नेपाल र चीनले एकैपटक सगरमाथाको उचाइ सार्वजनिक गरेका छन्। यसअघि ८,८४८ मिटर थियो। अहिले ८,८४८.८६ मिटर पुगेको छ। सारा मानव जगतलाई मोहित तुल्याइरहने र निरन्तर आफूतिर खिचिइरहने सगरमाथामा त्यस्तो के आकर्षण छ? हालै सोलुबाट खुम्बु क्षेत्रको पदयात्रा गरेर सगरमाथा नजिक पुगेका नेपाली पत्रकारको यात्रा वृत्तान्तको दोस्रो भाग:
नाम्चेको न्यानो सत्कारमा रमाएका हामी यात्रा जारी राख्दै अझै माथि जानु थियो। अब हामीले फाप्लुकी याङ्दी लामा दिदीले सुझाएझैं गोक्यो तालतिर जाने कि त्यता नगएर सगरमाथा आधारशिविर (इबिसी) वरतिरको त्याङ्बोचेसम्म पुग्ने भनेर निधो गर्नुपर्ने थियो।
समुद्री सतहबाट ४,७०० देखि ५,००० मिटर उचाइमा छवटा तालहरू फैलिएको गोक्यो विश्वकै सर्वोच्च स्थानको ताल प्रणाली हो। झन्डै ५० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको त्यो उच्च हिमाली सिमसार क्षेत्रलाई सन् २००७ मा विश्वका अद्वितीय रामसार क्षेत्रहरूमध्ये एकमा सूचीकृत गरिएको थियो। सिमसार अर्थात् जलचर र पन्छीरूको स्वर्ग।
आहा! म त तयार थिएँ त्यस्तो भूस्वर्ग पुग्न। तर, निकिता धेरै उकाली चढ्न नसक्ने, ओरालीमा चाहिँ गुटुटुटु हामफाल्दै दौडिने। उनी नाम्चेबाटै यात्रा सकेर फर्किने सोचमा थिइन्।
(काठमाडौं फर्किएर यो यात्रा वृत्तान्त लेख्दै गर्दा मंसिर पहिलो साता लाक्पाडिकी र छिरिङ तेन्जिङ परिवारका अन्य सदस्यहरूसँग खुम्जुङ गाउँबाट गोक्यो क्षेत्रको भ्रमणमा गइसके र अलि परको चोला पास पनि काटिसके। छिरिङ तेन्जिङले आफ्नो फेसबुकमा त्यहाँका सुन्दर तस्बिरहरू राखिसके। ती दृश्य देखेर लोभिएका हामी भने ‘अब फेरि खुम्बु र त्यहाँमाथि रहेको मनोरम गोक्यो कहिले जाने होला? भनी सोचिरहेका छौं।)
मैले गोक्यो ताल पुग्न नसके त्याङ्बोचे गुम्बासम्म भए पनि पुग्न सकिने विकल्प सुझाएँ। लाक्पाडिकीले त्याङ्बोचे जाने बाटो सजिलो भएको र गुम्बा रहेको डाँडा र दृश्यावलोकन सुन्दर हुने बताएपछि निकिता बल्ल माथि जान तयार भइन्।
बिहानै हामी नाम्चेबाट पूर्वोत्तर दिशातर्फ तेर्सो-तेर्सो उकालो लाग्यौं। स्याङ्बोचेको पूर्वतिरको खोँचमाथिको बाटो सिधा, सम्म र सुनसान थियो। त्यो बाटो त्याङ्बोचे गुम्बातर्फ सोझिँदा अलिमाथि पश्चिमतर्फ अवस्थित स्याङ्बोचे विमानस्थल पछाडि पर्न गयो।
त्यो ऐतिहासिक कालापत्थर बैठक
सोचेँ फर्किँदा स्याङ्बोचे भएर आउनुपर्ला। त्यहाँ साना विमान बस्न सक्ने धावनमार्ग पनि छ। झन्डै ११ वर्षअघि (सन् २००९ डिसेम्बरमा) हामी केही पत्रकार तत्कालीन सरकारको कालापत्थर मन्त्रिपरिषद बैठकबारे समाचार सम्प्रेषण गर्न काठमाडौंबाट हेलिकप्टरमा सिधै स्याङ्बोचेको त्यही धावनमार्गमा ल्याइएका थियौं।
एकैछिन त्यही विगतको स्मरण-
भोलिपल्ट बिहानै एकपछि अर्को हेलिकप्टरले खुम्बुको आकास थर्काए। तिनले लुक्ला र नाम्चेमा रहेका मन्त्रिमण्डल सदस्यलाई सगरमाथा आधारशिविर नजिकै पर्ने कालापत्थर नजिकै ५,२४२ मिटरमा अवस्थित बैठकस्थल ओसारे।
स्याङ्बोचेमा देशका सबै प्रमुख मिडियामा कार्यरत पत्रकाहरू घाम ताप्दै वरिपरिका चुचुरा हेर्न, रमाउन र तस्बिर खिच्न व्यस्त रहे। पत्रकार टिप्न हेलिकप्टर स्याङ्बोचेमा रोकिए। एउटा ठूलो हेलिको ढोकामा उभिएका वनमन्त्री दीपक बोहरा स्याङ्बोचेमा भिडिओ क्यामरा लिएर माथि कालापत्थर जान तम्तयार पत्रकारहरूबाट निकै आलोचित हुन पुगे। कारण: हेलिको ढोकामा द्वारपालझैं खडा बोहरा आफूलाई मन परेका पत्रकार मात्र छानी-छानी हेलिकप्टरमा चढाउँदै थिए।
काठमाडौंबाट स्याङ्बोचेसम्म पुर्याइएर कालापत्थर जान हेलिमा सिट नपाएका पत्रकारहरू वनमन्त्रीविरुद्ध निकै खनिए। नेपाल वातावरण पत्रकार समूहका क्यामराधारी पत्रकार पनि छुटेपछि बोहराविरुद्ध निकै क्रूद्ध हुँदै थिए। तर, ती रिस खुम्बुको चिसोसँग सेलाए सायद। केही बेरपछि अलि माथि सगरमाथा आधारशिविरमा फरक दृश्य देखिए।
नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण थाल्यो: पिठ्यूँमा सिलिन्डर बोक्दै मुखमा अक्सिजन मास्क लगाएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री सुजाता कोइराला, वनमन्त्री दीपक बोहरा लगायत मन्त्रीहरू विश्वकै अग्लो भूभागमा त्यसरी पहिलोपटक आयोजित ऐतिहासिक मन्त्रिपरिषद बैठकमा आपसमा कुरा गर्न हाते माइक बोकेर सहभागी भए।
हिमाली भित्तोमा हावाहुरी चल्दै थियो, नजिकैको आवाज पनि सुन्न नसकिने गरी। नेपाली मन्त्रीहरूले त्यो बैठकमार्फत् हिमालय क्षेत्रमा जलवायु परिवर्तनका प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने जमर्को गरे।
बैठक सम्पन्न भएर फेरि हेलि चढेर सकुशल स्याङ्बोचेमा उत्रिएपछि मन्त्रीहरू निकै प्रसन्न देखिए।
शेर्पा टोपी लगाएर मन्त्रीहरू पालैपालो याकको पिठ्यूँमा पनि चढे। मिडियाका क्यामराहरू मन्त्रीहरूतर्फ सोझिए। केही बेरपछि प्रधानमन्त्री माधवकुमार नेपाल आफैंले स्याङ्बोचेमा आयोजित भेलामा मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा भने, 'हिमालय क्षेत्रमा बग्ने खोला र पानीका स्रोतमा नेपालका मानिसका लागि मात्र नभई, एसियाका सवा अर्ब मानिस निर्भर छन्, त्यसैले हिमालयमा जलवायु परिवर्तनका प्रभाव कम गर्न विश्व समुदायकै भूमिका र योगदान आवश्यक छ।' आदि इत्यादि।
त्यति बेला डेनमार्कको राजधानी कोपनहेगनमा हुने राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (सिओपी-१५) अघि हिमालयतर्फ विश्व समुदायको ध्यानाकर्षण गर्न नेपाली मन्त्रिमण्डल कालापत्थर पुगेको थियो।
कालापत्थर बैठकको केही साताअघि मात्रै पृथ्वीमा बढ्दो तापमानका कारण समुद्रमा पानीको सतह बढेर डुब्ने खतरामा रहेको दक्षिण एसियाली छिमेकी टापुहरूको देश माल्दिभ्सले समुद्रको पानीमुनि मन्त्रिपरिषद बैठक आयोजना गरेको थियो। सगरमाथामुनिको कालापत्थर पुगेर नेपालले पनि आफ्नो दायित्व पूरा गरिदियो।
तर, जलवायु परिवर्तनको समस्या आज पनि उस्तै छ। त्यसविरुद्ध जुझ्न मानव समाजले अझै थुप्रै काम गर्न बाँकी नै छ।
हुन पनि अफगानिस्तानदेखि म्यान्मारसम्म फैलिएको हिमालय क्षेत्रबाट बग्ने हजारौं नदीहरू एसियाको लगभग आधा जनसंख्याको जीवनको आधार हो। जलवायु परिवर्तनका कारण हिमाली चुचुराहरूमा हिउँ पग्लिने क्रम तीव्र भइरहेको छ, हिमनदीहरू सुक्दैछन् भने हिमतालहरूको संख्या र आकार बढिरहेको छ। विनाशकारी बाढी, पहिरो र खडेरीका विभीषिका बर्सेनि दोहोरिइरहेका छन्। पृथ्वी तातेर भइरहेको जलवायु परिवर्तनको क्रम रोक्न नसके एसियाको जैविक विविधता र मानव सभ्यता नै संकटमा पर्न सक्छ।
त्यसैले पृथ्वी तताउने कार्बनजस्ता ग्यास उत्सर्जनमा कटौती गराउन तीव्र औद्योगिकीकरण भइसकेका छिमेकी चीन, भारतसहित पूर्वी एसियाली र पश्चिमा देश अघि नसरी धरै छैन। वायुमण्डल प्वाल पार्ने विषाक्त कार्बन सोस्ने दक्षिण अमेरिकाको अमेजन र इन्डोनेसियाका वर्षावन जस्ता घना वन संरक्षण र मलजल गर्नुको विकल्प छैन।
स्याङ्बोचे पूर्वको सगरमाथा पदमार्गबाट अघि बढ्दै गर्दा मैले सोचेँ, नेपालले सायद आफ्नोतर्फबाट जलवायु परिवर्तनसँग जुझ्न र प्रकृति तथा वातावरण संरक्षणमा टेवा दिन निकै महत्त्वपूर्ण कदमहरू चालिसकेको छ। नेपालले आफ्नो भूभागको लगभग २० प्रतिशतमा निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र बनाइसकेको छ। खुम्बु क्षेत्रमा पर्वतारोहण युग सुरू भएपछि पातलिन थालेका वन तथा वन्यजन्तु जोगाउन ४४ वर्षअघि राष्ट्रिय निकुञ्ज स्थापना गरियो।
सर्वोच्च शिखरको पहिलो दर्शन
स्याङ्बोचे पूर्वको पदमार्गमा हामी त्यही सगरमाथा निकुञ्ज स्थापनापछि जोगिएका र हुर्किइरहेका सल्लाका रूखहरू पार गर्दै पूर्वोत्तर दिशामा पाइला सार्दै थियौं। सेतो, सम्म पदमार्गमा अघि बढ्दै गर्दा अचानक हामीले निकै व्यग्रतासाथ प्रतीक्षा गरेको अद्भूत दृश्य देख्यौं- खुला नीलो आकास अनि अलिपर हिमालहरूको लस्कर, बायाँतिर आमादब्लम हिमालको चुचुरो अनि दायाँतिर ल्होत्से र नुप्से अनि बीचमा सर्वोच्च शिखर सगरमाथा।
यही थियो हामीले कयौँ दिनदेखि व्यग्रतासाथ प्रतीक्षा गरिरहेको दृश्य। आहा! हिमालयको लस्करको त्यो दृश्यले हामीलाई साच्चै आह्लादित तुल्याइदियो।
हामी आफ्ना आँखा ठूला बनाएर ती हिमाली टाकुरा एकटक हेर्न र ती टाकुराका तस्बिर आफ्ना क्यामरामा कैद गर्न व्यस्त भयौं। सोलुदेखि खुम्बु पदयात्रा थालेको छैठौं दिन बल्ल हामीले सगरमाथा देख्न पाएका थियौं। हामीले सगरमाथा, आमादब्लम लगायत हिमशिखरलाई निकै बेर हेर्यौं र सर्वोच्च शिखर हेर्दै विस्तारै अघि बढ्यौं। बेलाबेला स्थानीयवासी भेटिन्थे, नत्र भने पदमार्ग सुनसान थियो।
