दोलखाको विगु गाउँपालिकामा अवस्थित थोबो डाँडा (१२ सय पल्टन) ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको स्थल हो।
विक्रम सम्वत् १२१८ मा रमणीय स्थानले नेपाली र तिब्बती सेनाहरूबीचको भिडन्तको साक्षी दिन्छ यस ठाउँले।
यस ठाउँमा नेपाली सेनाले १२ सय वटा ढुङ्गालाई एकै रातमा सेनाको स्वरूप दिने गरी ठड्याएका थिए। इतिहासलाई पर्यटनसँग समाहित गर्ने गन्तव्यको रूपमा, थोबो डाँडा (१२ सय पल्टन) ले आन्तरिक तथा बाह्य पर्यटकलाई तान्न सक्छ।
मनमोहक दृश्य अनि ऐतिहासिक सम्पदाको खोजी गर्ने अवसर मैले धेरै पटक खोजिरहेको थिएँ। यहाँको यात्राले मलाई कुनै समय यस ठाउँमा खेलेको सैन्य अभ्यासहरूको विरासत अन्वेषण गर्दै यसको पुरातन ढुङ्गाभित्र लुकेका रहस्यहरू खोल्न र नेपाली इतिहासमा यस निर्णायक क्षणको स्थायी प्रभाव पत्ता लगाउन थोबो डाँडाको यात्रा आवश्यक रहेको ठानेको थिएँ।
यस ठाउँ ऐतिहासिक अनि पर्यटकीय स्थलको रूपमा रहेको मैले पटक पटक सुनेको थिएँ। तर विविध कारणले यहाँ पुग्न जुरेको थिएन।
यस ठाउँमा साँच्चिकै नेपाली सेनाद्वारा खडा गरिएका प्रसिद्ध १२ सय वटा ढुङ्गाहरू बाहेक, थोबो डाँडाको अन्वेषणको लागि पर्खिरहेका ऐतिहासिक स्थलहरूको बारेमा पनि थप भ्रमण गर्ने सोचमा थिएँ।
प्रत्येक स्थानको आफ्नै महत्व छ, इतिहासमा नेपाली सेनाले पुर्याएको योगदानलाई सम्झिरहन मन लाग्छ। त्यसैले यस ठाउँको इतिहास र सौन्दर्यको मन्त्रमुग्ध मिश्रण थोबो डाँडामा टेक्नलाई मैले ४ दिनको समय तय गरेँ।
यिनै इतिहासलाई पछ्याउनको लागि पत्रकार अर्जुन तामाङ र म त्यसतर्फ हुइँकियौं।
चरिकोटबाट गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका याङटी शेर्पाले कफीले स्वागत गर्नुभयो सिंगटी बजारमा। समयले नेटो काटिसकेको थियो। त्यसैले हतार हतार कफी पिएपछि बुलुङतर्फ लाग्यौं। उनले हामीलाई विगु गाउँपालिका–३ बुलुङका वडा अध्यक्ष ढाल बहादुर तामाङको घरमा लगे। वडा अध्यक्षलाई हामी आउने जानकारी गराइसकिएको थियो। उहाँको घरमा पुग्दा राति साढे आठ बजे होला। आगोमा पकाएको कोदोको ढिडो र सुकुटीको तरकारी स्वादले खायौं। खानपिनपछि उहाँसँग थोबो डाँडाबारे केही ऐतिहासिक पाटो खोतल्ने प्रयास भयो।
उहाँले हामीलाई बाटो देखाउन लोर्के तामाङलाई भन्नुभएको रहेछ। हामीलाई बाटो देखाउन वडा अध्यक्ष पनि जाने योजना थियो। तर उहाँलाई केही हप्ताअघि मात्र डेंगीले थलो पारेपछि हिँड्न नसक्ने हुनुभएछ। त्यसैले थोबो डाँडाको बारेमा बुझाउन लोर्के दाइ हामीलाई साथ दिन तयार हुनुभयो।
३ दिनलाई चाहिने ड्राइ फुड, बन्दोबस्तीको सामानले गर्दा भारी थियो मेरो झोला। लोर्के दाइको घरमा पुग्दा हाम्रो पर्खाइमा हुनुहुन्थ्यो। भैंसीको बाक्लो मोही पिएपछि उकालो लाग्यौं। लोर्के दाइले खानेकुरा, दाउरा, पानीको ग्यालिन र टेण्ट बोक्नु भयो। लोर्के दाइले उकालो काट्नलाई बेला बेलामा मिठो जोक्स सुनाउनु हुन्थ्यो। उहाँलाई यस भेगका डाँडाकाँडा र भिरपाखा मात्र होइन, पाइला पाइलामा रहेका ढुंगा, माटो, वनजंगलको बारेमा समेत मसिनो जानकारी प्राप्त व्यक्ति हुनुहुन्थ्यो।
