रसुवाको धुन्चे र गोसाइँकुण्ड जाने बाटाहरू यतिखेर सहर र गाउँका दुवैथरी यात्रुले खचाखच छन्।
हिन्दु देवता शिव र बौद्धमार्गीले पुज्ने गुरू रिम्पोचेको बास रहेको ठानिने गोसाइँकुण्डमा जनै पूर्णिमा बेला वर्षकै ठूलो मेला लाग्छ।
त्यसैले त, धुन्चे बजार पूर्वको त्रिशूली खोलापारि नगुम गाउँका पेमासिंगी तामाङ आफ्ना श्रीमती याङ्जी र काखे छोरा नोर्बुसिंगीलाई लिएर जनै पूर्णिमाभन्दा १० दिनअघि नै गोसाइँकुण्ड जाने बाटोमा बसाइँ सरिसकेका छन्।
उनीहरूले धुन्चेदेखि एक घन्टा पूर्व पर्ने घट्टेखोलामाथि बेथानखोरको डाँडामा झाडी फाँडेर प्लास्टिकले छोपिएको थर्पु बनाइसकेका छन्।
अन्य थर्पुमा जस्तै उनीहरूको थर्पुमा विभिन्न सहरी खाजाको चाङमा गाउँमा फलेका स्याउ, च्याउ र निउरो विशेष देखिन्छन्। त्यहाँ करिब २० यात्रुलाई खाने र सुत्ने अस्थायी व्यवस्था गरिएको छ।
गत साउन २३ गते बिहीबार झमक्कै साँझ पर्दा त्यहाँ पुगेको मलाई त्यो थर्पुमा मीठो निन्द्रा पर्यो।
'बसेको र साँझ खाएको एक हजार रूपैयाँ दिनुहोला,' भोलिपल्ट बिहान विदा हुने बेला पेमासिंगीले भने।
उनीहरूजस्तै अन्य सयौं रसुवाली तामाङहरू यात्रुलाई गाँसबास व्यवस्था गर्न सपरिवार भार्कु र स्याब्रुजस्ता गाउँबाट माथि उक्लिइसकेका छन्। उनीहरू हरेक जेठमा गंगा/दशहरा मेला र भदौमा जनै पूर्णिमा बेला यसै गर्छन्।
थर्पु चलाउने स्थानीयलाई जस्तै रसुवाका प्रमुख जिल्ला अघिकारी वेदनिधि खनाललाई पनि गोसाइँकुण्ड मेला व्यवस्थापन गर्न भ्याइनभ्याइ छ। भन्छन्, '१३ वटा उपसमिति बनाएका छौं। ती उपसमितिले स्वास्थ्य, सुरक्षा, गाँसबासको दर जस्ता विषय अनुगमन गरिरहेका छन्।'
जनै पूर्णिमा बेला धुन्चेमा चटारो बढ्नुको कारण हो — मेलाको १५ दिन अवधिमा गोसाइँकुण्डमा चारै दिशाबाट करिब १५ हजार यात्रु आउने अनुमान।
'सबै जनै पूर्णिमाकै दिन आउने होइनन्,' रसुवाका प्रजिअ खनालले भने, 'उनीहरू यो १५ दिन अवधिमा चारवटै बाटोबाट गोसाइँकुण्ड आउँछन्।'
ती चार बाटा हुन् — रसुवाको धुन्चेबाट घट्टेखोला हुँदै सुरू हुने उकालो; रसुवाको स्याब्रु वा लाङटाङ क्षेत्रबाट ठूलो स्याब्रु हुँदै उक्लने घोडेटो; सिन्धुपाल्चोक र नुवाकोट सिमानामा पर्ने कुटुमसाङ, ठाडेपाटी हुँदै लाग्ने घोप्टेको गोरेटो; र नुवाकोटको शिखरबेँसी, दुप्चेश्वरबाट माथि जाने नयाँ उकालो।
जुनै बाटो गए पनि गोसाइँकुण्ड जान सजिलो छैन।