कस्तो अचम्म! पूरै पदमार्गमा हामी दुई मात्र, मानौं यो शरद ऋतुमा सिंगो खुम्बु र सिंगो सगरमाथा क्षेत्र हाम्रो हो, मात्र हाम्रो। सोच्यौं, हामी कति भाग्यमानी! कोरोना कहर नभएर पर्यटक आगमन चलिरहेको भए नेपाल भ्रमण वर्ष चलिरहेको हुने यो शरदमा सगरमाथा पदमार्गमा थामिनसक्नु भिड हुने थियो र हामी त्यो भिडमा हराएका फगत दुई नेपाली हुने थियौं।
सगरमाथा र आमदब्लमको अग्रभूमिमा बाटोमा साना बौद्ध चैत्यहरू भेटिए। हामी वनैवन चराको चिरबिर सुन्दै अघि बढ्यौं र दिउँसोको आहाराका लागि खुम्जुङ गाउँ नजिकैको क्याङ्ग्जुमा पुग्यौं, जहाँ तीनवटा साना, हरियो जस्ताले छाएका होटल बाहिर स्थानीय शेर्पा र एक पदयात्री गफ गर्दै थिए। त्यहाँ खानलाई दाल-भात त पाइएन, तर एउटी दिदीले स्पागेटी बनाइदिइन्। हिमाली च्याउको मीठो र पोसिलो चट्नी पनि दिइन्।
पहिलो नेपाली आमादब्लम आरोही
मेरो छेवैमा एक कीर्तिमानी आरोही बसेका रहेछन्-- लाक्पादोर्जी शेर्पा।
उनले सन् १९७९ मा क्यानडाली आरोहीसँगै आमादब्लम (६८१२ मिटर) हिमालको सफल आरोहण गरेका रहेछन्। आफू पूर्वपट्टि टल्किएको सुरिलो चैत्य आकारको आमादब्लमलाई औंलाले देखाउँदै लाक्पादोर्जीले गर्वसाथ भने, 'म आमादब्लम आरोहण गर्ने पहिलो नेपाली हुँ।'
वाह! उनको अनुभव सुन्न मन लाग्यो। तीन मिटरको भौतिक दुरी कायम गरेर कुराकानी गर्न थाल्यौं। त्यस क्रममा उनी काठमाडौंबाट खुम्बु आउने नेपाली यात्रीले कोरोना भाइरस भित्र्याउलान् कि भनेर भित्रभित्रै चिन्तित रहेछन्।
भनिहाले, 'तपाईंहरूले हिजोपल्ट पिसिआर परीक्षण गरेको हुन्छ। त्यसपछि तपाईंहरू मोटर चढ्नुहुन्छ, कहाँकहाँ पुगेर कति जनालाई भेट्नुहुन्छ र भोलिपल्ट विमानमा बल्ल लुक्ला आउनुहुन्छ। तपाईंहरूलाई भाइरस सरेको हुन सक्छ। त्यसैले लुक्लामै पिसिआर परीक्षण गरेर खुम्बु आउनुभयो भने मात्र यो क्षेत्र सफा र सुरक्षित रहनसक्छ।'
यो आलेख तयार पार्ने बेलासम्म खुम्बमा कोरोना भाइरस पुगिसकेको छ। गाउँपालिकाले लुक्ला झर्ने यात्रुका लागि काठमाडौंका तोकिएका वा सरकारी प्रयोगशालामा पिसिआर परीक्षण गरिएको हुनुपर्ने नियम लागू गरिसकेको छ।
घमाइलो शरदको दिन क्याङ्ग्जुमा निकै रमाइलो। तर, हामीलाई पारिपट्टिको पहाडमा देखिएको त्याङ्बोचे गुम्बा जानु थियो, त्यसैले अघि बढ्यौं। अलि अगाडि गोक्यो जाने सिँढी देखापर्यो, जसलाई गाउँपालिकाले हालैको बन्दाबन्दीकै बेला निर्माण गरेको रहेछ। खुम्जुङ र फोर्चे गाउँ जाने बाटाहरू पनि त्यही विन्दुमा जोडिए।
तर हामीलाई दूधकोसी उपत्यकापारिको हरियो वनले हराभरा पहाडको टाकुरामा उभिएको पवित्र त्याङ्बोचे पुग्न पहिला ठाडो ओरालो झर्नु थियो, बेँसीमा दूधकोसी नदी भेट्नु थियो। ओरालो बाटो झर्दा भेटिएको पहिलो गाउँमा केही पुरुष ढुंगामा पवित्र बौद्धमन्त्र लेख्न व्यस्त थिए। अलि तल, नागबेली ओरालोमा पिठ्यूँमा ग्यास सिलिन्डर बोकेका खच्चरको अर्को लस्करसँग जम्काभेट भयो।
ग्यास, चाउचाउ, नुन, चिनी, तेल आदिको भारी बोकेका खच्चर अनि पछाडिपट्टि तिनलाई हकार्दै हिँड्ने पुरुष। नेपालका सबैजसो दुर्गम हिमाली पदमार्गमा देखिने एउटा सामान्य दृश्य हो।
इबिसी पदमार्ग चाहिँ ठाउँ-ठाउँमा निकै साँघुरा। नदी वा भीरमाथिको सानो गोरेटोमा छेउतिर उभियो भने खच्चरले धकेलेर तल खसिने डर। त्यसैले खच्चरको लस्कर अगाडि देखियो कि भित्तापट्टि रोकिएर खच्चरलाई बाटो छोडिदिनु नै उत्तम।
गुटुटुटु नागबेली ओरालो झर्दै केहीबेरमै पहाडको फेदमा पुगेपछि एउटा सफा क्याफे भएको लज र उत्तरबाट गड्गडाउदै झरेको दूधकोसी भेटियो। अलि तलपट्टि पूर्वतिरबाट बग्दै आएको इम्जा नदीसँग दूधकोसीको संगम भयो।
त्यो दोभान नजिकैबाट फेरि दूधकोसीमाथिको अर्को झोलुंगे पुल तर्यौं। त्यो सगरमाथा पदमार्गमा रहेको दूधकोसीमाथिको सायद अन्तिम पुल थियो। अघि बढ्दै गर्दा सोचेँ, सन् १९५३ मा सगरमाथा आरोहण गर्न भक्तपुरको बाटो सोलुखुम्बु आएका एडमन्ड हिलारीसामेल जन हन्ट नेतृत्वको ब्रिटिस आरोहण दलका सदस्य र तिनका सरसामानका भारी बोकेका भरियाहरूले यी नदी कसरी तरे होलान्?
भक्तपुरदेखि दोलखाको जिरी र लामजुरा पास हुँदै उनीहरूको खुम्बु यात्रा कति सकस र सास्तीयुक्त थियो होला?
