सानैदेखि सुनेको चीनको ग्रेट वाल। नाम मात्रै सुन्दा पनि मनमा कौतूहल र अचम्मको अनुभूति हुन्थ्यो। आजसम्म पुग्ने अवसर त जुरेको छैन तर समयले नेपालमै त्यस्तै अद्भुत अनुभव लिने मेलो मिलाइदियो, हेलम्बुको हिमालयन ग्रेट ट्रेलमा। यहाँ ह्योल्मो परम्पराअनुसार बनेको धर्मचक्र पर्खालहरूले बाटोलाई धार्मिक गरिमासँगै रहस्यमय सौन्दर्य भरिदिएका छन्।
केही खुड्किलो उकालो, अनि तेर्सो, फेरि उस्तै उकालो, अनि तेर्सो, हरेक पाइला विज्ञान र परम्पराको अनौठो मिलन जस्तो लागिरहेको थियो।आहा! त्यो अद्भुत अनुभव। आज पनि हृदयमा ताजा छ।
समुद्री सतहबाट २५ सय मिटरदेखि ५ हजार मिटरको उचाइसम्म फैलिने यो ट्रेल पूर्ण रूपमा ६० किलोमिटर बनिसकेपछि, पैदल यात्रा गर्दै छिचोल्न करिब एक हप्ता समय लाग्नेछ। अनि हरेक दिनले नयाँ दृश्य, नयाँ अनुभूति र नयाँ रोमाञ्चकको कहानी बोकेको हुनेछ। अहिले भने ट्रेलको ७ किलोमिटर निर्माण भैसकेको छ।
सिन्धुपाल्चोकको यो पवित्र धार्मिक स्थलमा विश्वका विभिन्न कुनाबाट धर्मगुरूहरू साधनाका लागि आउँछन्। यहाँको गुफामा गरिने तीन दिनको ध्यान, अन्यत्र गरिने तीन वर्षको ध्यानको बराबरी मानिन्छ। यस्तो अद्भुत विश्वास यहाँको विशेषता हो। धर्मिक गुरूहरूको निरन्तर आगमनले यो ठाउँको आध्यात्मिक महत्त्वलाई झन् उजागर गर्छ। लाग्छ यहाँको हावा र माटोमै शक्ति र शान्तिको सुवास भरिएको छ।
हिँड्दा थकान लाग्दा बीचमा देखिने चैत्यहरूले अनायासै ‘ओम माने पेम्मे हुँम्’ को मधुर स्वर मनमा गुन्जाइदिन्छ। वरिपरि हरियाली जङ्गल, चराहरूको चिरबिर, हिमालको चिसो सिरेटो, यी सबैले उकालीको थकाइ मेटाइदिन्छ र हृदय शान्त हुन्छ।
बुद्धपार्क नजिकको होमस्टेमा घ्यु र नुन हालेर मथेको चियाको स्वाद आज पनि यादमा ताजा छ। त्यही एक कप चियाले पनि थकान सबै मेटाइदिए जस्तो।
हेलम्बुको ‘हिमालयन ग्रेट ट्रेल’ वरिपरिको डाँडा र प्राकृतिक संरचनाले मानौँ कुनै चित्रकारको क्यानभासमा सावधानीपूर्वक कोरिएको कलाकृति जस्तो भान गराउँछ। सेमिसिदाङ, दोर्जेलाक्पा, गाङछम्बो, युवा पिक, गौरीशंकरजस्ता दर्जनौँ हिमालहरू नीलो आकाशमा गर्वका साथ उभिएका छन्। डाँडाकाँडा र वन पाखामा फुलेका लालीगुराँस र रङ्ग–बिरङ्गका लेकाली फूलबीच लुकामारी खेल्ने रेडपान्डाको चञ्चल दृश्य आँखाबाट मात्र होइन, मनको कुनाबाट पनि कहिल्यै हट्दैनन्।
अक्सर केही कुरा, केही दृश्य वा अनुभव समयसँगै हराउँछन्, तर केही यस्ता हुन्छन् जसले जीवनभर स्मृतिमा आफ्नो छाप छोडेर जान्छन्। प्रकृति, प्रेम र संस्कृतिको सम्मिश्रण यी सबै एकै पटक जीवनमा रङ्ग भरेर बस्छन्। कुनै विशेष स्थानले जीवनलाई प्रकृति, सांस्कृतिक र भावनात्मक अनुभवसँग बाँधेर राख्छ भने, त्यो स्थान र क्षण सधैं सम्झनामा रहन्छ।
अँगालोमा डाकिरहे जस्तो लाग्ने वरिपरि छरिएका हिमशिखर, शान्त हरियाली, प्रार्थनाका मधुर स्वर र हिमाली हावाको चिसो स्पर्श सबै मिलेर जीवनको गहिराइमा पनि शान्तिको तरंग फैलाउँछन्। केही क्षणका लागि भए पनि, जीवनलाई प्रकृति, शान्ति र आध्यात्मिक अनुभूतिसँग जोड्नका लागि हेलम्बु ट्रेल उत्कृष्ट गन्तव्य हो। जहाँ हरेक पाइला स्मृतिमा कविता बनेर बस्छ। हरेक दृश्यले ऊर्जा थप्छ। अनि हरेक पलले आफ्नै अन्तर्मनसँग भेट गराउँछ।
हेलम्बु यात्रामा मेरो बालापनको एउटा रहर, मेलम्ची हेर्ने। एउटा हातले सिँगान पुछ्दै, अर्को हातले सुरूवाल समाउँदै दौडेको उमेरमा सुनेको मेलम्ची। मेलम्चीको पानी काठमाडौं आएको कुरा। त्यहाँको मुहान, बाढीले भत्काएको संरचना, अनि टनेलमा झारिएको पानी, यी सबैले यात्रा जीवित बनाइदियो।
यात्राका क्रममा भ्रङचेत झरना नजिक पुग्दा, माथिबाट खस्ने पानीको गर्जन र हावामा उडेर आएको ससाना पानीका बुँदले मुहार छुँदा प्रकृतिले प्रेमपूर्वक निम्तो गरिरहे जस्तो। जल अभिषेक गरेर स्वागत गरिरहे जस्तो। अनुपम स्पर्शको आनन्दले मन पुलकित भयो।
यसरी हेलम्बुको हिमालयन ग्रेट ट्रेलमा बिताएका क्षणहरू केवल यात्राको सम्झनामा सीमित छैनन्, बरू जीवनको अर्थ र सुन्दरतालाई अझ गहिराइबाट अनुभूति गराउने अमूल्य धरोहर बनेर रहन्छन्। यहाँको हरेक मोड, हरेक दृश्य र हरेक सासले प्रकृतिसँगको सम्बन्धलाई पुनः स्थापित गराउँछ।
कहिलेकाहीँ आफूलाई फेला पार्न, संसारको कोलाहलबाट टाढा भएर आत्मासँग संवाद गर्न यस्ता यात्राहरू अनिवार्य लाग्छन्। हेलम्बुमा बिताएको समयले यो सत्यलाई पुनः पुष्टि गरिदियो, प्रकृति नै सबैभन्दा ठूलो गुरू हो, र उसको काखमा बिताएका पलहरू नै जीवनका सबैभन्दा अमूल्य उपहार हुन्।
-1755330563.jpg)
-1755330563.jpg)
-1755330562.jpg)
-1755330559.jpg)
-1755330560.jpg)
-1755330560.jpg)
-1755330561.jpg)
-1755330559.jpg)
-1755330559.jpg)