समुद्री सतहबाट झन्डै ४४०० मिटरमा रहेको तालमा पुग्नुपर्ने भएकाले सास फुल्ने ठाडो उकालो नउक्ली सुखै छैन। त्यसैले यो जनै पूर्णिमाको साइतमा गोसाइँकुण्ड वा अरू कुनै हिमाली ताल जाँदै हुनुहुन्छ भने यी ५ कुरामा सावधानी अपनाउनै पर्छ।
१) पूर्वतयारी
हिमाली क्षेत्रको पदयात्रामा जानुअघि हामीले आफ्नो शरीर तयार र बलियो बनाउनुपर्छ। त्यसका लागि हरेक दिन १० हजारदेखि १५ हजार पाइला हिँड्ने बानी गर्नुपर्छ। शनिबार र अन्य विदा बेला सहर नजिकका डाँडामाथि पैदल चढ्ने र ओर्लिने अभ्यास गर्नुपर्छ।
हरेक विदामा लामो-लामो उकालो-ओरालो साइकल यात्रामा जाने गरे हिमाली पदयात्राका लागि शरीर तम्तयार रहन्छ। जिम जानुहुन्छ भने पनि खुट्टाले हिँड्ने र दौडने अभ्यास छुटाउनु हुँदैन।
पदयात्रामा जानुअघि हामीले झोला सकेसम्म सानो र हलुको बनाउने प्रयास गर्नुपर्छ। यो पनि चाहिएला, त्यो पनि चाहिएला भनेर आफ्नो पोको बोक्नै नसक्ने गरी ठूलो बनाउनु हुँदैन। सानो पोको बनाइसकेपछि त्यसबाट आधा सामान झिकेर तौल घटाउन सकिन्छ।
हिमाली क्षेत्रमा जाँदा हलुका बर्साती, डाउन ज्याकेट, न्यानो ऊनी टोपी र न्यानो तर हलुका ट्राउजर छुटाउनु हुँदैन। पोषणका लागि बदाम, काजु, ओखर र डार्क चकलेट बोक्न सकिन्छ। प्राथमिक उपचारका लागि जरूरी औषधि छुटाउनु हुँदैन।
२) सडक सुरक्षा
मोटरसाइकल यात्रा गर्दै हुनुहुन्छ भने दुवै यात्रुले हेलमेट लगाउनु सुरक्षा हिसाबले उत्तम हुन्छ। सडक सुरक्षाको नियम अनिवार्य पालना गर्नैपर्छ। धेरै थाकेको वा मादक पदार्थ पिएका बेला सवारी चलाए दुर्घटना जोखिम उच्च हुनै नै भयो। लामो यात्रामा सुन्दर स्थानहरूमा रोकेर रमाउन र आराम गर्न सकिन्छ। यसै पनि ट्राफिक प्रहरीले भन्ने गर्छन्, 'हतार गरे भन्न सकिन्न।'
पदयात्रा सुरू गर्दा सामान्यभन्दा बिस्तारै हिँड्ने र त्यो क्रम जारी राख्ने गर्नुपर्छ। त्यसो गर्दा थकाइबाट बचिन्छ र लामो हिँडाइका लागि ऊर्जा बचत गर्न सकिन्छ।
धुन्चेबाट गोसाइँकुण्ड जाँदा घट्टेखोला पुगेपछि उकालो सुरू हुन्छ। जुन केही बेरपछि निकै ठाडो हुँदै जान्छ र सकस त्यहीँबाट सुरू हुन्छ। तर स्वच्छ हावामा लामो सास फेर्दै कछुवा गतिमा अघि बढ्दै जाँदा केही बेरपछि आफै छक्क पर्नु हुनेछ।
नेपाल सरकारले एक्लै पदयात्रा गर्न प्रतिबन्ध लगाएको छ, कागजमै भए पनि। बर्खा बेला बाढीपहिरोको जोखिमबाट बच्न अघि बढ्नुअघि बाटोको अवस्थाबारे पूर्वजानकारी अत्यावश्यक हुन्छ।