उनीहरूको सगरमाथा आरोहणको सकस त झनै अर्कै कथा भइहाल्यो।
अगाडि नेपाली सेनाको जाँच चौकी कटेलगत्तै त्याङ्बोचेको उकालो सुरू भयो। केही बेरअघि खाएको खानाले भरिएको पेट र पछाडि ढाडमा २५ लिटर क्षमताको झोला बोकेकाले होला, उकालो चढ्न निकै गाह्रो भयो। कठिन नहोस् पनि किन! हामी लगभग २,५०० मिटरबाट उकालो चढ्दै लगभग ३,८०० मिटर उचाइको पहाडको टाकुरातर्फ लाग्दै थियौं, लगभग चिप्लेकिरा गतिमा।
कुलङ भाषाको मिठास
केही बेरपछि हाम्रो पछिपछि उकालो चढ्दै आएका एक किशोर झुल्किए। खुम्जुङको एडमन्ड-हिलारी स्कुलमा ९ कक्षा पढ्ने उनी शेर्पा नभई कुलङ राई रहेछन्, त्याङ्बोचे पारि रहेको दिङबोचेमा बस्ने आफ्नो गाउँका दाजुभाइलाई भेट्न जान लागेका।
उकालो चढ्दै गर्दा उनका चिनजानका अरू कुलुङराई दाजुभाइ भेटिए। सोलुको महाकुलुङबाट रोजगारीका लागि खुम्बु आइपुगेका कुलुङ दाजुभाइले त्याङ्बोचेको उकालोमा रमाउँदै र हाँस्दै आफ्नै भाषामा कुराकानी थाले। खुम्बुमा कुलुङ भाषाको मीठो ध्वनि र प्रतिध्वनि सुनिए। एउटा दुर्लभ बन्न थालेको दृश्य थियो त्यो, किनभने हामी हिजोआज बढ्दो रूपमा हिन्दी र अंग्रेजीको चर्को मिसावट भइरहेको नेपाली भाषा बोल्न र लेख्न अभ्यस्त भइसकेका छौं।
हामीमध्ये कयौंले त सायद त्यसैमा गर्व गर्न पनि थालिसकेका छौं। त्यसरी नेपाली आदिवासी जनजातिले बोल्ने भाषासहित नेपाली भाषासमेत लोप हुन लागेका बेला त्याङ्बोचेको उकालोमा कुलुङ भाषामा कुराकानी सुनेर मन साह्रै रमायो, चित्त प्रसन्न भयो। काठमाडौंको बौद्धमा अध्ययनरत नवीन कुलुङ कोरोना कहर सुरू भएपछि भारी बोक्ने काम गर्न खुम्बु आएका रहेछन्।
नवीन कुलुङ भाइलाई मैले विदेशी भाषाको बढ्दो प्रभावबीच कुलुङ भाषा जोगाउन भइरहेको कठिनाइबारे उनको आफ्नै प्यारो भाषामा केही शब्द बोल्न अनुरोध गरेँ र त्यसको भिडिओ पनि कैद गरेँ। यो भिडिओमा आफ्नो मातृभाषा कुलुङ भाषामा बोल्दै उनले त्यही भाषा जोगाउन भइरहेका कठिनाइको चर्चा गरेका छन्।
वास्तवमा खुम्बु करिब ६०० वर्षअघि पूर्वी तिब्बतबाट बसाइँ आएका तिब्बती मूलका शेर्पा जातिको थातथालो हो (शेर्पाको शाब्दिक अर्थ ‘पूर्वको मानिस’ हो)। फाक्दिङ, नाम्चेमा उनीहरूले आफ्नै शेर्पा भाषामा गरेको संवाद निकै सुनियो हिजो र अस्ति। अनौठो लागेन। तर, खुम्बुमाथि त्याङ्बोचेछेउ कुलुङ भाषामा कुराकानी सुन्नुको मजा नै अर्कै।
त्याङ्बोचेमा अनौठो सन्नाटा
कुलुङ भाइहरू र उकालोमा झुल्किएका दुई शेर्पा दिदीहरूसँग कुरा गर्दै अघि बढेको केही बेरमा हामी खुम्बुवासीको सबभन्दा महत्त्वपूर्ण तीर्थका रूपमा रहेको भव्य एवं सुन्दर त्याङ्बोचे गुम्बासामु उभियौं। हिमालीपारि तिब्बतमा अवस्थित पवित्र रोङ्बुक गुम्बासँग गहिरो नाता भएका लामा गुलुले सन् १९१६ मा निर्माण गराएको त्याङ्बोचे गुम्बा सन् १९३४ (विसं १९९०) को भूकम्पमा क्षतिग्रस्त हुन पुगेछ। त्यसपछि सन् १९८९ मा आगलागीमा परेछ।
पटक-पटक क्षतिग्रस्त भएर पुनर्निर्माण भएर उभिएको त्याङ्बोचे गुम्बालाई नमन गर्दै हामीले वरिपरिका हिमाली दृश्य नियाल्यौं। थोरै बादल लागे पनि उत्तरतिर सगरमाथा झनै नजिक देखियो। आमादब्लम पनि नजिकै। सामुन्ने तलतिर दिङबोचे, पाङबोचे, फेरिचे गाउँ र अलिपर सगरमाथा आधारशिविर (इबिसी) क्षेत्र पनि देखिए।
झमक्क साँझ पर्न लागेको थियो। तर, त्याङ्बोचे गुम्बा र वरपर अनौठो सन्नाटा छाएको थियो। त्याङ्बोचे गुम्बा नजिकैको होटलमा सञ्चालक रहेनछन्, त्यसैले त्याङ्बोचेको पहाडमा बास बस्न पाइएन। हामी अझै उत्तर, अझै केही तल पर्ने देबोचे झर्नुपर्ने भयो।
चिसो हावा चल्दै थियो, धेरै थाकिसकेका थियौं। तै पनि वनैवनको बाटो तल झर्यौं। देबोचेमा रिभेन्डेल नाम गरेको होटल देखियो, तर गेट चाहिँ बन्द।
‘दिदीइ, दाइइ’ भन्दै निकै बेर बोलाएपछि एउटी बहिनी र उनकी आमा स्वागत गर्न तयार भए। बल्ल बास पाइयो भनेर मन ढुक्क भयो।
रातिको खाना खाने बेला रिभेन्डेलको भान्सा हलमा मध्यभागमा धुवाँरहित चुलो तात्न थाल्यो। सँगसँगै चुलो वरिपरि बसेका होटल सञ्चालक आङजाङ्मु शेर्पा दिदी र उनकी दुई छोरी र चिया खान आएका छिमेकी लामा भिक्षुहरूसँग कुराकानी चल्न थाल्यो।
त्यस क्रममा थाहा भयो, केही दिनअघि मात्रै त्यो होटलमा बहराइनका राजकुमार नेतृत्वको रोयल गार्डको आरोहण दल बसेको रहेछ। सँगसँगै केही पत्रकार पनि आएका रहेछन्। बहरेनी टोलीले देबोचेदेखि अलि माथि अवस्थित लोबुचे चुचुरा (६,११० मिटर) चढेर, लेकसँग अभ्यस्त भएर, काठमाडौं फर्किएर, फेरि हेलिमा गोरखा उडेर मनास्लु हिमालको सफल आरोहण पनि गर्यो।
त्यो बहरेनी टोली कोरोना भाइरसको कहर सुरू भएपछि खुम्बु पुग्ने पहिलो टोली थियो। हामी त्यही टोलीको पदचाप पछ्याउँदै खुम्बु आएकोमा आङजाङ्मु शेर्पा दिदी प्रसन्न भइन्। तर, उनी पर्यटक आगमन ठप्प भएकोमा निकै चिन्तित रहिछन्।
