हाम्रो अर्को गन्तव्य थियो भिक्टोरिया। भिक्टोरिया क्यानडाको १५ औं सबभन्दा ठूलो सहर अनि ब्रिटिस कोलम्बिया प्रान्तको राजधानी। भिक्टोरिया सहर आफैमा एक टापु हो, जसलाई सडकले जोडेको छैन।
ब्रिटिस कोलम्बिया क्यानडाको ६ औं प्रान्तका रूपमा सन् १८७१ मा संघीय प्रणालीमा समावेश भएको थियो। ब्रिटिस कोलोम्बिया राज्यमा भ्यानकुभर, भिक्टोरिया, केलोनाजस्ता प्रसिद्ध सहरहरू पर्दछन्।
कोही भिक्टोरिया घुम्न चाहन्छ भने ब्रिटिस कोलम्बियाको भ्यानकुभर र अमेरिकाको सिएटल प्रमुखद्वार हो। भ्यानकुभरबाट फेरी वा सिप्लेनमार्फत् भिक्टोरिया पुग्न सकिन्छ। सिएटलबाट पनि फेरि अथवा हवाइ जहाजबाट पनि पुग्न सकिन्छ। हुन त क्यानडा र अमेरिकाको केही प्रमुख सहरबाट प्लेन चढेर पनि आउन सकिन्छ।
-1749277538.jpg)
भ्यानकुभर वा सिएटलबाट भिक्टोरियाको फेरीको यात्रा अत्यन्त रोमाञ्चित हुने हुँदा यो बढि लोकप्रिय छ। मानिसहरू आफ्नो कार जिप साइकल लिएर फेरीको यात्राबाट भिक्टोरिया दुई-तीन दिन बसेर फर्किने रहेछन्।
सन् २०१० मा मैले भिक्टोरियाको यात्रा सिएटलबाट गरेको थिएँ। त्यसबेला यात्रामा हामी चारजना थियौं। सिएटलबाट भिक्टोरियाको प्लेनमा लगभग ५० मिनेटको यात्रा गरेका थियौं भने फर्कंदा फेरीको यात्रा गरेको याद छ। जुन मेरो अवस्मरणीय फेरीको पहिलो यात्रा रह्यो।
नयाँकुराको ज्ञान नहुँदा र नयाँ गतिविधि गर्दा त्यस विषयमा राम्रो जानकारी नलिँदा लाजमर्दो हुन सक्छ भन्ने एक उदाहरण बनेको थियो भिक्टोरियादेखि सिएटलको त्यो फेरी यात्रा।
हाम्रो सिएटलबाट भिक्टोरिया, भिक्टोरियाबाट सिएटलको यो यात्रा ट्राभल कम्पनीले व्यवस्थापन गरेको थियो। सिएटल फर्कंदै गर्दा हामीलाई भनिएको थियो- ‘होटलबाट बसले पिक गर्छ, अनि बसले फेरीमा पुर्याउँछ र फेरीबाट ओर्लेपछि होटलसम्म पनि बसले नै पुर्याउँछ।’
झन्डै ३० मिनेटको यात्रापछि हामी चढेको बस पार्किङमा रोकियो जहाँ थुप्रै बसहरू पार्क गरिएको थियो। गन्तव्य पुगेकाले बस चालकले झर्न एनाउन्समेन्ट गर्यो।
हामी बसबाट ओर्लियौं र बस चालक छेउमा पुगेर लगेजको लागी आग्रह गर्यौं।
हामीलाई देखेर बस चालक छक्क परे। उनले लगेजको सुरक्षा आफूहरूले गरिदिने हुँदा चिन्ता नलिन सम्झाए।
त्यही पनि फेरीमा जानु पर्ने कसरी आफ्नो लगेजहरू बसमै छोड्नु भनेर अन्यौल जस्तो महशुस भयो। त्यही भएर दोस्रो पटक लगेज दिन आग्रह गर्यौं।
सायद पहिलोपटक फेरीको यात्रा गरिरहेको बुझेर होला चालकले हाँस्दै भने, ‘हेलो मिस्टर यू आर अलरेडी इन फेरी।’
