तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ५ मा अवस्थित ‘आँधिमूल’ मन्दिर पर्यटकीय गन्तव्य बन्दै गएको छ।
गाउँपालिकाले मन्दिर आसपासमा विकास निर्माणको कार्य थालेपछि यस क्षेत्र अहिले पर्यटन आकर्षणको केन्द्र बनेको छ।
आँधिमूल मन्दिरको दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको पाइन्छ।
आँधिमूल स्थल रमणीय भएकोले पूजाअर्चनाका साथै वनभोजका लागि मानिसहरू टाढा-टाढादेखि आउने गर्छन्।
यो मन्दिरमा साउन महिना र औंसी बाहेकका सबै दिनमा पूजा लाग्ने गर्छ। आँधिमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बली दिने प्रचलन पनि रहेको छ। त्यसैले पनि मनोकांक्षा पूरा हुने अपेक्षासहित मानिसहरू टाढा-टाढाबाट आउने गरेको स्थानीय बताउँछन्।
आँधिमूल मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा घेराबार योजना अन्तर्गत १५ लाख रुपैयाँ विनियोजन गरेको थियो।
यस्तै, तीन लाख रुपैयाँको लागतमा ट्रष्ट निर्माण गरिएको छ। गाउँपालिकाका प्रमुख गिरबहादुर थापाले मन्दिरसम्मको पहुँचलाई सहज बनाउन पृथ्वी राजमार्गको सत्रसयदेखि आँधिमूलसम्मको सडकलाई कालोपत्रे गर्न बजेट विनियोजन भइसकेको बताए।
पृथ्वी राजमार्गको सत्र सयदेखि करिब एक घण्टा पैदलमार्ग हुँदै पुग्न सकिने उक्त ठाउँमा सवारी साधनमार्फत १५ मिनेटमा नै पुग्न सकिन्छ। विशेषगरी सार्वजनिक बिदाको दिन पर्यटकहरू घुम्न र वनभोजका लागि आउने गर्छन्।