वर्षकै सबभन्दा लामो दिन जुन २१ फेरि नजिकिँदै थियो।
२०८१ असार १ गते (जुन १५) शनिबार सबेरै पूर्वी नेपालको रामेछापमा पर्ने बाम्ती र भण्डार गाउँमा यो वर्षकै पहिलो मनसुनी वर्षा भएको थियो, आकाश गड्गडाउँदै।
मनसुन सुरू भएपछि भण्डारमा सानो तर एकदम सफा होटल चलाएर बसेका कालीमाया र पासाङ तामाङको जोडी पनि रमाउने नै भयो। दुई हजार दुई सय मिटर उचाइमा रहेकाले प्राय: चिसो हुने भए पनि भण्डारमा बर्खासँगै जुका सलबलाउने चिन्ताले भने कालीमायालाई सताएको थियो।
उनी भन्दै थिइन्, 'अब धेरै जुका लाग्छ। यताका जुका राता हुन्छन्, पारीका जुका काला।'
म भने हतारमा थिएँ, पानीले निथ्रूकै भिजेका भण्डारका हरिया वन तथा पहाड छोडेर तल लिखु नदी उपत्यका झर्न। अनि, सोलुखुम्बु जिल्ला छिरेर लामजुरा पास (भञ्ज्याङ) हुँदै जुनबेँसी र फाप्लु पुगेरै छाड्न।
मेरो लक्ष्य थियो — सन् १९५३ को वसन्तमा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको टोली सगरमाथा चढ्न हिँडेको पदमार्गको बचेको खण्डमा पैदल यात्रा गरेर पाँच दिनभित्रै काठमाडौं फर्किने।
बिहान सबेरै पानी परेपछि चैतदेखि नै देशभर सल्किन थालेका वन डढेलो निभ्ने र आकाश खुलेर पहाडहरू सफा देखिने आशा पलायो। शितल मौसममा रमाउँदै भण्डार र बाम्तीका चियाबारी छिचोल्दै म लिखु नदी किनारको बाटो भेटाउन हतारिएँ।
अघिल्लो दिन काठमाडौंबाट मन्थली, शिवालय हुँदै भण्डार ल्याउने बसमै लिखुको किन्जासम्म आउने सुविधा थियो। तर म तेन्जिङ र हिलारीहरू हिँडेको गोरेटोको अहिलेको अवतार हेर्न आतुर थिएँ। सन् १९५३ को वसन्तमा उनीहरूको टोली ४०० भन्दा बढी भरियासहित भक्तपुरबाट २२ दिनसम्म पैदल हिँडेर सगरमाथा आधार शिविर पुगेको थियो।
त्यो टोली भक्तपुरबाट दोलखाको जिरी हुँदै यही भण्डारको बाटो लिखु नदीपारि पिके चुचुरा नजिकैको लामजुरा पास हुँदै हिँडेर सोलु र खुम्बु पुगेको बताइन्छ। उनीहरू हिँडेको ७१ वर्षपछि अहिले त्यो पैदल बाटोमा लगभग सबैतिर मोटर बाटो बनिसकेछ। नदीहरूबाट बिजुली निकाल्ने लहर नै चलिसकेछ।
त्यो पैदल बाटो अब इतिहास बनिसकेछ।
भोटेकोसीमा जस्तै लिखु नदीको पानीबाट बिजुली निकाल्न ठाउँ-ठाउँमा ठूला आयोजना बन्दै रहेछन्। तिनका लागि ठूला-ठूला ट्रक गुडाउन चौडा बाटो बन्ने नै भयो। तर लिखु तरेर उकालो चढ्नुअघि भेटिएको शेर्पा गाउँले थोरै भए पनि त्यस भेगको पुरानो कला-संस्कृति जोगाएको भान भयो।
कालो स्लेटले छाएका अनि पाली हालेका दुईतले घरको बाहिरी भित्तामा सेतो रङ चम्किए। निलो पोतिएका झ्याल र ढोकाले घरको सुन्दरता अझै बढाए।