'हामीले ऋण लिएर यत्रो ठूलो होटल बनाएका छौं। गएको वसन्तदेखि पर्यटक नआउँदा कमाइ ठप्प छ र ऋण कसरी तिर्ने भनेर हामी निकै चिन्तित छौं। अब विदेशी नआए पनि केही छैन। कम्तीमा हाम्रै नेपालीहरू मात्र सुरक्षित रूपमा आइदिए केही सहयोग पुग्ने थियो। तर, नेपालीले खुम्बुमा रोग चाहिँ नल्याइदिऊन् किनभने यहाँ अस्पताल छैन, उपचार गर्ने सुविधा छैन,' उनले भनिन्।
आमादब्लमको जादु
देबोचे नाम्चेभन्दा पनि चिसो थियो। बिहान सबेरै निद्रा खुलेपछि सिरकबाट हात निकालेर तन्किँदै झ्यालको पर्दा थोरै उघारेँ। अलि पर आमादब्मल हिमाल ठडिएको थियो। तलतिर फराकिलो तर माथि विस्तारै सुरिलो हुँदै शिखर बनेको आमादब्लमको सुन्दर चुचुरोमा घामको किरण परिसकेको थिएन।
त्यस बिहान आमादब्लम विछट्टै राम्रो देखिएको थियो। सगरमाथा, ल्होत्से र नुप्सेजस्ता हिमशिखर बोकेर तिब्बत र खुम्बुबीच पर्खालसरी उभिएको महालंगुर हिमशृंखलाको प्रांगणमा आफ्नो अद्वितीय र विशिष्ट बान्की प्रदर्शन गर्दै, मानौं आमादब्लम कुनै दैवी शक्ति हो।
आमादब्लमको अर्थ शेर्पा भाषामा 'आमाको जुहारत/गहना' हो। दुवैतिर फैलिएका थुम्काको बीचबाट कुनै बौद्ध चैत्य ठडिएझैं लाग्ने शिखरयुक्त आमादब्लमलाई दिङबोचे तथा पाङबोचेवासी ईश्वरीय शक्तिकै रूपमा पुज्ने गर्छन्। त्यही भएर सन् १९६० अघिसम्म आमादब्लम हिमालमा पर्वतारोहण निषेध गरिएको थियो। तर, पछि खुला गरिएपछि आमादब्लम आरोहणका लागि संसारभरबाट आरोहीको ओइरो लाग्न थाल्यो, जुन क्रम अहिले कोरोना बेला पनि जारी नै छ।
कोरोना कहर जारी रहेर के भयो? आमादब्लमको आकर्षण पटक्कै घटेको छैन, बरू अझै बढेको प्रतीत हुँदैछ। यो सुन्दर हिमालले आरोही र पदयात्रुका लस्कर निरन्तर आफूतिर डाकि नै रहेको छ, हालैको शरद र यो हिउँदमा पनि।
यो वृत्तान्त लेख्दालेख्दै नेपाली शेर्पाको सहयोगमा कतारका राजकुमार सामेल टोलीले आमादब्लमको सफल आरोहण गरिसकेको छ। ब्रिटेनका आरोही केन्टोन कुलसामेल टोली चाहिँ तीव्र वेगको हावाका कारण शिखर नजिकै पुगेर फर्किन बाध्य भयो।
आमादब्लमलाई मात्र होइन, अधिकांश हिमशिखरहरूलाई देवीदेवताको बासस्थान मान्दै पुज्ने गरिन्छ। आफ्नो हिउँ तथा बरफले ढाकिएको चट्टानी कायाबाट पानी पगालेर मानसरोवरजस्ता सुन्दर ताल पृथ्वीमा ओछ्याइदिएको तिब्बतको कैलाश पर्वतलाई धेरै एसियाली धार्मिक सम्प्रदायले आफ्नो देवता मान्ने गरेका छन्। नेपालको अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशंकर र सगरमाथा (चोमोलोङ्ग्मा) जस्ता शिखरलाई पनि देवी-देवताको स्वरूप मान्दै पुज्ने गरिएको छ।
सन् १९५३ मे २९ को बिहान ११.३० बजे पहिलो पाइला राखेपछि एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथा शिखरमा आफ्नो धार्मिक आस्थाअनुसार प्रसाद चढाएको हिलारीले आफ्नो पुस्तक ‘भ्यु फ्रम द समिट’ मा लेखेका छन्। शिखरमा ईश्वरको बास हुन्छ भन्ने विश्वास विश्वव्यापी नै रहेछ। हिलारीका अनुसार शिखर पुग्नेबित्तिकै तेन्जिङले हिउँभित्र चकलेट र अन्य प्रसाद घुसारेका थिए भने हिलारीले पनि एक ब्रिटिस पादरीले आफ्नो टोली नेता जन हन्टमार्फत पठाएको क्राइस्टको क्रस सगरमाथा शिखरमा चढाएका थिए।
शिखरमा प्रथम पाइला टेक्ने होडबाजी
त्यस्तो शिखरमा पुग्ने अभिलाषा संसारमा कसलाई नहोला?
अझ पहिलोपटक पाइला टेक्न सफल हुनु त निकै ठूलो उपलब्धि हुने नै भयो। अघिल्लो शताब्धीमा विश्वभर आफ्नो साम्राज्य फैलाएका फ्रान्स, ब्रिटेन र अन्य पश्चिमा देश सन् १९२० पछिका दशकमा ८,००० मिटर माथिका उच्च हिमाली शिखरमा आफ्नो देशको टोली पहिला पठाउने होडबाजीमा थिए। ती देशबीच प्रतिस्पर्धा चल्दै थियो।
त्यसै क्रममा सगरमाथामा मानव विजयको अभियानमा लागेको ब्रिटेनका आरोही जर्ज म्यालरीलाई सन् १९२४ मा अमेरिका यात्रा बेला कुनै पत्रकारले यस्तो प्रश्न सोधिदिएछन्– ‘एभरेस्ट किन चढ्न जान लाग्नुभएको?’
उनले फ्याट्ट ‘बिकज इट्स देयर (किनभने यो त्यहाँ छ)’ भनेर दिएको जवाफ आजसम्म पनि निकै प्रख्यात छ।
सायद ती शिखर त्यहाँ अटल भएर उभिइरहेकैले होलान्, मानिसहरू आज पनि शिखरतर्फ आकर्षित भइरहेकै छन्।
अन्नपूर्णमा फ्रान्सेली सफलता
शिखरमा पहिला आफ्नो देशको टोली पुर्याउन सन् १९०० को मध्यतिर चलेको प्रतिस्पर्धाकै क्रममा ८,००० मिटर माथिको हिमाली शिखरमा पहिलो मानव पाइला राख्न फ्रान्सको टोली सफल भइदियो: सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली आरोही मरिस हर्जोग र लुई लाशेनल ८,०९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको शिखरमा पाइला राख्ने पहिला मानव बनिदिए।