म छक्क परे।
मेरो मुखबाट फुत्त ‘रियल्ली’ भन्ने शब्द निस्कियो।
-1749277537.jpg)
-1749277538.jpg)
छक्क पर्दै मलाई हेरिरहेका बस चालकले पनि शब्द निस्कन नपाउँदै ‘यस’ भनेर जवाफ दिए।
उनले सम्झाउँदै दायाँमा लिफ्ट भएको त्यही लिफ्ट प्रयोग गरेर यात्री कक्षमा जान भने।
‘फेरीको पाचौं तलामा आनन्ददायी सिटीङ एरिया छ। त्यही बस्न पनि सक्नुहुन्छ। तर सिएटल पुगेपछि यहीं बसमा फर्केर आउनु होला।’
यो कुरा सुनेर म पसिना पसिना भएँ। सिनियर दाइहरूले बस चालकसँग लगेज माग्नको लागि भन्नु भएको थियो। त्यही भएर मागेको थिएँ।
अनस लाजले हाँस्दै ‘वि आर सरी’ भन्दै लिफ्ट तिर अगाडि बढेका थियौं। पछि थाहा भयो। यो फेरी सात तलाको रहेछ।
सबभन्दा तल बसहरूको लागी, त्यसभन्दा माथिको तलामा कारहरू, त्यो भन्दामाथि साइकल, बाइक लगायतका लागि छुट्याइएको हुने रहेछ। विभिन्न तलामा विभिन्न प्रकारको रेष्टुरा, विश्राम स्थल र यात्रीहरूलाई बस्नका लागि सिटहरू थियो। कतै भने प्रवेश शुल्कसहितका आरम कक्षहरू।
३०/४० क्यानाडियन डलर तिरेपछि खाजाको बुफैसहित आरमका साथ बस्न सकिने भिआइपी कक्ष पनि।
यो सबै थाहा पाएपछि केही क्षण आफैंलाई सम्झेर हास्यौं।
अन्तत फेरीले आफ्नो डरलाग्दो हर्नको आवाजसँगै गति समात्यो। समुन्द्रमा पानीसँग पैठेजोरी खेल्दै फेरी आफ्नो रफ्तारमा कुद्यो। हामी भने फेरीको छतमा बसेर फोटो लिन मस्त भएका थियौं।
तर मेरो यो पटक फेरीको यात्रा भने भ्यानकुभरबाट भिक्टोरियासम्मको थियो। हामीले भ्यानकुभर सहरको सिनेक उडानको अनुभव लिइसकेको हुँदा भिक्टोरियाको यात्रा फेरीबाट गर्ने तय गरेका थियौं।
बिहान ११ बजे फेरीको बोर्डिङ समय थियो। हाम्रो भिक्टोरियाको बसाइँ दुई दिनको थियो। फेरीको यात्रा मेरो लागि नयाँ भने थिएन न त मेरो श्रीमतीको लागि नै। तर छोरी ज्वाईंको लागी भने नयाँ थियो। वास्तवमै हामी समुन्द्र नभएको देशको मानिसको लागि फेरीको यात्रा अलि बढि नै उल्लास र उत्सुकतामय थियो।
-1749277537.jpeg)
-1749277538.jpeg)
बिहान ७ बजे नै होटल चेक आउट गर्यौं। भिक्टोरियामा एक रातको बसाइँ थियो। भिक्टोरियाबाट फर्केपछिको रातका लागि भ्यानकुभरको डाउनटाउनमा होटल बुक गरेका थियौं। अत्यासै लाग्ने ठूला लगेज हुँदा त्यही होटलमा राख्न पाए सजिलो हुने लाग्यो।
होटलमा फोन गरेर सोधेँ- 'दुई दिनपछि होटल बुकिङ छ। त्यहाँ लगेज राख्ने सुविधा छ कि छैन?'