फेदीमा दोकान कुरेर बसेका पेम्बा शेर्पा दाजुले आफैले दाल, भात, तरकारी र अचार बनाइदिए। त्यस्तो पक्का नेपाली थालीले हिजोआज नयाँ नाम पाएको छ — थकाली खाना। तीन-चार घन्टामाथि पर्ने सेते गाउँ पुग्ने उकालोका केही रित्ता घर भेटिए, दिउसै बत्ती बलिरहेका अनि बाहिर कुखुरा चरिरहेका। सायद असारको चटारो थियो।
किन्जादेखि एक घन्टामाथि पुगेपछि एउटा सानो घरबाहिर लटरम्म आलुबखडा फलेका दुई रूखले लोभ्याए। अजय थामी भाइले खुसी हुँदै एक झोला जति टिपेर मेरो टिसर्टको पोल्टामा खन्याइदिए।
अझै माथि भेटियो नेपाल थामी समाज लेखिएको बोर्ड झुन्ड्याइएको नयाँ भवन। भित्तामा त्यहाँभित्र हरेक साँझ थामी भाषा कक्षा चल्नेबारे सूचना टाँसिएको थियो। नजिकैको घरमा खेल्दै थिए साना केटाकेटी। मैले आलुबखडा खान बोलाएपछि सबै दगुरेर आए। खुसी हुँदै उनीहरूले त्यो फल खाँदै गर्दा मैले उनीहरूको नाम सोधेँ।
मुस्कुराउँदै उनीहरूले भने — मनोज थामी, पुष्पा थामी, जीवन थामी, मन्दिरा थामी।
मैले उनीहरूकै अनुमति लिएर एक-दुई फोटो खिचेँ। ती फोटो उनीहरूलाई देखाएँ। हेरेर औधि खुसी भए। लाग्यो नयाँ साना साथी भेटिए। विदा भएर उकालो लागेँ।
उनीहरूले मलाई निकै परसम्म हेरिरहे।
एक घन्टा उकालो चढेपछि सानो तामाङ बस्ती आइपुग्यो।
अझै केही बेर वनको बाटो हिँडेपछि पुगियो सेते गाउँ। छ-सात घर रहेको त्यो शेर्पा बस्तीको दक्षिणी पाखो नजिकै एउटा सानो गुम्बा देखियो। हरिया वन र पाखामाथि गाउँबीच गोरेटो बाटो। बाटोभरि मौलाएको हरियो दुबो। चर्दै गरेको एउटा बाच्छोको फिलाभरि र नाकमाथि जुका पनि रगत चुस्न व्यस्त।
भण्डारकी कालीमाया दिदीले भनेजस्तै ती काला रङका थिए। म पनि निकै बचेर हिँडे। तल खोँचमा एक जना पाका गोठाला दाइ आफ्ना चौंरी र सामान्य गाईलाई गोठमा हुल्न निकै चर्को कराउँदै, लौरी चलाउँदै, चौपायासँगै घरि यता घरि उता दगुर्दै, निकै संघर्ष गर्दै थिए। मानौं कुनै युद्ध लड्दै थिए।
वसन्त यामको पदयात्रा बेला सकिएसँगै सेते गाउँ सुनसान भइसकेको रहेछ। सबै होटल र लजमा ताल्चा लगाइएको थियो। साँझ झमक्क परिसकेको थियो। फरक्क फर्किएँ। किनभने, अलि तल बाटोमै रहेको सनराइज लज खुल्लै रहेछ।
मलाई देखेर त्यहाँ पालिएको बिरालो चितुवाझैं दौडिएर भित्र हानियो। त्यहाँ भेटिएका पासाङ र छिरिङ शेर्पा दाजुभाइ र उनीहरूकी आमाले मलाई गाँस र बासको जोहो गरिदिए।
असार २ गते आइतबार बिहान सेतेबाट दोयमको उकालो चढ्दै गर्दा म निकै उत्साहित थिएँ। किनभने, म २,५०० मिटरबाट बादलझैं माथि माथि चढ्दै ३,५०० मिटरबाट छिचोलिने लामजुरा पास पार गर्दै थिएँ।
तर तेन्जिङ हिलारी पदमार्गको यो खण्डमा लिखुलाई सोलुको जुनबेसीसँग जोड्ने मोटरबाटो बन्दै रहेछ धमाधम।
वन र बस्तीबीचबाट नागबेली अनि चौडा बाटो। म भने वनैवन अघि बढ्ने गोरेटोबाट उकालो लागेँ, ढलेका रूखमा फुलेका सुनाखरी हेरेर औधि रमाउँदै। अलि माथि दोयममा चार-पाँचवटा घर रहेछन्। सडक बनाउने कामदारहरू यताउता सलबलाइरहेका।
चाउचाउमा मिर्गे च्याउ उमालेर खान दिएकी शेर्पा दिदीले सडक छाडेर गोरेटो बाटो 'उँभो-उँभो' जाने सुझाव दिइन्।
मैले त्यसै गरेँ।
आधा घन्टामाथि अर्को घर भेटियो, सडक बनाउने कामदारले खचाखच भरिएको। केही युवा मोटरसाइकल लिएर गुड्न तयार थिए।
त्यहाँबाट पनि खन्दै गरिएको सडक छाडेर उँभो-उँभो वनको बाटो लागेँ स्वाँ-स्वाँ गर्दै। यहाँबाट दक्षिणतिर अलि पर, निकै माथि पिकेको चुचुरो ठडिएको छ।
समुद्र सतहबाट ३,००० मिटरभन्दा पनि माथि पुगिसकेकाले हुनुपर्छ, हावामा अक्सिजनको मात्रा घट्न थालेको अनुभव गरेँ। गोरेटो झाडी भित्र-भित्र लागेपछि अचानक जुकाको आक्रमण सुरू भयो। एक्कासि चिसो हावा चल्न थाल्यो अनि बादलले पूरै पहाड छोपिदियो।
पानी पनि दर्किन थालेपछि वातावरण झनै चिसो भयो। वनको त्यो गोरेटो अलि पर पुगेपछि अचानक हरायो। अघि बढ्दै गर्दा दुई-तीनतिर गोरेटोजस्तै रेखाहरू देखिए। एउटा पश्चिम लागेर लिखु भएतिर झर्न थाल्यो।
सोचेँ — यो बाटो त पक्कै होइन!
अर्को रेखा पूर्व लागेजस्तो लाग्यो। त्यतै लागेँ। केही बेरपछि गुराँसको वनबीच कसैले रूखहरू जल्ने गरी ठूलो आगो लगाएजस्तो देखिने ठाउँमा पुगेँ। प्लास्टिक, सिसा आदि पनि जलेको देखेँ।
सोचेँ — यस्तो वनको बीचमा पनि कसले आगो लगाएछ!
अघि बढ्दै जाँदा घना वनको बीचबाट अर्को गोरेटो उकालो लागेर दक्षिणतिर तेर्सियो। लाग्यो — यो पनि सही बाटो होइन। फरक्क फर्किएँ। फेरि त्यही आगो लगेको ठाउँमा आइपुगेँ। सुनसान र निर्जन त्यो डाँडामा भौंतारिने क्रममा भुइँमा एउटा रातो र निलो रङको प्लास्टिकको टुक्रा देखेँ।
सम्झना आयो — यो त कुनै परिचित नेपाली हेलिकोप्टरको बाहिरी भागको रङसँग मिल्दोजुल्दो छ।
अचानक सम्झना आइहाल्यो — करिब एक वर्षअघि २०२३ जुलाई ११ को बिहानै लामजुराको चिहान डाँडामा पाँच मेक्सिकी पर्यटक र नेपाली अनुभवी चालकको ज्यान जाने गरी भएको दु:खद हेलिकोप्टर दुर्घटनाको। लामजुरामा भएको त्यो दुर्घटनाको सम्झना मेरो दिमागमा ताजै थियो।
हेर्नुहोस्: मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाकै मृत्यु
मनाङ एअरको ९एन एएमभी इकुरेई (लोखर्के) हेलिकोप्टर त्यस बिहान १० बजेतिर लुक्ला नजिकै पर्ने सुर्केको खोँचबाट उडेको थियो। उडेको केही बेरपछि नै सम्पर्क विच्छेद हुन पुगेको एअरबस कम्पनीले बनाएको त्यो हेलिकोप्टर अनुभवी चालक चेतबहादुर गुरूङले उडाएका थिए। कम्पनीले हेलिकोप्टर किनेपछि उनी आफैले त्यसलाई सिंगापुरबाट उडाएर नेपाल ल्याएका थिए रे!
दुर्घटना हुँदा त्यसमा दक्षिण अमेरिकी देश मेक्सिकोबाट सगरमाथा क्षेत्र भ्रमण गर्न आएका एकै परिवारका पाँच सदस्य थिए।
लामजुरा पास लिखु र दूधकोसी नदी उपत्यकाबीच विशाल उच्चसमस्थली सरी फैलिएको छ, उभिएको छ। खुम्बु क्षेत्र प्रवेश गर्ने ढोकाका रूपमा रहेको लुक्ला आउजाउ गर्ने विमानहरू लामजुरा पास काटेपछि मात्रै थोरै ओर्लिने गर्छन्। तर लामजुरालाई बादलले ढाकेका बेला विमान चालक झुक्किन सक्छन्।
मनाङ एअरको यो हेलिकोप्टर दुर्घटनाको अनुसन्धान तत्कालै थालिएको थियो। तर नतिजा र सुझाव के आयो? अझै प्रस्ट छैन।
अहिले म ती सबै मानिस जलेको स्थानमा बाटो हराएर एक्लै भौंतारिइरहेको थिएँ। जब मैले आफू त्यस्तो भयानक दुर्घटना भएको ठाउँ वरिपरि फनफनी घुमिरहेको चाल पाएँ, म केही अत्तालिएँ।
३,५०० मिटर उचाइमा रहेको त्यो एकलास झाडी-वन क्षेत्रमा मलाई सास फेर्न झनै गाह्रो हुन थाल्यो। हेलिकोप्टर जलेको ठाउँबाट पूर्व लागेर लामो लामो सास लिन थालेँ। झोलाबाट पानीको बोतल निकालेर पानी पिएँ।
ठूलो आवाज निकालेर आफैलाई सम्झाएँ – नआत्तिनू धैर्य गर्नू केही बेरमा सही बाटो अवश्य भेटिनेछ।
अलि सहज भएपछि मोबाइल फोन निकालेँ। टावर छैन। नेट पनि चलेको छैन। एप्पल र गुगल नक्सा चल्दैनन्। म्याप मी भन्ने जहाँ गएर पनि हेर्न मिल्ने अफलाइन नक्सा खोलेँ। केही पूर्वतिर सडकको रेखा देखियो, अलि पर नुम्बुर हिमाल गेस्ट हाउस रहेको देखियो।
अब त्यतै लाग्दैछु भन्ने सोचेर अघि बढेँ। तर बाटो त झनै उकालो लाग्यो। सायद त्यो बाटो पिकेको चुचुरामा पुगिन्छ।
फरक्क फर्किएर हिँड्न थालेँ। फेरि हेलिकोप्टर जलेको ठाउँमै पो पुगेँ। फेरि फर्किएँ। बादल केही हटिसकेको थियो। त्यसैले केही परको दृश्य देखिन थाले। एउटा गोरेटो पूर्वतिर ओरालो लाग्यो। तल गाईहरू चरिरहेका देखिए। लाग्यो नजिकै कुनै गाउँ छ। एकछिन उभिएँ।
अचानक उत्तरतिर एउटा बालक कराएजस्तो आवाज आयो। लामजुराको चिहान डाँडा क्षेत्रमा हराएको करिब दुई घन्टापछि कुनै मानव आवाज सुन्दै थिएँ। त्यतै फर्किएर चिच्याएँ — 'बाबुउउउउउ।'
तर जबाफ आएन। छिटो छिटो ओर्लिएँ। लामजुरा पास काटेर जुनबेँसीतिर जाने चौडा सडक भेटियो।
बल्ल मेरो होसहवास फर्कियो। नुम्बुर हिमाल गेस्ट हाउस बाहिर टाउको छोप्ने हुडी ज्याकेट लगाएर एक्लै खेल्दै थिए पाँच वर्षीय तेन्जिङ। म सँगै आलुबखडा र आँप खान पाएर ऊ निकै खुसी भयो।
लामजुरा पासमाथि बनेको बाटोमा एउटा मोटरसाइकल गुडेको हेरेँ। केही बेरमा बोलेरो जिप पनि आयो।
म जाने बेला तेन्जिङ खिन्न देखियो। भनिरह्यो, 'एकछिन बस्नू न। दिदीहरू आइहाल्नु हुन्छ।'
दिउँसोको तीन बजिसकेको थियो।
उसलाई के थाहा मलाई अझै चार-पाँच घन्टा हिँडेर जुनबेँसी पुग्नु छ भनेर।
सानो तेन्जिङसँग विदा भएर म अब तेन्जिङ हिलारी पदमार्ग छिचोल्दै लामजुरादेखि दक्षिण ओरालो लागेँ।
लामजुराको लामो ओरालो काटेर टाक्टोर पुगेपछि ठूलो पानी दर्कियो। म छेउको ढुंगाले बनेको एकतले टहरोमा ओत लागेँ।
देखेँ — सडकदेखि अलि पारि चौरमा खेल्न व्यस्त करिब ५० जना, रातै कपडाले बेरिएका साना बौद्ध लामा केटाहरू भने खेल्न र रमाउनमा निकै व्यस्त छन्।
लाउड स्पिकरमा हिन्दी र नेपाली गीत घन्किइरहेका छन्। सायद ती 'लिटल बुद्ध' हरू वनभोजमा मस्त छन्। सिमसिम पानी परिरहे पनि मैले अघि बढ्ने निधो गरेँ। अलिपर टाक्टोर गाउँ पुगेपछि एउटा बोर्डमा सानो नक्सा कोरिएको थियो। त्यसले पिके चुचुरा र लामजुरा जाने बाटो यहीँबाट छुट्टिने संकेत गर्यो।
ओरालोमा बसेको टाक्टोर गाउँको फेदमा ढुंगाको सानो घरबाट धुँवा आइरहेको थियो। ढोकैमा उभिएका एक शेर्पा दाइले चिया खाएर जान अनुरोध गरे। म रोकिएँ। भित्र गएर आगो बलिरहेको चुलोछेउ बसेँ। अर्को छेउमा फुर्वाडेन्डीकी आमा थिइन्। घरको सबै भित्ता र भित्री छाना वर्षौंदेखिको धुवाँले पूरै कालो भएको रहेछ।
ढोकाछेउको कुर्सीमा दुई जना आराम गर्दै थिए, एक किशोर र अर्का युवा। युवा चाहिँ कोदोको रक्सी पिउन व्यस्त। मलाई भित्र बोलाउने फुर्वाडेन्डी शेर्पा चौंरी किसान रहेछन्। माथि लामजुराको लेकमा रहेको गोठबाट दूध ल्याएर बेच्न व्यस्त रहने।
चौंरीको दूध हालेको तातो चियाले लामजुराको जाडो बिर्साइदियो। कुरा गर्दै जाँदा आमा कान्छी शेर्पाले आफू ८१ वर्षकी भएको र सन् १९५३ मा तेन्जिङ र हिलारीको टोली सगरमाथा आरोहण गर्न यही बाटो हिँडेर आउँदा आफू १० वर्षकी भएको बताइन्।
त्यति बेला भक्तपुरबाट जिरी हुँदै सोलु आएको भरियाको टोलीमा आफूले पनि भारी बोकेको स्मरण गरिन्।
'त्यो बेला मैले पनि भारी बोकेको थिएँ। यहाँदेखि नाम्चेसम्म भारी बोकेको ५० रूपैयाँ पाएको थिएँ। फेरि पछि उनीहरू फर्किने बेला यहाँबाट खाडीचौरसम्म भारी बोकेर अर्को ५० रूपैयाँ कमाएको थिएँ।'
बितेको ७१ वर्षपछि सोलुखुम्बु धेरै बदलिएको उनले देखेकी छन्। भनिन्, 'पहिलेभन्दा अहिले यो ठाउँ धेरै फेरियो। यसरी नयाँ बाटो पनि बन्यो। जे भन्यो त्यही यहीँ दैलोसम्मै आइपुग्छ।'
तेन्जिङ हिलारीको आरोहण टोलीका एक मात्र जीवित शेर्पा आरोही ९२ वर्षीय कान्छा शेर्पा पर नुनथला, बुप्सा, लुक्लादेखि माथी खुम्बुको नाम्चे बजारमा बस्छन्। म भने टाक्टोरको सानो घरमा त्यो आरोहण टोलीका लागि भारी बोक्ने सहयोग गर्ने कान्छी शेर्पा आमालाई भेटेर औधि रमाएँ।
जुनबेँसी जान ओरालो लाग्दा अघि माथि वनभोजमा रमाइरहेका लामा किशोरहरू भेटिए। उनीहरू पनि जुनबेँसीमा रहेको आफ्नो गुम्बामा फर्किन लागेका रहेछन्। सबैको हातहातमा मोबाइल फोन थियो।
निमा शेर्पा नाम गरेका एक लामा किशोरले फुर्सदको बेला मोबाइलमा चलचित्रहरू हेर्ने गरेको बताए। कुरै कुरामा उनको एउटा प्रश्नले मलाई अप्ठ्यारोमा पारिदियो — 'नेपालीभन्दा विदेशी चलचित्र किन झन् राम्रा हुन्छन्?'
जबाफ सहज थिएन। भनिदिएँ – सायद उनीहरूले धेरै पहिलादेखि चलचित्र बनाउन थालेकाले होला।
छुट्टिने बेला मैले उनलाई सन् १९९३ मा बर्नार्दो बेर्तोलुसीले निर्देशन गरेको एक लामाको पुनर्जन्मबारेको कथा समेटिएको 'लिटल बुद्ध' नामक अंग्रेजी चलचित्र हेर्ने सुझाव दिएँ।
त्यसमा भुटानको एक गुम्बामा लामाहरू आफ्ना स्वर्गीय गुरू लामा दोर्जेको नयाँ अवतारका रूपमा जन्मिएका अमेरिकी बालक जेसी कोनराडलाई भेट्न सियाटल सहर पुगेको नाटकीय दृश्य देखाइएको छ।
त्यो चलचित्रको फिल्मिङ काठमाडौंको बौद्ध चैत्य परिसरमा गरिएको थिएँ। त्यति बेला म स्कुले किशोर थिएँ।
भण्डारदेखि लिखुपिके हुँदै लामजुरामा हराउँदै जुनबेँसी पुगेको शरीरलाई आरामका लागि प्रशस्त निन्द्रा चाहिएको थियो। त्यसको व्यवस्था एउटा ठूलो अनि सुविधायुक्त होटलमा भइहाल्यो।
जुनबेँसीबाट जिप चढेर बिहानै फाप्लु पुगेपछि सुरू भयो सल्लेरी बजारतर्फको पदयात्रा। लामो सडक अनि किनारमा घरैघर घरैपिच्छे दोकान। दोकानबाहिर सबैजसो युवायुवतीहरू मोबाइल फोन हेर्दै घोप्टो परिरहेका।
फर्किँदा पूर्व बिबिसी सहकर्मी सुजाता तामाङ बाटोमै भेटिइन्। अचानक मलाई सोलु सल्लेरी बजारमा देखेर अचम्ममा परिन्।
'अनि एक्लै आउनुभएको?'