आफ्नो पुस्तक अन्नपूर्णमा हर्जोगले उनको टोली भारतको दिल्लीको पालम विमानस्थलमा ओर्लिएर गोरखपुरको बाटो नेपालको पाल्पा हुँदै पोखरा र मुस्ताङ पुगेका दृष्टान्त उल्लेख गरेका छन्। उनीहरू धौलागिरि चढ्ने उद्देश्यले नेपाल आएका थिए, तर शेर्पाको सहयोगले उत्तरी मोहडाबाट अन्नपूर्ण प्रथमको टाकुरामाथि पुग्ने पहिलो मानव बने।
आठ हजार मिटरमाथिको हिमालमा पहिलो पाइला राखेपछि हर्जोग काठमाडौं आएको, पश्चिमा औपचारिक पोसाक लगाएर दरबार प्रवेश गरेको र त्यहाँ उनलाई नेपालका त्यति बेलाका प्रधानमन्त्रीले यस्ता शब्दले सम्मान गरेको उल्लेख गरेका छन्— 'तपाईँ एक बहादुर पुरुष हुनुहुन्छ।'
फ्रान्सका हर्जोगको सफलताले उच्च शिखरमा पहिला आफ्नो विजय खोजिरहेको ब्रिटेनलाई हुनसम्म इर्ष्या लागेको हुनुपर्छ, किनभने त्यस्तो विजय ब्रिनेट आफैंले चाहेको थियो। नचाहोस् पनि किन? आखिर भारतलाई आफ्नो साम्राज्य बनाइसकेका ब्रिटिस सर्भेयरहरूले नै हिमाली शिखरका उचाइको पहिलो वैज्ञानिक मापन गरेका थिए। सर्वोच्च शिखर पत्ता लगाएर चोमोलोङ्मालाई एभरेस्ट नाम ब्रिटिसले नै राखिदिएका थिए।
भारतीय गणितज्ञको एभरेस्ट नाता
सन् १८५० को दशकसम्म कञ्चनजंघालाई सर्वोच्च शिखर ठान्ने गरिएको थियो। तर, ब्रिटिस इन्डियाको सर्भेयर जनरलको कार्यालयका कम्प्युटर भनेर चिनिने गणित विशेषज्ञ पश्चिम बंगालका राधानाथ सिकदरले सन् १८५२ मा कञ्चनजंघाभन्दा अग्लो अर्को शिखर हिमालयमा रहेको पत्ता लगाए। सिकदरले ‘पिक एक्स्भी (पिक-१५)’ नै सर्वोच्च शिखर भएको ठोकुवा गरिदिए।
केही वर्षपछि उनका हाकिम एयान्ड्रु वागले आफ्ना पूर्ववर्ती सर्भेयर जनरल जर्ज एभरेस्टको नामबाट सर्वोच्च शिखरको नाम एभरेस्ट राखिदिए। नेपाली नाउँ चाहिँ सगरमाथा राखेको श्रेय इतिहास शिरोमणि बाबुराम आचार्यलाई जान्छ, जसले शारदा मासिक पत्रिकामा सगरमाथाबारे खोजमूलक लेख प्रकाशित गराएका थिए।
देबोचेमा होटलबाहिर अर्को घमाइलो दिन सुरू हुँदा म भने आमादब्लम र वरपरका हिमाली चुचुरा हेर्दै केही बेर सगरमाथासँग गाँसिएको यस्तै घटनाक्रम पुन:स्मरण गर्न व्यस्त रहेँ। घाम प्रकाशमा आमादब्लम चम्किइरहेको थियो। हामीले यसपटकको खुम्बु यात्रालाई बिट मार्दै फर्किने बेला भइसकेको थियो। मन थोरै खिन्न भयो, किनकि हामी यसपटक माथितिरका पाङ्बोचे, दिङ्बोचे, फेरिचेजस्ता हिमाली गाउँ हुँदै सगरमाथा आधारशिविर पुग्न पाएनौं।
एक दिनअघि बाटोमा भेटिएका दावानुरु शेर्पा दाइले फर्किँदा पाङ्बोचे माथिमाथि लेकैलेक फोर्चे हुँदै आउने सल्लाह दिएका थिए। तर, हामी पाङ्बोचे पुग्न सकेका थिएनौं र निकै टाढा थियौं। त्यसैले हाम्रो फर्किने बाटो उही भयो: फेरि त्याङ्बोचे गुम्बाको टाकुरा र त्यसपछि ओरालो, दूधकोसी कटेपछि फेरि उकालो अनि खुम्जुङ गाउँ हुँदै विश्वविख्यात ‘एभरेस्ट भ्यु’ होटल, त्यसपछि स्याङ्बोचेको चौर हुँदै नाम्चे बजार।
फर्किँदा त्याङ्बोचे गुम्बाको टाकुरामा फेरि रोकियौं, फरक्क फर्किएर पछाडि हेर्यौं र महालंगुर हिमशृंखलालाई धित मरुन्जेल हेरिरह्यौं- आमादब्लमदेखि सगरमाथासम्मका हिमशिखरहरू। फोटोहरू खिच्यौं। पवित्र गुम्बा परिसरभित्र पनि प्रवेश गर्यौं, तर त्यहाँ पूजा गर्ने समय सकिइसकेको थियो।
सगरमाथा क्षेत्र धित मरुन्जेल घुम्ने रहर पूरा नभइकनै हामी त्याङ्बोचेको ओरालो दूधकोसी झर्यौं र फेरि उकालो चढेर क्याङ्ग्जुमाबाट खुम्जुङतिर उक्लियौं। प्रवेशद्वारमा पवित्र बौद्ध मानेहरू कटेपछि केही पसल भेटिए। एक जना कुलुङराई दाजु काँचो आलु मसिनो पारेर टुक्र्याउन व्यस्त थिए।
सोधिहालेँ, ‘यति धेरै आलुबाट के बनाउन लाग्नुभएको?’
‘यो आलुको धुलो सुकाउने। पीठो बनाएर राख्ने अनि पछि रोटी बनाउने। निकै स्वादिलो हुन्छ।’
उनले मेरो कौतूहल बढाइदिने काम पो गरे। खुम्जुङ गाउँमा ढुंगाले योजनाबद्ध ढंगले बनाएका घरैघरका लस्कर देखिए। सबै घर हरियो रङको जस्ताले छाएका। खुम्बुका चौँरीखर्क र नाम्चेमा जस्तै बिजुलीका तारहरू सबै जमिनमुनिका पाइपबाट प्रवाह गरिएका। आँखाअगाडि कुनै कसिंगर नै देखिएन। सोचेँ, के यो पनि नेपाल नै हो र? अनि नेपालका सबै गाउँ, सहर र महानगरमा यस्तै योजनाबद्ध बस्ती विकास गरे कति राम्रो हुने थियो।
सम्पदा बनेको एभरेस्ट भ्यु होटल
खुम्जुङ अगाडि हरियो वनले ढाकेको पहाड, पछाडि हिउँविहीन कालो चट्टानको विशाल पर्वतीय पर्खालरूपी उही खुम्बिला। ती दृश्य आँखा र मोबाइल क्यामरामा कैद गर्दै हतारहतार दक्षिणतिरको हरियो पहाड चढ्यौं, किनभने सगरमाथा अगाडिको आकासमा बादल थुप्रिन थालिसकेको थियो।
अलि तल खोँचमा किशोरहरू भलिबल खेल्न मस्त थिए। यहाँ अन्य गाउँमा जस्तो किशोर र किशोरी मिसिएर भलिबल खेलेको देखिएन। केही बेर वनैवनको तेर्सो बाटो हिँडेपछि विश्वको सबभन्दा अग्लो स्थान (३,८८० मिटर) मा अवस्थित भनेर चिनिएको होटल एभरेस्ट भ्यु पुग्यौं।
