अमेरिकामा रहेका झापाली तथा नेपालीलाई आपत विपतमा सहयोग गर्ने, एक आपसमा सहयोग आदानप्रदान गर्ने, आफ्नो जन्मभूमि र देशको विकासमा सहयोग पुर्याउने उदेश्यका साथ अमेरिकाको टेक्सासमा रहेका झापालीहरु संगठित भएका छन्। २ महिना अगाडि टेक्सासको यूलेसमा भव्य बनभोज कार्यक्रमको आयोजना गरिएको थियो।
झापाली समाज अमेरिकाको औपचारिक घोषणा गर्दै समाजलाई वैधानिक प्रक्रिया पूरा गरेर साधारण सभा गर्न एक तदर्थ समितिसमेत बनाइएको छ।
केही दिन अगाडि डा. पर्शुराम दाहालको अध्यक्षतामा बनेको तदर्थ समितिको उपाध्यक्षमा मिना कोइराला , महासचिवमा विप्लव क्षेत्री, सचिवमा भुपाल कट्टेल, कोषाध्यक्षमा दीपक भट्टराईलगायत ११ सदस्यीय समिति गठन गरिएको छ।
तदर्थ समितिले ८ जना झापाली अंग्रेजहरू रहेको सल्लाहकार समितिसमेत चयन गरेको छ। वनभोज कार्यक्रममा इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष तारा भुसाल, प्रवासी नेपाली मञ्च (ओएनअफ) का उपाध्यक्ष यमुना भट्टराई लगायत टेक्सासका विभिन्न क्षेत्रमा रहेका झापालीहरुको सहभागिता रहेको थियो। तदर्थ समिती घोषणा पछि सम्पूर्ण झापाली अंग्रजहरूले सफलताको शुभकामनासँगै आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने वचन दिएका थिए।
अमेरिकाको टेक्सास राज्यमा सयौंको संख्यामा झापालीहरू भए पनि एकताबद्ध हुन पहिलोपटक बनभोजसँगै झापाली समाज निर्माण गर्ने निर्णय भएको हो।