गलामा माला, रातो टिका अनि पञ्चे बाजाको धन्की रहेका थिए । विभिन्न असारे भाकामा नाच्नेहरुको पनि कमि थिएन । पर्यटकलाई हिलोमा रमाईरहेका थिए। पोखरा महानगरपालिका २४ पामे फाँटमा। विगत वर्षमा जस्तै यस पटक पनि पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरामा रोपाई महोत्सव भयो। हरेक वर्ष फरक–फरक ठाउँमा गरिदै आएको छ ।
खेतको आलीमा बसेका बाउसे र रोपाहारको गीतमा मग्न हुँदै पर्यटक हिलोमा छ्यापाछ्प गरेका थि । विदेशी पर्यटक हिलोले चिन्नै नसक्ने भए। विगतका महोत्सवमा भन्दा यस विदेशी पर्यटकको संख्या धेरै थियो । असारे रोपाई महोत्सवको हिलो खल्ने विभिन्न देशका पर्यटकलाई तछाड्मछाड् थियो। ‘पोखरा सबै मौसमका लागि’, भन्ने नारा सहित १५ असारे महोत्सव स्वदेशीदेखि विदेशीहरुका लागि आयोजना गरिएको गाउँ पर्यटन मञ्चका अध्यक्ष रविन्द्र राज पौडेलले बताए ।
मानो रोपेर मुरी उब्जाउने दिन सबै किसानहरु खेतमा धान रोप्न व्यस्त । अझ त्यसमा पनि धान दिवस । तर पोखरेली पर्यटकर्मी भने कृषि पर्यटनसँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा व्यस्त बने । पर्यटक हिले दौड, रोपाई प्रतियोगिता, रसितान्ने प्रयोगिता, हिलोमा माछा समाउने प्रतियोगितामा भाग लिदै रोपाइ महोत्सव हेर्न गएकाहरु पनि रमाए । विदेशी पर्यटकहरुले नेपालको नाम सुने पनि असारे रोपाईको बारेमा जानकारी नभएको तर प्रत्यक्ष हेर्न पाउदाँ भने खुशी लागेको बताए ।
खेतको आलीमा बसेरकाहरुलाई हिलो छ्याप्दा छेउमा वस्नेहरु भागदौड गर्दा बातावरण निकै रमाइलो बनेको थियो । सहरी क्षेत्रमा रहेका खेती योग्य जग्गा प्लटिङ गरेर घडेरीमा परिणत भएपछि असारको महत्व हराउने होकी भन्ने चिन्ता कार्यक्रममा सबैले व्यक्त गरे । असार १५ मा रोपेको धानको महत्व अन्य भन्दा भिन्न भएको धार्मिक मान्यता छ । असार १५ मा नै रोपेका धानलाई पुजामा प्रयोग हुने आर्चाय गंगाधर उपाध्यले बताए ।
कास्कीमा जेठो बुढो, मनसुली, गुर्दी, बतीसरा, तौली लगायतका पुराना जातका धानका साथै, राधा ७, राधा नौ, सावित्री लगायतका विकासे धानहरु लगाइन्छ । नेपालभर धानका करिब एक हजार जातका धान लगाउने गरिन्छ । हालसम्म नेपालमा ३८ प्रकारका वैज्ञानिक धान लगाउने गरेकोमा कास्कीमा १० प्रकारका वैज्ञानिक धान लगाउने गरिएको जिल्ला कृषि कार्यालयले जानकारी दिएको छ । कास्कीमा २६ हजार सात सय हेक्टर जमिनमा धान खेती हुने गरेकोमा बर्सेनि ८० हजार मेट्रिक टन भन्दा बढी धान उत्पादन हुने गरेको छ । कास्कीमा अहिले सम्म २० प्रतिशत रोपाई सकिसकेको छ ।