मनको इच्छा पुर्याइदिने म्याग्दीको प्रख्यात मालिका मन्दिरको काखमा थुपुक्क बसेको दुखु गाउँमा मगर समुदायको परम्परागत संस्कृतिले पुर्नजीवन पाएको छ। माओवादी द्वन्दका बेला लोप भएको पुख्र्यौली नाचलाई गाउँलेले पुर्नजीवन दिएका हुन्। अचेल उनीहरूले संगठित रुपमा नाचगान गर्न थालेका छन् ।
संस्कृति संरक्षण गर्न गाउँलेले देवबहादुर रोकाको संयोजकत्वमा ‘पुख्र्यौली नाच संरक्षण समिति’ गठन गरेका छन्।
समितिमा आबद्ध भएर मनपुरे रोका, मनप्रसाद रोका, हरिप्रसाद रोका, सुकदेवी रोका, लायनसेरा, टिकामाया रोका, चन्द्रकला रोका, लिलामती पाइजा, नरदेवी रोका, पुर्ण रोका, तारा रोका लगायत कलाकारले नाचगान गर्दै आएका छन्।
यसमा कलाकार टंकप्रसाद पुनले जोक्करको भूमिका निवार्ह गर्छन्।
‘दुई वर्ष भयो हामीले फेरि पुख्र्यौली नाच्न थालेको’, संयोजक देवबहादुरले भने, ‘अब बालबालिका र युवालाई पनि सिकाएर संस्कृति संरक्षण अभियान अघि बढाउँदैछौं।’
पुर्ख्यौली अर्थात सोरठी मगर समुदायको मौलिक नाच हो । उनीहरू दुःखमा पनि र सुखमा पनि नाच्छन्।
उनीहरू सुखका गीतमा गीत गाउँछन्, नाच्छन् । दुःखका बेला चाहिँ नाच्दैनन्, गाउँछन् मात्र। भूमे पूजा, विवाह, ब्रतबन्ध, भोजभतेर आदिमा पनि पुख्र्यौली नाच्छन्। विवाह र ब्रतबन्धमा रातभर नाचगान गरिन्छ। सन्दर्भअनुसार गीतको बोल फरकफरक हुन्छ। मेलापर्वमा रमाइलो गर्न चुड्का गाइन्छ।
परम्परादेखि पुरुष नै महिलाको भेषमा नाच्छन। महिलाको भेषमा नाच्ने कलाकारलाई मारुनी भनिन्छ भने मादल बजाउने पुरुषलाई मादले। नाचमा मादल र झ्याली बाजा प्रयोग गरिन्छ।
मालिकाको दर्शन गर्न उकालो लाग्दा होस् वा फर्कंदा दुखु गाउँमा पुख्र्यौली नाच अवलोकन गर्न सकिन्छ। गाउँमा सालैजो, यानिमाया, शिरफूले, ठाडी भाका लगायत गीत पनि सुन्न सकिन्छ।
वैदेशिक रोजगार र कृषि कर्ममा बाँचेको दुखु गाउँमा पर्यटनको संभावना देखिन्छ। यसलाई पर्यटन धाम बनाउने अभियानमा गाउँपालिका लागेको छ। गाउँसम्मै मोटर बाटो खुलिसकेको छ।
मालिका गाउँपालिका–६, दुखुबाट ४ घन्टा उकालो हिँडेमा मालिका मन्दिर पुगिन्छ। खाना र बासका लागि दुखुकी बोममाया रोकाको ‘शिशिर बसञ्त पसल’मा सुविधा छ। त्यहाँ ६ जनासम्म बास बस्न सक्छन्।
संस्कृति संरक्षणमा जोडश्रीप्रसाद रोका
अध्यक्ष, मालिका गाउँपालिका
हामी समग्र मालिका गाउँपालिकालाई पर्यटन केन्द्रका रुपमा विकास गर्दैछौं। मालिकादेवी त हाम्रो प्रमुख आकर्षण नै हो। हामीले प्रकृति र संस्कृतिको संयोजन गर्दै पर्यटनका काम गरिरहेका छौं। त्यसैले मौलिक संस्कृति संरक्षणमा लाग्नेहरूको उत्साह बढाउने काममा हातेमालो गरिरहेका छौं।
सम्पर्कः देवबहादुर रोका–९८६९२९७५६७
छकप्रसाद पाइजा–९८६७६४५३३८