नियात्रा भाग– २
नक्सा पल्टाएर हेरेँ। टिकट काटेर गेटबाट छिरेपछि सबैभन्दा दायाँ १ नम्बर गुफा उल्लेख भएको देखियो। क्रमशः गर्दै सबैभन्दा बायाँ ३४ नम्बर गुफासम्म झण्डै एक किलोमिटर लम्बाइका पहरामा गुफा र गुफाभित्र मानवीय संरचना छन् भन्ने थाहा भयो। तर, नक्साभित्र गुफाका केही नम्बर गायब रहेछन्। जस्तो कि २२ देखि २४ नम्बर गुफा नक्सामा उल्लेख भएको देखिनँ।
हराएका गुफाका नम्बरले मनमा प्रश्न मडारियो। किशोरावस्थामा सुनेको स्यालका सिङ भेटाए धनाढ्य भइने कथाको सम्झना भयो। यी अलप भएका नबरका गुफा भेटाउँदा धनको थुप्रो भेटिने आशा भएन। तर खुलदुली भने सर्पको मणि फेला पार्ने चाहनाजस्तै बेचैन भयो।
मनको बेचैनी तोड्नकै लागि पनि एक–एक गरी सबै गुफाभित्रै पसेर हेर्दै हिँड्न थालेँ। घमाइलो दिन रमाइलै हुन्छ। तर घाम चर्कँदै गएपछि पानीको डेढ लिटरको बोतल रित्ताउँदा गर्मीको तापक्रम ३१ डिग्री सेल्सियस पुगेको रहेछ।
अगस्त २८, १९८३ मा युनेस्कोले विश्व सम्पदाको सूचीमा राखेर यी गुफालाई संरक्षण गर्नपर्ने बतायो। त्यसपछि भारत सरकारले पूजा सामाग्रीबाट हुने सम्पदाको नोक्सानी रोक्ने कदम चालेको छ। साथै पर्यटन प्रवर्द्धनमा जोड दिइरहेको छ। त्यही सिलसिलाले गर्दा सुमिनाथ चौहानले त्यहाँ जागिर पनि पाएका छन्। ती गुफाको सबैभन्दा नजिकको एलोरा नामको गाउँमै जन्मेका हुन उनी।
उनी एलोरा गुफाका सफाइ गर्ने कर्मचारी हुन्। म त्यहाँ पुग्दाको दिन उनले गुफा नम्बर १ देखि ६ सम्मको सफाइको जिम्मा पाएका रहेछन्।
मानिसले कुँदेर केशर महलको बैठक कोठा जत्रो हल बनाएको गुफाभित्र बसेर उनीसँग कुरा गर्न थालेँ। उनले सुनाउँदै गए। उनी बचपनमा बाख्रा चराउँदै ती गुफा माथिका डाँडा तिर जान्थे। इटु–डाण्डु खेल्न ती गुफा तिर पनि पस्थे। १६ नम्बरको गुफामा उनले पूजा गरेर चन्दन, टीका, अक्षता चढाउँदा त्यता पर्यटक नै पुग्ने गर्थेनन्। सुनसान थिए ती गुफा। त्यस ठाउँको अहिलेजस्तो चहलपहल नै थिएन।
तर अहिले चन्दन, टीका, अक्षता, फूल, प्रसाद चढाएर त्यहाँ पूजा गर्न पाइँदैन।
मराठी भाषामा इटु–डाण्डु भन्दा रहेछन्। मैले थप जिज्ञासा राखेपछि उनले व्याख्या गर्दै गए। त्यसलाई विस्तारपूर्वक बताउँदा हामीले सानोमा खेल्ने डण्डीबियो नै उनीहरूको इटु–डाण्डु रहेछ भन्ने बुझेँ। एउटा सानो डण्डीलाई अर्को एक हात जत्रो डण्डीले हिर्काउने गरी खेलिने विवरण पनि मिल्यो।