'हो, तेन्जिङ हिलारी हिँडेको लामजुराको बाटो हिँडेर आएको।'
'अनि पिके र दूधकुण्ड पुग्नु भएन?'
'अब अर्कोपटक आउँदा जानुपर्ला।'
फर्किँदा फाप्लु बजारमा किराना दोकान गर्ने कार्की दाइको घरमा बासको पनि सुविधा रहेछ। पसलमा सोलुका रङिन सिमीदेखि चौंरीको चिजसम्म पाइने। भोलिपल्ट फाप्लुबाट काठमाडौँ जाने 'सुपर बस' तीन बजे नै गुड्ने सुन्दा थोरै आत्तिएँ।
नभन्दै चालक बिहान तीन बजे दैलोमै आइपुगे। आँखा मिच्दै बस चढ्नु र सिटमै निदाउन प्रयास गर्नुको विकल्प थिएन। तर फाप्लुबाट घुमाउरा सडकमा गुड्न थालेको बसमा निदाउन त के आरामले अडिएर बस्न पनि मुस्किल।
घुमाउरो र उकालो-ओरालो भए पनि सोलु केही वर्षयता मध्यपहाडी र अन्य राजमार्गसँग जोडिएपछि सगरमाथा क्षेत्र बाँकी नेपालसँग सडकमार्गबाट पनि जोडिन पुगेको छ। सोलु आइपुगेको बाटोलाई माथि खुम्बु क्षेत्र लैजाने योजना जीवितै छ। लुक्ला जाने बाटोमा पर्ने थामडाँडासम्म पाँच वर्षअघि नै पुगिसकेको सडक भौगोलिक कठिनाइका कारण हुनसक्छ, उत्तरतिर तन्किन सकेको छैन।
फाप्लुबाट सल्लेरी झर्दै पत्ताले उक्लिन थालेको बाटो ३०० किलोमिटर पर काठमाडौं जाँदैछ। त्यो दुरी पार गर्न कम्तिमा ९ घन्टा लाग्छ। घुमाउरो उकालोपछि हाम्रो बस बाक्लो कुहिरोले ढाकेको घुमाउरो ओरालोमा गुड्न थाल्छ, त्यो पनि निकै बत्तिँदै। म थोरै आत्तिन्छु र चालकलाई बिस्तारै चलाउन अनुरोध गर्छु।
मेरो पछाडिको सिटमा राई वा लिम्बूजस्तै देखिने लामो कपाल पालेको एक युवक निदाउने कोसिस गर्दैछ। आँखा खोलेर मुस्कुरायो। तर उसले मेरो नेपाली बुझेन। किनभने ऊ मलेसियाबाट आएको एक्लो यात्री रहेछ। म जस्तै।
लाङटाङ पदयात्रा सकेर सगरमाथा आधार शिविर जान भन्दै फाप्लुबाट केही घन्टामाथि पर्ने टाक्सिन्दु पुगेपछि कसैले एड्रिएल हो लाई मनसुनका १०० दिन सकिएपछि, बादल र कुहिरो पूरै हटेपछि मात्र फर्किने सल्लाह दिएछ। उसले त्यसै गरेछ।
मैले यो लेख्दै गर्दा ऊ नेपालबाट मध्य एसियाली देश काजखस्तान गएर त्यहाँका पर्वतमा पदयात्रा गरेर फेरि टर्की पुगिसकेको छ। थाहा छैन अब ऊ कहिले नेपाल फर्किएला र सगरमाथा क्षेत्र जाला।
इन्स्टाग्राममा च्याट गर्दै भन्छ, 'अवश्य आउनेछु, छिट्टै सायद।'
***