होटलमा लगेज स्टोरेजको सुविधा भएको जवाफ आयो। हामीहरू अत्यन्त खुशी भएर सिधै होटलमा पुग्यौं र लगेज राख्यौं। ह्याण्ड लगेज मात्र लिएर फेरी स्टेसन तिर अगाडि बढ्यौं।
भ्यानकुभरबाट भिक्टोरीया जाने फेरी चसावसेन स्टेसनमा र भिक्टोरियाबाट भ्यानकुभर जानको लागि स्वार्ट्स-वे स्टेसन प्रयोग गर्नुपर्ने रहेछ। हामी समयमै चसावसेन स्टेसन पुग्यौं। अनलाइन काटेकाले फिजिकल टिकट लियौं।
झण्ढै १५ मिनेटको पर्खाइपछि फेरीको ढोका खुल्यो। हामी फेरीको विश्राम कक्षतिर लाग्यौं। यो पटक भने पहिले नै फेरीको तेस्रो तलामा थियौं। किनकी हामीले यात्री प्रवेश गर्ने बाटो प्रयोग गरेका थियौं। फेरीको यात्राको रोमाञ्चकता र एडभेन्चर व्यख्या शब्दमा त के नै गर्न सकिएला र।
दुइ-चारपटक फेरी चढिसकेका हामी श्रीमान श्रीमती त फेरीको यात्रा भनेपछि जहिले पनि उत्साहित हुन्छौं। झनै पहिलो पटक फेरीको यात्रा गरिरहेका छोरी ज्वाईंले कति रोमाञ्चित अनुभव गरे होलान्।
-1749277537.jpg)
यो पटक हामी सिधै आरम कक्षमा उक्लियौं। भोक लागिहरेको हुँदा एक जनाको २५ क्यानडियन डलर तिरेर भिआइपी कक्षतिर लाग्यौं। २५ डलर तिरेपछि चिया, कफी, ड्रिक्सदेखि लिएर विभिन्न परिकारहरू अनलिमिटेड खान सकिन्थ्यो। फेरीभित्रै रहेका अन्य रेष्टुराबाट खाना-खाजा लिई मनपर्ने एरियामा बस्न पनि सकिन्छ।
यो भिआइपी कक्षबाट भने फेरीको अगाडि सिटमै बसेर आरमले बाहिरको दृश्य अवलोकन गर्न सकिन्थ्यो। तर यहाँ रक्सीहरू पनि खान पाइदैनथ्यो। केहीबेर आराम गरी खानाखाएपछि जहाजको विभिन्न कक्षहरू डुल्दै फोटो खिच्न थाल्यौं।
केही बेरपछि म भने वियर पिउन बार एरियामा गएँ। सबैभन्दा लामो लाइन बारमा थियो। एक क्यान वियर लिन झण्डै दश मिनेट लाइनमा बसेँ। मलाई दश मिनेट लाइनमा बस्दा १० घन्टा बसेँझैं अनुभूति भइरहेको थियो।
हामी नेपालीलाई लाइन भनेपछि टाउको दुख्ने। तर लाइन देखेपछि बीचमा एकपटक मौका छोपेर मभन्दा अगाडिको एकजना कुइरे पछाडि फर्केको मौका छोपेर उसलाई उछिन्न खोजेको थिएँ। मभन्दा एक बित्ता अग्लो कुइरेले देखेर आँखा तर्यो। आफ्नै यो हर्कतका कारण धेरैले मलाई हेर्दै थिए।
मैले मनमनै सोचेँ- ‘लाइनबाट भागौं कि!’
मलाई लाग्यो पक्कै यिनीहरूले 'यो एसियन हो, एसियनमा पनि भारतीय हो' भन्ने सोचे होलान्।
तर साहस बटुलेर लाइनमै उभिएर वियर र बदाम लिएँ। र त्यहीँ बारमा रहेको एक टेबुलमा बसेँ।
छोरी ज्वाईं र श्रीमतीहरू भने फोटो खिच्न मस्त थिए।
तर आफैले गरेको हर्कत पछि अलि पछुतो लाग्यो।
क्रमश:
-1749277538.jpeg)
सम्बन्धित लेख:
आश्चर्य लाग्ने विमानस्थलको कायापलट!
स्टार होटल भनेको त बडेमानको पानी जहाज पो रैछ!
बाटो-बाटोमा तर्साउने भूतहरू!
यसरी बन्यो आगोले ध्वस्त क्यानडाको भ्यानकुभर सहर
ओहो तपाईंहरू त नेपाली पो हुनु हुँदोरहेछ!