हाम्रो लागि उहाँले मकैको सातु, मोही र कोदोको तीनपाने पनि बोक्नु भएको रहेछ। बेला बेलामा हिउँद, वर्षामा चौंरी, भेंडीगोठ भएको ठाउँमै थकाइ मारिन्थ्यो। उकालोमा पानी नपाइने भएकाले आधा घण्टा टाढा हिँडेर हामीलाई पानी खुवाउनु भयो।
बिहान ७ बजे बुलुङबाट हिँडेपछि गङनाम्सा, धोर्जा नाम्सा, बुलुङखानी, पोमडाँडा हुँदै खास्टर बासमा पुग्दा बेलुकीको ५ बजेको थियो।
बर्खामा चौरी गोठ राख्ने खर्कमा हाम्रो बास भयो। बासको व्यवस्था गर्दागर्दै बेलुकी पखको गौरीशंकरको दृश्यले मन लोभ्यायो। बादलसँग लुकामारी गर्दै गौरीशंकरले हामीलाई घण्टौंसम्म जिस्काइरह्यो। जति जति अघि बढ्यो उत्ति नै नयाँ नयाँ दृश्यले मेरो ध्यान तानिरहन्थ्यो। साथमा क्यामेरा भएपछि जे देखे पनि खिचूँ खिचूँ लाग्ने। पाइला पाइलामा नयाँ दृश्यले मन थाम्नै नसक्ने। हिउँद नलाग्दै हिउँ, फुल्न लागेका गुराँस अनि मग्मगाउने सुनपाती धुपीले शरीर र मनलाई आनन्द र शितल तुलाउँथे। चराको चिरबिर चिरबिर आवाजले हिँड्नलाई बल पुग्थ्यो। आँखै अगाडि टल्किने सेताम्मे हिमालले त्यसैतर्फ मन, क्यामेरा तानिरहन्थ्यो। कतिपय ठाउँमा भने आँखाले भन्दा खुट्टालाई उकालो थाहा हुन्थ्यो। उकालोमा पाइला अघि होइन पछि सथ्र्यो। तर कतिबेला थोबो डाँडा पुगेला भन्ने उत्साहले जबरजस्ती अघि बढिरह्यौं। बाटोमा बाटो मात्र होइन। सयौं वर्षअघि च्छोदोर्मो म्हेमेले निर्माण गरिएका लहरे माने र गुम्बाको अवशेषले पनि यस स्थान ऐतिहासिक सावित हुँदै गएको रहेछ। ठाउँ ठाउँमा भेटिएका र देखिएका प्राकृतिक सम्पदाले पनि यस स्थान महत्वपूर्ण र पवित्र महसुस हुन्थ्यो।
खास्टरबाट ठूलाठूला भीरपाखा, डाँडाकाँडा छिचोल्दै साढे ३ घण्टाको हिँडाइपछि थोबो डाँडा पुग्यौं। ४१०० मिटर उचाइमा अवस्थित थोबो डाँडामा अहिले नै हिउँले ढाकिएको छ।
दृश्यावलोकन र फोटो खिच्ने धुनमा उकालो ओरालो पनि सम्मै हुन थाल्यो। यहाँको दृश्यले मलाई क्षणभरमै मोहनी लगायो। छुट्नै गाह्रो भयो। साँच्चिकै १२ सय पल्टनहरू जीवित नै रहेको महसुस गरेँ।
त्यहाँ ठडिएका ती ढुंगाहरू नेपाली सेनाहरू नै हुन् जस्तो लाग्यो। प्राण मात्र नभएका तर वीर नेपाली सेना नै हुन् कि भन्ने भान भयो।
तिब्बती सेनासँग लडाइँ लड्न अहिले पनि तयारी अवस्थामा हो जस्तै भान हुन्थ्यो। यस ठाउँको लिखित रूपमा इतिहास कहीँकतै भेटिँदैन। इतिहासलाई जीवित पार्नको लागि त्यसबेला यहाँ ठडाएका ढुंगाहरू नै इतिहास थियो। जिउँदो इतिहास जस्तै लाग्यो। यहाँको अवलोकनपछि नजिकै रहेको च्छोदर पोखरी घुम्यौं। करिब एक घण्टाको हिँडाइपछि च्छोदोर्मो म्हेमेको नामले परिचित च्छोदर पोखरी पुग्यौं। हिउँद, बर्खायाममा न सुक्छ न बढ्छ यो पोखरी। धार्मिक र ऐतिहासिक पोखरी मानिन्छ च्छोदर पोखरी। अझ तामाङहरूको पाख्रिन थरको च्छोदोर्मो म्हेमेको इतिहाससँग जोडिएको मानिन्छ यस पोखरी।
यसले ऐतिहासिक र पर्यटकीय गन्तव्यको रूपमा निकै महत्वपूर्ण मान्न सकिन्छ।
तस्बिरहरू: