगलमा एक्लै त पर्दिनँ? यस्तै कुरा मनमा खेलिरहे।
घोराहीदेखि कोइलाबाससम्म निकै अग्ला पहाड छन्। दूरी ५६ किलो मिटर छ। आउन जान गरेर ११२ किलोमिटर आफ्नै बलबुतामा हिँड्नु थियो।
मन डराए पनि उत्साहित थिएँ। पछिल्लो समय मेरो `स्टामिना’ त्यति राम्रो थिएन।
घरकै ठूलदाइ लेखराजले एक महिना अगाडि एक जना फूच्चेलाई ल्याएर एकाएक साइकल उठाएर लैजानु भाथ्यो। नाइँ भन्न पनि सकिनँ।
संयोगबस कोइलाबास जानुभन्दा दुई दिन अगाडि ठूलदाइ संयोगले मेरो घरमा आउनु भयो।
उहाँले बिहान नियमित साइकल चलाउने गरेको कुरा गर्नुभो। त्यो सुनेर खुसी लाग्यो।
मैले पनि कुरा झिकें।
`यो शनिबार साथीहरू कोइलाबास साइकल टुर जाँदैछन्।’
मेरो कुरा सुनेर छक्क पर्दै उहाँले एकछिन मलाई मज्जाले हेर्नु भो।
`के त पनि यहाँबाट कोइलाबास साइकलमा जान सक्लास्?’
मैले फ्याट्ट जवाफ दिएँ।
सकिहाल्छु नि। किन नसक्नु!
`लौ, त्यसो भए तेरो साइकल एक÷दुई दिनमै पठाइ दिन्छु।’ उहाँले भन्नु भयो।
मन उत्साहित भयो। नभन्दै उहाँले साइकल ल्याइदिनु भयो।
अनि मैले पनि साथीहरूसँग कोइलाबास टुर जाने निधो गरें।
अहिले जहाँतहीँ कोरोनाको कहर छ। सबैले आफूले खाने कुरा आफैं बोक्ने भन्ने सल्लाह भयो। मैले अघिल्लो दिन नै रेडिफुड किनें। मानसिक रूपमा तयार भएर बसें।
सल्लाह अनुसार आयोजक संस्था साइकल सिटीका उपाध्यक्ष खुमबहादुर (केबी) न्यौपानेले ठिक ४ बजे फोन गर्नुभयो। म फ्रेस हुँदानहुँदै उहाँ गाडी लिएर घरमै आइपुगी सक्नु भएछ।
मेरो साइकल पनि त्यसैमा राखेर हामी घोराही पुग्यौं।
तुलसीपुरमा खेलको रूपमा साइकल चलाउने साथीहरू ४०÷४५ को हाराहारीमा भए पनि खै किन हो कोइलाबास टुर जान मन गरेनन्। अहिलेको माहामारीको अवस्थाले पनि हुन सक्छ । कहिलै नगएको रुट र टाढा भएर हुनसक्छ।
साथी रेश्मी अधिकारीको हालसालै लमही सरुवा भएको छ। उहाँ लमहीबाटै जोडिने कुरा भाथ्यो। हामी साढे ५ बज्दा नबज्दै घोराही पुगिसकेका थियौं। सबै जुट्न केही समय लाग्यो। ६ नबज्दै घोराहीबाट यात्रा सुरू भयो ।
हाम्रो टिममा १९ वर्षदेखि ५० वर्ष सम्मका राइडर सहभागी थिए। त्यसमा विद्यार्थी, चार्टर्ड एकाउन्टेन्ट, कपाल काट्नेदेखि सितोरियो कराँतेका खेलाडी, बैंकर र व्यापारी पनि सामेल थिए।
सूर्य उदाएकै थिएन।
बिहानी जोश। शितल हावाको स्पर्श। सडकमा सवारी चाप पनि कम। भर्खरै दाङ राजधानी भएको हुँदा साथीहरूमा बेग्लै ऊर्जा थियो। हामी जोशका साथ अगाडि बढ्यौं।
गोग्ली आसपासमा पुग्दा पहेंलपुर धान झुलेका फाँट। त्यता बाटो किनारमा थुप्रै वरपिपलका रूख छन्। बाँस झाडीमा चराहरू उठ्ने मेसो गर्दै थिए।
केहीबेरमै बबई नदीको पुल पार भयो। घोराही–लमही सडक खण्ड पहाडको बीचमा छ।