सुन्दर सिँढी चढ्दै हामी भित्र प्रवेश गर्यौं। दुई पुरुष कर्मचारीले मुस्कुराउँदै स्वागत गरे। लबीको भित्तामा सगरमाथा क्षेत्रको संस्कृति र भूगोल झल्काउने तस्बिरहरू टाँसिएका थिए। लबीमा साना डाइनिङ टेबलहरू थिए भने अर्कोपट्टि कौसीमा निस्कने सिसाको ढोका रहेको भित्तामा भित्रैबाट हिमाली दृश्य हेर्न मिल्ने गरी पूरै सिसा लगाइएको थियो। सिसा नजिकैको कुनामा एउटा पियानो रहेछ, जसलाई एउटा रातो कपडाले छोपिएको थियो।
पियानोमाथि एउटा कार्डमा लेखिएको थियो, 'यो पियानो स्वतन्त्र भएर बजाउनुहोस्।'
हारमोनियम जसैगरी मैले केही बजाइहेरेँ – सा रे ग म प ध नि सा --- सा नि ध प म ग रे सा …
पियानोमाथि एउटा पाका पुरुषको तस्बिर पनि राखिएको थियो।
त्यो तस्बिर त होटल एभरेस्ट भ्युका निर्माता जापानी ताकासी मियाहाराको रहेछ। उनी त नेपालको पर्यटन इतिहासका एक प्रमुख धरोहर पो रहेछन्, जो सन् १९६८ को वसन्तमा स्याङ्बोचेमाथिको यो पहाडमा आइपुग्दा यहाँबाट देखिएको सगरमाथा र वरिपरिका हिमालको ३६० डिग्री दृश्यबाट यति धेरै सम्मोहित भएछन्, उनले यहाँ होटल बनाउने दृढ संकल्प गरेछन्।
होटल एभरेस्ट भ्यु बनाउन उनले शेर्पाहरूको सहयोगमा दुर्गम स्याङ्बोचेमा विमानस्थल बनाइकन हेलिकप्टरमा सामान ओसारेर यस्तो स्तरीय होटल निर्माण गरेका रहेछन्।
होटल एभरेस्ट भ्युको डिजाइन चाहिँ जापानी आर्किटेक्ट योशिनोबु कुमागायाले गरेका रहेछन्। उनको परिकल्पनाअनुसार स्याङ्बोचेमाथिको पहाडमा प्राकृतिक रूपले समाहित भएकोझैं देखिने गरी बनाइएको यो होटलका भाँडादेखि ब्लाङ्केट र ठूलो सिसा त्यति बेला नै जापानदेखि नै झिकाइएको रहेछ।
सन् १९७१ मा होटलको ढोका खुलेपछि ताकासी मियाहाराले वर्षमा १,००० को दरले जापानी पर्यटक नेपाल भित्र्याउन थालेका थिए (नेपाली टाइम्स्, अगस्ट १५, २०२०)। सन् २००८ मा नेपाली नागरिक बनेका मियाहाराले नेपाल राष्ट्रिय विकास पार्टीको तर्फबाट चुनावसमेत लडेका रहेछन्। काठमाडौंमा हिमालय होटल निर्माण गरेका उनी आफ्नो जीवनको सूर्यास्तअघि कास्कीको सराङकोटमा होटल अन्नपूर्ण भ्यु निर्माण गर्न लागेका रहेछन्।
ठीक एक वर्षअघि सन् २०१९ नोभेम्बरमा ८५ वर्षको उमेरमा ताकासी मियाहाराको देहावसान भयो। उनको पार्थिव शरीरलाई स्याङ्बोचे ल्याएर होटल एभरेस्ट भ्युदेखि पूर्वोत्तरपट्टि सगरमाथा देखिने स्थानमै समाधिष्ट गरिएको रहेछ।
स्याङ्बोचेको डिलमा विश्वकै सर्वोच्च स्थानमा निर्मित सुविधासम्पन्न होटल देखेर हामी जति खुसी भयौं, होटलको लबी वा कौसीबाट सगरमाथा र आमादब्लम देख्न नपाउँदा हामी त्योभन्दा बढी निराश हुन पुग्यौं। सोलुतिरबाट दूधकोसी माथिमाथि उडिआएको बादल र हुस्सुले खुम्बु छोपिसकेको थियो। होटल वरपरका हरिया सल्ला र धुपीका रूखहरू हेरेर चित्त बुझाउन बाध्य भयौं। सन् २००८ डिसेम्बरमा मैले यो होटलको कौसीबाट सगरमाथाको गजब दृश्य देखेको थिएँ, जसको तस्बिर अलि तल छ हेर्नुहोस्।
कौसीदेखि तलका रुखहरूदेखि अलिकति परको हरियो पाखामा समाधिष्ट ताकासी मियाहाराप्रति म नतमस्तक हुन पुगेँ। होटलका दुई स्टाफसँग विदा भएर स्याङ्बोचेको ओरालो झर्नुअघि नेपाल भूमिमा यस्तो नवसम्पदा निर्माण गरेर सगरमाथाको आँगनीमै चिरनिन्द्रामा सुतेका मियाहारासानलाई फेरि नमन गर्न मन लाग्यो।
खुम्बुबाट फर्किने क्रममा सगरमाथा अझै हेर्ने मेरो भोक भोलिपल्ट पूरा भयो, जतिबेला म नाम्चेदेखि करिब २० मिनेट माथि उक्लिएर पूर्वपट्टिको डिलमा अवस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको मुख्यालय क्षेत्र पुगेँ र त्यहाँ अवस्थित तेन्जिङ नोर्गे शेर्पा उद्यानको पृष्ठभूमिमा टल्किएका सगरमाथा र अन्य हिउँचुचुराहरू हेरेर रमाएँ।
‘हाम्रो तेन्जिङ शेर्पाले…’
अग्रभागमा उभिएको थियो एक हातमा हिउँ खन्ने बन्चरो (आइस एयाक्स्) बोकेर हाँसिरहेका तेन्जिङ नोर्गेको तामाको सालिक। उनको पछाडिपट्टि सगरमाथाको चुचुरो। सोचेँ, त्यो सालिकले पक्कै पनि हिलारीसँगै सगरमाथा विजयप्राप्त गरेपछि प्रसन्न तेन्जिङको भावभंगीलाई अभिव्यक्त गर्न खोजेको हुनुपर्छ।
सायद त्यसैले सन् १९५३ मे २३ मा ( २०१० जेठ १२ गते) तेन्जिङले हिलारीसँगै पहिलोपटक सगरमाथा आरोहण गरेपछि बाटुलेचौर पोखरामा जन्मिएका लोकगायक एवं जनकवि केशरी धर्मराज थापाले तेन्जिङ नोर्गे, शेर्पा समुदाय, नेपाल र नेपालीको त्यति बेलाको खुसी समेट्दै यी हरफ लेखेर, गाएको हुनुपर्छ-
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
गम्केर बज खैँजडी झम्केर नाच मुजुरा
त्यो खुसी नेपालमा मात्रै सीमित थिएन। हिलारीसँगै तेन्जिङ नोर्गेले सगरमाथा टाकुरामा पहिलो मानव पाइला राखेपछि तेन्जिङ जन्मिएको भनिएको हिमालपारि तिब्बत र उनको कर्मथलो बन्न पुगेको भारतको दार्जिलिङमा पनि खुसियाली मनाइएको बताइन्छ।