मेरो मुख्य गन्तब्य छैठौं शताब्दीदेखि सन् १८१९ सम्म लापता भएका अजन्ताका ३० वटा गुफाको लस्कर थियो। ती गुफालाई एप्रिल १९८३ देखि युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ। ‘एक पन्थ दुई काज’ भन्ने उखानकै सिलसिला मिलाउन एलोराको मेसो मिलाए। त्यसैले म एल्लोरा गुफा पनि छिरेँ।
एलोरामा घुम्ने लक्ष्य एक दिनको थियो। त्यहाँ पुगेपछि एक दिनले नपुग्ने भयो। समय लम्बिएर दुई दिनमा ती गुफाभित्र पसीपसी हेरेँ। रहरै त हो! लहड भने पनि त भयो। त्यसैमाथि नक्सामा नदेखिएका नम्बरको खुलदुली छँदैछ।
ऐतहासिक भारतका शासकहरूमध्ये धेरै सुनेको नाम हो औरङ्गजेब। उनी मुगल सम्राट हुन्। उनैको नामबाट जुरेको सहरको नाम औरङ्गावादमा मेरो अस्थायी बास जुर्यो।
भारतको संविधान लेख्ने संयोजक डा. भीमराव रामजी अम्बेडकरको कर्मथलो पनि हो यो सहर। उनले जात ढाँटेको प्रसङ्ग पनि जोडिएको छ यो सहरसँग। उनकै नामबाट खोलिएको युनिभर्सिटी तिर पनि चासो त थियो मेरो तर त्यता पुग्न समय अपुग हुने भयो।
ट्याक्सीमा जाँदा झण्डै आधा घण्टामा एलोरा गुफा पस्ने मूल गेटसम्म पुगिँदोरहेछ। कारको अगाडिको भागमा शिवाजी महाराज र गणेशको मूर्ति राखेको देख्दा चालकबाट हिन्दू राप रसायो। उक्त सहरमा भने ७५ प्रतिशत जति मुस्लिमहरूको बस्ती रहेको उनैले जानकारी गराए।
उनका धेरैजसो ग्राहक पुग्ने देवगिरि टिलाप्रति मेरो चासो जगाउन उनले गरेको प्रयासमा अन्यथा मानिनँ। तर बाटोमा बिनाकारण स्थानीय सिल्क उद्योगको पसलमा पसाले। मेरो खरिददारीबाट उनलाई हुनसक्ने थप आम्दानीको प्रयासबाट मेरो मन भने रमाउन सकेन। यो चलन पर्यटन उद्योगको पक्षनै हो क्यारे! अन्यत्र पनि उस्तै-उस्तै त हो।
दुई किशोर उमेरका छोरीहरू सँगसँगै त्यहाँ घुम्न पुगेका शंकर बलालले मलाई ती गुफाभन्दा अलि पर रहेको शिवको मन्दिर पुग्न सिफारिस गर्दै थिए। उनीभन्दा पहिला नै ट्याक्सी चालकको सिफारिसलाई नै उनले पनि थपेका थिए।
आस्था न हो! मेरो नामको शब्दावली सुन्ना साथ उनको आस्था बेजोडले उर्जावान बन्यो।
शंकरहरू भने शिर्डी साइबाबा मन्दिरमा आफन्तको विवाहमा पुगेकै बेला पायक परेकोले एलोरा आएका रहेछन्। उनको सिफारिसमा परेको शिवको मन्दिरको ज्योतिरलिङ्गको सप्रसंग व्याख्यामा काठमाडौंको पशुपतिनाथसँग सम्बन्ध छ भनेर पनि जोड्न भ्याइहाले।
पोल्ने घाम छलेर एक हुल स्कुलकै ड्रेस लगाएका बच्चाहरू रूखको छहारीमा बसेका रहेछन्। उनीहरूले खाना खाँदै गर्दा त्यो ठूलो रूखभन्दा उता १ नम्बर गुफासम्म नै छहारी दिने कुनै पनि रूख देखिएन। गुफाभित्र बसेर पनि त्यसरी खान पाइने कुरै भएन।