उदाहरणका लागि — गोसाइँकुण्ड यात्रा सुरू गर्नेबित्तिकै घट्टेखोलादेखि १५ मिनेट पर केही उत्तरपट्टि हालै एउटा पहिरो गयो। त्यसले हिजोआज बेला-बेला ठूलो चट्टान खस्ने गरेको छ। त्यसको चेतावनी दिने साइनबोर्ड भने गत साता कतै देखिएन।
केही दिनअघि झमक्क साँझ पर्न लाग्दा म उकालो उक्लिँदै थिएँ। त्यही बेला निकै ठूलो पानी पर्यो र ढुंगा छापेको वा ढलान बाटोमा हिलोको भेल बढ्न थाल्यो। धन्न, केही अघि बढिसकेपछि मात्र पछाडि पहिरोबाट ठुल्ठूला चट्टान विस्फोट भएसरी खस्न थालेकाले कुनै जोखिम भएन।
बेथानखोरको थर्पु पुग्नुअघि बेल्जियन नागरिक देबी मभेउको सम्झनामा एक स्मारक बनाइएको देखिन्छ। सन् २०१२ जुन १४ मा गोसाइँकुण्डबाट एक्लै ओर्लिरहेकी २३ वर्षीया मभेउको शव हराएको केही सातापछि बाटोमुनि खोँचमा भेटिएको थियो। टाउको र खुट्टा अलग भएको अवस्थामा फेला परेकी उनको मृत्युको कारण दुर्घटना ठानिए पनि आजसम्म यकिन भएको छैन।
३) उचाइ वा लेक
रसुवाका प्रजिअ वेदनिधि खनालका अनुसार गएको जनै पूर्णिमा बेला नुवाकोटतिरबाट गोसाइँकुण्ड उक्लिएका एक युवाको लेक लागेर ज्यान गएको थियो। त्यस्तो घटनाको खबर हरेक वर्षजसो आइरहन्छ।
उचाइमा जाँदा हरेक यात्रुलाई लेक लाग्ने जोखिम रहन्छ। समुद्री सतहमा बस्ने मानिसलाई १३०० मिटरको काठमाडौंमै लेक लाग्न सक्ने विज्ञहरू बताउँछन्।
गोसाइँकुण्ड पदयात्रा क्रममा घट्टेखोलाबाट दुई घन्टामाथि २५०० मिटरको देउरालीबाट लेक लाग्न सक्छ। वायुमण्डलको तल्लो भागमा भन्दा माथिल्लो भागमा अक्सिजन कम हुने हुँदा लेक लाग्ने हो।
माथिल्लो उचाइको मेडिसिनका जानकार डाक्टर बुद्ध बस्न्यातको सुझाव छ, '२५०० मिटर माथि पुगेपछि लेक लाग्न सुरू हुन्छ, त्यसैले हामीले अघिल्लो दिनको उचाइभन्दा ४०० देखि ५०० मिटर मात्र माथि जानु सुरक्षित हुन्छ।'
त्यसो गरे हाम्रो शरीर उचाइसँग अभ्यस्त हुन थाल्छ र यात्रा सहज हुन्छ। तर त्यसको पालना नगरे मानिसलाई 'एक्युट माउन्टेन सिकनेस' जस्ता स्वास्थ्य समस्या आएर ज्यानै जान सक्छ।
लेक लाग्न थालेपछि टाउको दुख्ने र बान्ता आउने समस्या देखिन्छन्। त्यसो हुनेबित्तिकै लेक लागेको मानिसलाई छिटोभन्दा छिटो तल्लो उचाइमा ल्याएर उपचार थाल्ने सुझाव विज्ञहरूले दिने गरेका छन्।
अर्को जरूरी कुरा — गोसाइँकुण्डमा नुहाउँदा गहिरोमा पुगेर कयौं यात्रुको ज्यान गइसकेको छ। हिउँदमा पूरै जम्ने यो तालमा पौडी खेलेर बहादुरी देखाउने वा जोखिमपूर्ण सेल्फी खिच्ने धुनमा नलाग्नुहोला।
४) प्राथमिक उपचार
विज्ञहरू भन्छन् — लेक लाग्नबाट बच्न माथि जाने यात्रुले दुइटा काम सँगसँगै गर्न सक्छन्। अघिल्लो दिनदेखि नै जोलामाइड नामक औषधि आधा-आधा चक्की दिनको दुईपटक खाने र पर्याप्त पानी पिउँदै निकै बिस्तारै उक्लिने। ताकि, दिनमा ५०० मिटरभन्दा माथि नपुगियोस्।
तर गोसाइँकुण्ड मेलामा जाने धेरै यात्रु को पहिला पुग्ने भन्ने प्रतिस्पर्धामा हुन्छन् र जोखिममा पर्छन्।
उदाहरणका लागि — १९०० मिटरको धुन्चेबाट हिँडेका थुप्रै युवायुवती पहिलो दिनमै ३५०० मिटरको चन्दनबारी वा ३७०० मिटरको चोलाङ वा ४१०० मिटरमा रहेको बुद्ध मन्दिर पुगेर लखतरान हुन्छन्। त्यही बुझेर होला, गोसाइँकुण्डमा जनै पूर्णिमा बेला धुन्चे, घट्टेखोला, चोलाङ, लौरीबिना आदि स्थानमा स्वास्थ्य शिविरहरू राखिने गरेका छन्।
५) खानपान
विज्ञहरू भन्छन् — लामो पैदल यात्रा बेला थोरै-थोरै पानी पिउँदै, पर्याप्त सास फेर्दै बिस्तारै-बिस्तारै हिँड्नु उचित हुन्छ। सही समयमा आराम गर्दै नास्ता वा खाना खानु उत्तम हुनै नै भयो। कतिपय यात्रु खाँदै हिँड्ने बानी परेका हुन्छन्। स्वास्थ्यविद्हरूका अनुसार त्यसो गर्नु घातक हुन सक्छ।
धेरै यात्रुलाई चाउचाउ, चिप्सजस्ता सहरी खाना भयंकर पोषिलो लाग्न सक्छ। तर साउन-भदौमा हिमाली पदयात्रामा जाँदा स्याउ, निउरो र रङरङका ताजा च्याउ प्रशस्त पाइन्छन्। स्थानीयवासीले आफ्ना पुर्खाले सयौं वर्षदेखि खाँदै आएका थरिथरि च्याउ बेच्न राखेका हुन्छन्।
जस्तो — हालै च्छो रोल्पा, पाँच पोखरी, अन्नपूर्ण र गोसाइँकुण्ड पदयात्रामा म राता, पहेँला र सेता रङका पूर्ण प्रांगारिक च्याउ खाएर निकै रमाएँ। प्लास्टिकका पोकाभित्रका परिकारभन्दा ती निकै पोषिला थिए।
अझ धुन्चेमा स्थानीय चिज पाइन्छ। माथि चन्दनबारीमा पनि दुग्ध विकास संस्थानको चिज कारखानाको पसलमा ताजा याक चिज किन्न पाइन्छ। त्यो पोषिलो हुने नै भयो।
अर्को जरूरी कुरा — गत साता गोसाइँथान जाने बेला मैले थुप्रै युवा तल धुन्चेबाट बिहानैदेखि कोदोको रक्सी र सेकुवामा रमाउँदै हिँडेको भेटेँ। उनीहरू दिउँसो र राति फेरि थपी थपी पिउँदै सकसपूर्ण उकालो लाग्दै थिए।
विज्ञहरू भन्छन् — उकालो लाग्दा पानी पिउनुपर्छ, रक्सी होइन। रक्सीले लेक लाग्ने र गम्भीर बिरामी हुने जोखिम कयौं गुणा बढाउँछ।
(हिमाली क्षेत्रको पदयात्रा गर्न रूचाउने लेखक एक स्वतन्त्र पत्रकार हुन्।)