उकालो यात्रा सुरू भयो। सलक्क परेका सुन्दर सालका रूखहरू पंक्तिबद्ध उभिएर स्वागत गरिरहेझैं लाग्थे।
मुस्कुराउँदै पातहरूले बाईबाई गरिरहेझैं। फोक्सोमा शुद्ध हावा र अक्सिजन पुगिरहेको थियो भान हुन्थ्यो।
साथीहरू आफ्नै सूरमा गीत गाउँदै र रमाइलो गर्दै साइकल चलाइरहेका थिए।
उकालोमा म अलि पछि परें। त्यही बीचमा घोराहीबाट एउटा बस आयो । यात्रु ४÷५ जना जति मात्रै थिए। सहचालक ढोकामै उभिएका। तत्कालै अगाडि बढ्न नमिल्ने गरी ट्रक गुडिरहेको थियो। सहचालकले एकाएक गीत गाए।
उकालीमा पनि हजुर साइकल चढ्दा रैछ... साइकलेलाई सलाम छ ... ।
उनको गीत यत्ति मत्रै सुन्न भ्याएँ।
गाडी इञ्जिन पावर प्रयोग गर्दै अगाडि बढ्यो।
उनले मलाई थम्बिङ गरे। सायद मुस्कुराए पनि। उनले मास्क लगाएका थिए। मैले नचिने पनि उनले मलाई चिनेका थिए कि! जे होस\ सहचालकले गाएको त्यो गीतले मलाई रोमाञ्चित तुल्यायो। जोश बढेर आयो।
चौपट्टामा पहाडको टुप्पोमा शिव भगवानको मन्दिर आयो। जसलाई १५ सय वर्ष पुरानो चौघेराको प्राचिन रत्ननाथ मन्दिरको इतिहास र किम्बदन्तीसँग जोडेर हेर्ने गरिन्छ।
राजाबाट साधु बनेका रत्न पारुखुको रोचक किंबदन्ती छ। यो जंगल र मन्दिरसँग।
जे होस् हाम्रा पूर्खाहरू निकै दूरदर्शी हुन्। जसले जल,जमिन, ढुँगा, पहाड, वनस्पति, पुशपंक्षी, सर्प लगायतलाई पूजा आराधना र श्रद्धा गर्न सिकाए। केहीबेर त्यही अडियौं। फोटो खिच्यौं। अनि लमही जाने ओरालो बाटो सुरू भयो।
साइकल हावामा बत्तियो। सायद काँटा हुन्थ्यो त ८०÷९० स्पिड देखाउँथ्यो होला!
एक छिनमै मुसोटको ओरालो पुग्यौं।
घोराही– लमही २३ किलोमिटर छ।
तुलसीपुर–घोराही बीचको दूरी पनि २३ किलोमिटर नै छ।
लमही पुगेर घोराही चोकमा केहीबेर रोक्यौं। दुई जना साथीहरू पछाडि छुटेका थिए। पूर्वपश्चिम राजमार्ग नजिकै।
लमही बसपार्क नजिकै पत्रकार दशरथ घिमिरे पर्खिबस्नु भएको थियो । साथीहरूलाई चिनाइदिएँ।
त्यसपछि हाम्रो यात्रा लमहीदेखि दक्षिण गढवातर्फ मोडियो। लमही–कोइलाबास सडक खण्ड करिब ३४ किलोमिटर छ।
मित्र रश्मि अधिकारी त्यही प्रतीक्षारत हुनुहुन्थ्यो।
उहाँले प्रतीक्षा गरेकै ठाउँमा एउटा होटलमा चिया नास्ता गर्यौं। आफूआफूले ल्याएका खानेकुरा बाँडेर खायौं।
फेरि यात्रा अगाडि बढ्यो।
लमही र गढवा जोड्ने राप्ती नदीको पुल पनि पार ग¥यौं। अनि केहीबेरमै गढवा बजार पनि। हामी जहाँ जहाँ पुग्थ्यौं।
मानिसहरू एकछिन उभिएर हेर्थे। कतिले हात हल्लाउँथे। हामी पनि त्यसै गर्थौं। गढवा बजार पार गरेपछि झन्डै ७/८ किलोमिटर जति समथल भूभाग नै रहेछ।
कोइलाबासको यात्रा गर्नु भएको छ भने तपाईंलाई पनि राम्रो याद होला। त्यहाँ कति ठाडा उकाला छन् भन्ने। अझ गाडीमा चढ्दा उकाला वास्तविक रूपमा नापिन्नन्। तपाईं साइकल चढ्नु भयो भने राम्रो थाहा पाउनु हुन्छ। पैदल हिँड्नु भएको छ भने पनि त्यहाँका उकाला याद होला।
मलाई भने धौ–धौ भाथ्यो। महिना दिन बढीको ग्याप। त्यसैमाथि अनिँदो। उकालोहरूमा गाह्रो भयो।
उकालोहरूमा प्राय म सेकेन्ड/थर्ड लाष्टमा हुन्थे। आफूभन्दा अगाडि उकालोमा साइकल चलाइरहेका साथीहरू पछाडिबाट नियाल्दा कमिलाका ताँती जस्तै लाग्थे। पंक्तिबद्ध विस्तारै हिँडिरहेका। चेन अफ साइकल जस्तै। एकले अर्कोलाई तानिरहेको हुन् कि जस्तै लाग्ने।
त्यो देख्दा थोरै भए पनि जोश बढेर आउँथ्यो।
उकालोमा पसिनाको बाढीले शरीर निथुक्क भिजेको थियो। यस्तै हो, पहाडको राइडमा कहिले साइकलले र कहिले आफूले साइकललाई बोक्नु पर्छ। तै पनि साथीहरू हौस्याउँथे।
भन्थे साथी हो ‘उकालो पछि अवश्य ओरालो आउँछ, अगाडि बढौं।’
हालसालै ७६ करोड लागतमा लमही–कोइलाबास सडक खण्ड कालोपत्रे गरिएको छ। सफा र चिल्लो बाटो छ। हरिया रूख विरूवा। चराको चिरविर आवाज। पहाड रसाएर कलकल बगिरहेको पानी। ती सवले मनमा बेग्लै सन्तुष्टि मिल्ने। उत्साह भरे। ऊर्जा थप्थे।
झन्डै ३४ किमी दूरी पार गर्दा ३ ठाउँ बिसायौं। जम्मा ५/१० मिनेट। लगेका खाजाहरू सडकमै बाँडीचुँडी खायौं।
यसैगरी हामीले झन्डै ८०/९० प्रतिशत यात्रा पूरा गरिसकेका थियौं।
अब उकालो सकिसकेको थियो। ओरालो झर्न मात्रै बाँकी थियो। साइकल राइडमा उकालोपछि आउने ओरालोको मज्जा बेग्लै हुन्छ। ओरालोमा ब्रेकले काम नगरे जोखिम भने हुन्छ। सोझै भिरबाट खस्ने हो।
जे होस कोइलाबास जाँदा उकालो ओरालो देखेर त्यतिबेला मलाई मनमा लाग्यो, कि यस्तो ठाडो भिर पाखा हाम्रा पूर्खाहरू (बाबु बाजेहरु) भारीसँग कसरी काटे होलान्!
जतिबेला राम्रो गोरेटो बाटो पनि थिएन। त्यो जमानामा नुन, तेल ल्याउने मुख्य नाका यही कोइलाबास नै हो।
दाङ, सल्यान, रोल्पा, रुकुम, प्यूठान, जाजरकोट सम्मका मानिसहरू यही नाकाबाटै नुन तेल किनेर ल्याउँथे। भएकाले घोडामा बोकाएर, नभएकाले आफैं बोकेर ल्याउँथे।
यो आजभन्दा झन्डै ५०÷५२ वर्ष अगाडिको मात्रै कुरा हो।
जब दाङ खण्डमा विक्रम संवत २०२५ सालतिर पूर्वपश्चिम राजमार्ग निर्माण भयो। राजमार्गमा मोटर गाडी गुड्न थाले। सुविधा पाएपछि मानिसहरू सामान किनमेल गर्न बाँकेस्थित जमुना नाका जान थाले। अनि कोइलाबास नाका ओझेलमा पर्न थाल्यो।
गोरेटो बाटो मात्रै हुन्, मोटर गाडी नचल्नु जस्ता कारणहरूले यो नाका विरानो भयो।
एकातिर बाँकेको जमुनाहा नाका चम्किँदै गयो भने अर्कोतर्फ कोइलाबास नाका गुमनाम बन्दै गयो। कोइलाबासको व्यापार बन्द भयो। राजश्व उठ्नै छोड्यो।
सरकारी कार्यालय र अड्डाहरू बन्द हुँदै गए। जीर्ण बन्दै गए। कति धप्किए। कति धप्किने अवस्थामा छन्।