फलामे बारले छुट्याइएको गुफा क्षेत्र भ्रमण सिमानादेखि तल भने बाक्लै हरियो जङ्गल देखियो। गुफा माथिको डाँडामा हरियाली दिन नसकेका केही पोथ्रा रहेछन्। वर्षा याममा उतातिर पनि हरियाली भरिन्छ होला भन्ने अनुमान गरेँ।
एलोराका गुफामध्ये १६ नम्बरको कैलाश मन्दिर कला र सौन्दर्यको उत्कृष्ट नमुना मानिन्छ। एउटै चट्टानलाई खोपेर बनाइएका मूर्ति तथा संरचना अपत्यारिला छन्। आफ्नै आँखाले देखेपछि नपत्याइ पनि भएन।
त्यो समयमा न त रेल चल्थ्यो, न त कम्प्युटर थिए तर सिलिङमा नटराजको मूर्ति थ्री डायमेन्सनमा कसरी बनाए होलान्? चार पाइला दायाँ, फेरि चार पाइला बयाँ, अगाडि त्यत्ति वा पछाडि त्यत्ति पाइला जता गएर हेरे पनि ती कुँदिएका शिवजीले आफूलाई नै हेरेको देखिँदो रहेछ।
त्यसैले त होला म गेटबाट छिर्नुभन्दा ठिक पहिला अमेरिकाकी पूर्व विदेश मन्त्री तथा राष्ट्रपति निर्वाचनमा निकटतम प्रत्यासी हिलारी क्लीन्टन छिरेकी रहिछन्। उनले मेरो १६ नम्बर गुफा छिर्ने बाटो नै छेकिदिइन्।
जे हुन्छ ठिकै हुन्छ भने झैँ भयो। म पनि १ नम्बरदेखि क्रमशः कुनै गुफा नछाडी हेर्न थालेँ।
गुफा नम्बर ५ को माथिबाट झरना बगिरहेको थियो। त्यो झरनाको पानी पसेर गुफा बिगार्नबाट रोक्न चट्टानमा छत्तरे क्यापजस्तो कंक्रिट ढलान गरेका रहेछन्। पहिलो छुट्टीमा घर आउँदा मलायाका लाहुरेले लगाएको छत्तरे टोपीको अघिल्लो भागजस्तै देखियो। घामबाट लाहुरेका आँखा जोगिएजस्तै त्यो ढलानले गुफाको संरचना बचाउन पानी अलि अगाडि झर्ने बनाइएको छ।
गुफाभित्र संरचनाका खम्बा (पिलर) लगायतका भाग खिइएको तथा कमजोड भएको ठाउँमा मर्मत गरेका रहेछन्। पुरानो कुन हो? नयाँ मर्मत गरेको कुन हो छुट्याउन नसकिने गरी लेप लगाइएको देखेँ।
सायद पुरातत्वविदले पनि कामबाटै सिक्ने गरे होलान्। त्यसैले पछि गरेका मर्मत भने मौलिक संरचना कुन हो र नयाँ मर्मत कुन हो भन्ने छुट्टिने गरी मर्मत गर्न थालेछन्।
पछि कर्मथलो फर्किएर त्यस सम्बन्धमा जानकार विशेषज्ञ मित्र घनश्याम पौडेलसँग मर्मतको विषयमा कुरा भयो। मैले सोचेको कुरा ठिकै रहेछ भन्ने थाहा भयो। उहाँले लुम्बिनीको मायादेवी मन्दिर जिर्णोद्वार गर्दाको आफ्नै अनुभव पनि सुनाउनु भयो।
युनेस्कोले विश्व सम्पदाको संरचना बचाउने र मर्मत गर्ने मापदण्ड तोकेको विवरण बताउनु भयो। उहाँको त्यो विवरण र ती गुफाका नयाँ मर्मत र पुराना मर्मत बीचको फरक थाहा लाग्यो। युनेस्कोले पहिला मर्मत गर्नमा दिएको निर्देशनमा थप सुधार गरेको नियमबारे हामीले छलफल गरेपछि कुरा बझे झैँ भयो।
यो पनि
गुफा पसेको दिन!