नाम्चेमाथिको तेन्जिङ नोर्गे उद्यानमा मैले यस्तै-यस्तै कुरा मनमा गुन्दै निकै बेर तेन्जिङ नोर्गेको तामाको सालिक र सगरमाथा शिखर हेरिरहेँ। तेन्जिङ उद्यानको छेवैमा सर्वोच्च शिखर सगरमाथा र पृथ्वीको सबभन्दा होचो स्थान इजरेलको मृत सागरबाट ल्याइएका दुई ढुंगा सँगसँगै राखिएका रहेछन्।
अचानक नाम्चेबाट निकिताले फोन गरिन्—
‘छिटो आउनुपर्यो यहाँ नराम्रो खबर आएछ। त्याङ्बोचे गुम्बाका अवतारी लामा बित्नुभएछ। लाक्पा र तेन्जिङ सबै जना माथि नाम्चे गुम्बामा प्रार्थना गर्न जाने रे।’
‘ओहो! ल म एकछिनमा आइहाल्छु।’
काठमाडौंको कोरोना कहर र बाँच्नका लागि संघर्ष गर्नेहरूको भिडभाड र कोलाहल चटक्कै छाडेर हामी सोलुखुम्बु यात्रामा निस्किएको पनि निकै दिन भइसकेको थियो। अब हामीलाई नाम्चेबाट फाक्दिङ झर्दै, चौँरीखर्कबाट लुक्ला पुगेर, काठमाडौं फर्किन ट्विनअटर विमानको टिकट काट्न हतार भइसकेको थियो।
नाम्चेको पुमोरी गेस्ट हाउसमा निकिता र लाक्पाडिकी मलाई कुरेर बसिरहेका थिए। मैले अवतारी लामा बित्नुभएकोमा शेर्पा परिवारसामु आफ्नो दु:ख व्यक्त गरेँ।
शोकमा सोलुखुम्बु
त्याङ्बोचे गुम्बाका अवतारी लामा नवाङ तेन्जिङ जाङ्बु ८६ वर्षका थिए र उनी केही समयदेखि बिरामी थिए। गत अक्टोबर १० मा उनको देहावसान भएपछि उनको पार्थिव शरीरलाई पवित्र धूपबत्ती बाजागाजायुक्त प्रार्थनासहित पछि त्याङ्बोचे गुम्बा लगियो र संसारभर छरिएर रहेका शेर्पा समुदायका सदस्य शोकाकुल हुँदै उनलाई सम्मान गर्दै आफ्ना घर-घर र गुम्बा-गुम्बामा पूजा प्रार्थना गरे।
अवतारी लामा नवाङ तेन्जिङ जाङ्बु खुम्बुवासीका अतिरिक्त आरोहीलाई पनि शुभ आशीर्वाद दिइरहन्थे। सगरमाथा राष्ट्रिय निकुञ्जको स्थापना र प्रकृति संरक्षणमा पनि उनको विशेष योगदान रहेकाले उनलाई अन्तर्राष्ट्रिय स्तरमै सम्मान गरिएको थियो।
नाम्चेबाट लुक्ला झर्नुअघि मैले तेन्जिङ तथा हिलारीको आरोहण दलका एक मात्र जीवित सदस्य कान्छा शेर्पालाई भेटेर कुराकानी गर्ने विचार गरेको थिएँ। केही बेर कुरा गरौं भनेर नाम्चेको पश्चिम पाखोमा रहेको पुमोरी गेस्ट हाउसदेखि माथि सिँढी चढेर उक्लिहालेँ।
अहिले ८७ वर्षमा हिँडिरहेका कान्छा शेर्पा आफ्ना छोराले सञ्चालन गरिरहेको निर्वाणा होटलबाहिर भेटिए— कफी रङको गाउनजस्तो पोसाक र घाम छेक्ने गोलो ह्याट लगाएर निहुरिँदै हातमा माला जपिरहेका। मैले आफ्नो परिचय दिएर छोटो कुराकानी गर्ने अनुमति मागेँ। तर कान्छा शेर्पाले विनम्रतापूर्वक क्षमायाचना गर्दै भने— ‘अहिले कुरा नगरौं सरी। हामी अहिले शोकमा छौं।’
यति भनेर उनी स्याङ्बोचेको उकालो लागे।
अवतारी लामा नवाङ तेन्जिङ जाङ्बुको निधनको खबरले कान्छा शेर्पालाई स्वाभाविक रूपमा अलि बढी नै चोट पुर्याउने नै भयो, किनभने कान्छा शेर्पा र तेङ्बोचेका अवतारी लामा दुवै नाम्चेवासी छिमेकी थिए। उनीहरू लगभग एकै उमेरका बालसखा थिए।
त्यसरी नाम्चेबजार र पूरै खुम्बु शोकमा डुबेको बिहान हामी भने सहृदयी शेर्पा साथीहरूलाई न्यानो आतिथ्यका लागि धन्यवाद दिँदै विदा भयौं। नाम्चेबजार छाडेर पुन: ओरालो लाग्यौं, फेरि फेरि खुम्बु आइरहने वाचासहित। खुम्बुको थामे, गोक्यो ताल, चोला पास, कालापत्थर पुग्ने अभिलाषा यसपटक पनि सपना अधुरै रह्यो। ती स्थान पुग्न फेरि खुम्बु आउनैपर्ने भयो।
नाम्चेको ओरालो झर्दै गर्दा नीलो आकासवारि, पूर्वपट्टि थामसेर्कु र पश्चिमपट्टि कोङदे हिमाल हाँसिरहेका थिए। सायद हामीलाई हाँसेर विदा गर्दै थिए।
दुई बिहानपछि लुक्लाको तेन्जिङ हिलारी विमानस्थल छाडेर काठमाडौंका लागि उडेको ट्विनअटरको झ्यालबाट फेरि सगरमाथा, चोयु, नुम्बुर आदि हिमशिखर हेर्न मैले निकै बेर मुन्टो तन्काएँ। तर, यता लुक्ला दक्षिण र पश्चिमतिर बादलहरू फेरि आकासमा फर्किइसकेछन्, हिमालहरू प्रस्ट देखिएनन्।
पदयात्रा क्रममा हरेक दिनजसो आकास निकै खुलिदिएकोमा हामी धन्य भयौँ। कोरोना कहरकै बीच ‘जीवनकालमा एकपल्ट पुग्नैपर्ने विश्वको एक गन्तव्य’, आफ्नै देशको सगरमाथा क्षेत्रमा पदयात्रा गर्न पाएकोमा प्रसन्न भयौं।
टाशी देलेक अनि धन्यवाद खुम्बु, अवश्य पनि फेरि फेरि भेटिरहौंला।
हाम्रो खुम्बु यात्रा:
पहिलो दिन- सोलु एक्स्प्रेस जिपमा काठमाडौं फाप्लु
दोस्रो दिन- फाप्लु-टाक्सिन्दु जिपयात्रा र नुनथला-फुलेली पदयात्रा
तेस्रो दिन- फुलेली-दूधकोसी-खरिखोला-बुप्सा पदयात्रा (खुम्बु क्षेत्र प्रवेश)
चौथो दिन- बुप्सा-पैया-छेउबास पदयात्रा
पाँचौं दिन- छेउबास-सुर्के-चौँरीखर्क-फाक्दिङ पदयात्रा (सगरमाथा निकुञ्ज प्रवेश)
छैठौं दिन- फाक्दिङ-नाम्चे पदयात्रा तथा आराम
सातौं दिन- नाम्चे-तेङ्गबोचे-देबोचे पदयात्रा
आठौं दिन- देबोचे-खुम्जुङ-एभरेस्ट भ्यु होटल-नाम्चे
नवौं दिन- नाम्चे -फाक्दिङ (आराम)
दशौं दिन- फाक्दिङ-लुक्ला
एघारौं दिन- विमानबाट लुक्ला-काठमाडौं
पहिलो भाग: सगरमाथामा त्यस्तो के जादु छ? भाग-१