कोइलाबास सीमा नाका दाङ देउखुरीको गढवा गाउँपालिका वडा नं. ८ मा पर्छ। जहाँ जनकपुरपछि नेपालकै दोस्रो ठूलो र प्राचीन जानकी मन्दिर छ। तर, गुमनाम।
हामी साइकल टुरमा गएको थाहा पाएपछि त्यहाँका वडाध्यक्ष शद्दाम सिद्धिकी स्वागत गर्न आए । खुसी साटे। हामी पुगेको खुसियालीमा उनले एक काटुर्न पिउने पानीको व्यवस्था गरे। त्यहाँ खाना खाने होटल पनि रहेन छन्।
तर उनले केही प्रयासहरू गरेका रहेछन्। खानेपानीका लागि डिपबोरिङ खनाएका छन्।
अबको एकाध हप्ताभित्रै त्यही पानी घर घरमा वितरण गर्न तयारी गरिएको उनले जानकारी दिए। त्यसका लागि गरिबको घरमा निशुल्क धारा वितरण गरिरहेका रहेछन्।
सडक कालोपत्रे भएपछि दाङ देउखुरीबाट थुप्रै मानिसहरू डुल्न घुम्न र ठाउँ हेर्न आउन थालेका छन्।
कोरोनाको महामारीभन्दा पहिला भारतबाट दैनिक विद्यार्थी तथा युवायुवती ठूलो संख्यामा कोइलाबास नाका आउँछन्।
उनीहरू नेपालका सुन्दर पहाडहरू नियाल्न आउने गरेको शिद्धिकीले बताए।
कोइलाबासमा होटल र साना ठूला उद्योगहरू स्थापना गर्न जरुरी रहेको वडाध्यक्ष ठान्छन्। त्यसो हुन सकेमा मात्रै कोइलाबास बजारले पुर्नंजीवन पाउन सक्ने उनको बुझाइ छ।
दाङको देउखुरी प्रदेशको स्थायी राजधानी भएपछि यहाँका सर्वसाधारण पनि उत्साहित बनेका छन्।
प्रदेश राजधानी देउखुरी उपत्यकादेखि सबभन्दा नजिकको अन्तर्राष्ट्रिय सीमाना नाका कोइलाबास नै हो।
लमही बजारबाट कोइलाबास सम्मको दूरी जम्मा ३४ किलोमिटर जति मात्रै छ।
लमहीबाट कपिलवस्तुको कृष्णनगर नाका ८० किलोमिटर र बाँकेको जमुना नाका १२५ किलोमिटरको दूरीमा पर्छ।
जे होस् सूर्य नउठ्दै हिँडेका हामी सूर्य अस्ताएपछि मात्रै राइड पूरा गरेर घर फर्कियौं। कति साथीहरूले त्यो कुरा पत्याउन मुश्किल मान्छन्।
लकडाउनका कारण पछिल्लो समय केही लामो समयदेखि जिल्लामा साइकल टुर भएको थिएन। त्यसले साइकल राइड गर्ने साथीहरूलाई उत्साह थपेको हुनुपर्छ। आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पनि यस्ता टुरहरू भइरहन आवश्यक छ।
मेरो लागि त्यो साइकल टुर कोइलाबास सीमा नाकाको वस्तुस्थिति अवलोकन गर्ने अवसर थियो। साइकल राइड स्वास्थ्य र वातावरणीय दृष्टिकोणले अति उपयुक्त छ। यसबाट फाइदै फाइदा छन्। पछिल्लो समय तुलसीपुर र घोराहीमा मात्रै स्पोर्टका लागि साइकल चलाउनेहरूको संख्या झन्डै एक सयको हाराहारीमा पुगिसकेको छ।
हाम्रो उद्देश्य युवाहरूलाई साइकलतर्फ आकर्षित गर्ने पनि हो।
छोरा छोरीलाई महँगा मोटरसाइकलभन्दा साइकल किन्नका लागि हरेक अभिभावकले प्रेरित गर्नुपर्छ। अर्कोतर्फ राज्यले पनि साइकलका लागि छुट्टै लेन बनाउन ध्यान दिन जरूरी छ।