गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल यतिबेला चुनावी माहोलमा होमिएको छ।
आगामी चैत २० गते काठमाडौंमा हुने साधारण सभाबाट भिटोफले नयाँ नेतृत्व पाउने भएको छ।
यसका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरू भइसकेको छ। हालसम्म भिटोफका वर्तमान प्रथम उपाध्यक्ष दिपक दाहाल, महासचिव जस्फा पाण्डे, पूर्व सहसचिव कृष्णबहादुर सुवेदी र पूर्व महासचिव राजकुमार थापाले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।
सबैले आ-आफ्नो दाबीदारे प्रस्तुत गरिरहेका छन्। यसमध्ये पूर्व महासचिव थापा केही बलिया देखिएका छन्। ग्रामीण विकास र व्यवस्थापनमा स्नातकोत्तर गरेका थापा ग्रामीण पर्यटन बुझेका अगुवा पर्यटकर्मी हुन्।
विगत २५ वर्षदेखि नेपाली पर्यटन क्षेत्रमा क्रियाशील थापा चित्रबहादुर गुरूङ अध्यक्ष रहेको भिटोफ कार्यसमितिमा महासचिव रहेर काम गरिसकेका छन्।
उनकै कार्यकालमा लुकेर रहेका मुलुकका विभिन्न पर्यटकीय क्षेत्रलाई उजार गर्दै भिटोफलाई पर्यटन उद्योगमा स्थापित गराएको थियो।
विभिन्न संघसंस्थामा सक्रिय थापा सामाजिक अगुवा पनि हुन्। उनले काठमाडौंमा एवान एक्सकर्सन एडभेन्चर टुर्स एन्ड ट्राभल्स चलाउँदै आएका छन्।
कोरोनाले थलिएको नेपालको ग्रामिण पर्यटनलाई यथास्थितिमा फर्काउन आफू लागि परेको भन्दै भिटोफको नेतृत्वले यसलाई अझ सहज बनाउनेमा उनी आशावादी छन्।
भिटोफलाई आउँदो दिनमा सशक्त रुपमा अगाडि बढाउनकै लागि आफ्नो उम्मेद्वारी भएक दाबी गर्दै थापाले अबको भिटोफलाई सबै नेपालीले अपनत्व फील गर्ने बताए। ‘दूरदराजसम्म पुगेर हामीले आफ्नो उपस्थिति देखाउनुपर्छ। नेपालको ग्रामीण पर्यटनलाई विश्वभर चिनाउने हाम्रो अभियान बन्नुपर्दछ। यिनै अभियानको लागि म भिटोफको अध्यक्षमा उम्मेदवार हुँदैछु’, उनले भने।
उनले आफू संस्थामा पूर्व-महासचिव हुँदा रहेका अधुरा काम पूरा गर्दै भावी कार्ययोजना बनाई आन्तरिक तथा बाह्य बजार प्रवर्द्धन गर्नका लागि पुनः कमिटिमा आउन लागेको बताए। ‘संस्कृति, भेषभूषा, खानपान जसअन्तर्गत घरबास र गाउँलाई आवश्यक पर्ने तालिम तथा प्रशिक्षण कार्यक्रम दिलाउन सहज भूमिका खेल्नुका साथै आफ्नो अनुभवलाई उपयुक्त ठाउँमा प्रयोग गरी गाउँ पर्यटनको विकासमा सदैव क्रियाशील रहने नै मेरो कार्यकाल केन्द्रित हुनेछ’, उनले भने।
उनले कोभिड–१९ का कारण जर्जर अवस्थामा पुगेको गाउँ पर्यटनलाई फेरि लयमा फर्काउने आफ्ने पहिलो काम हुने बताए। ‘कोरोनाले यो, त्यो क्षेत्र मात्र होइन सबै क्षेत्र धरासायी बनायो, केही उठ्ने क्रममा छन् भने केही अझै धरासायी अवस्थामै रहेको छ, त्यसमध्येको गाउँ पर्यटन पनि एक हो । त्यसैले गाउँ पर्यटनलाई चलायमान बनाएर पुरानै अवस्था वा त्यो भन्दामाथि पुर्याउनु जरूरी छ,’ उनले भने।
थापाका चुनावी ऐजेन्डाः१. काठमाडौंमा केन्द्रीय कार्यालय रहेको भिटोफ नेपालको गण्डकी प्रदेशमा मात्र शाखा छ। अब बाँकी ६ वटै प्रदेशमा शाखा विस्तार गरिनेछ।
२. भिटोफका नियमित कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै दुई वर्षे कार्यकालमा मुलुकभित्र हरेक प्रदेशका कम्तिमा दुई–दुई वटा गाउँलाई नयाँ पर्यटन गन्तव्यका रुपमा विकास गरिनेछ।
३. हाल गाउँ पर्यटनले मार्केटिङको समस्या झेलिरहेको छ। पर्यटक र गाउँलेबीच पूलको काम गर्न डिजिटल मार्केटिङमा जोड दिइनेछ। भिटोफलाई पनि डिजिटलाइज्ड गरिनेछ।
४. पर्यटन गाउँहरुमा आबश्यक तालिम सञ्चालन गरिनेछ। साथै नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर पर्यटन गतिविधिमा जोड दिइनेछ।
५. भिटोफ नेपालको कार्यालयलाई व्यवस्थित बनाइनेछ। साथै भिटोफमा देखिएका समस्या र चुनौतिको सामना गरिनेछ।
भिटोफ नेपालमा हाल झण्डै आठ सय जना सदस्य छन्। यसको शाखा पोखरामा पनि रहेको छ। भिटोफले मुख्यतया नेपाल पर्यटन बोर्डको सहकार्यमा गाउँ-गाउँमा ओझेलमा रहेका तर सम्भावना बोकेका स्थानको प्रवर्द्धनको काम गर्दै आएको छ। नेपालमा पर्यटन क्षेत्रमा भिटोफले बेग्लै नाम र पहिचान बनाएको छ।