१४ वर्षअघि हातमा ‘डायस्पोरा साहित्य’ सम्बन्धि एउटा कार्यपत्र बोकेर छिरेको एउटा नेपाली ठिटोले यति मात्र कल्पना र कामना गरेका थियो, अमेरिकामा ढुक्कले बस्न र पढ्न पाइयोस्! छिर्नुअघिसम्म त बस्ने/नबस्ने टुंगोमै थिएन।
अमेरिका अवसरको स्वर्णभूमि हो भन्ने त उसलाई थाहा थियो, तर अवसरचाहिँ के-कस्ता हुन्छन् भन्ने थाहा थिएन। केही वर्षको संघर्षपश्चात् उसको कामना पुरा भयो। पढ्न मन लागेको विषय होइन, प्रतिष्ठित जोन हप्किन्स विश्वविद्यालयमा पढ्न पायो।
र, नसोचेको यो पनि पायो, राजनीति गर्न।
राजनीतिको मुख्य उद्देश्य हो, नेतृत्व गर्नु। त्यसका लागि छानिनु आवश्यक छ। छानिने अनेक प्रक्रियामध्ये एक हो, चुनाव। चुनावको रोचक पक्ष भनेकै विपक्षीसँग भिड्ने ठूलो मैदानमा पुग्नुअघि ‘आफ्ना’ हरुलाई पछार्नु।
१४ वर्षअघि अमेरिका छिरेको त्यही ठिटो अर्थात्, एचबी ह्यारी भण्डारीले नोभेम्बर महिनामा हुने अन्तिम प्रतिष्पर्धाका लागि आफूलाई तयार पार्न सफल भएका छन्। जुनबेला उनले विपक्षी पार्टीका उमेदवारसँग भिड्नुपर्नेछ।
उनले मेरिल्यान्ड राज्यको ‘हाउस अफ डेलिगेट्स, डिस्ट्रिक्ट ८’को प्रारम्भिक चुनाव जितेका हुन्। यो डेमोक्र्याटिक पार्टीभित्रको चुनाव हो, जसमा ह्यारीसहित चार जना भिडेका थिए। चारमध्ये सबैभन्दा कम भोट ल्याउने एक जना बाहिरिनुपथ्र्यो, पाँच हजार सात सय ६५ मत पाएर ह्यारीले आफूलाई दोस्रो नम्बरमै सुरक्षित गराए।
ह्यारीको यो दोस्रो प्रयास हो, यसअघि सन् २०१४ मै उनले प्रारम्भिक चुनाव लडेका थिए। ६ जना उमेदवारमध्ये उनी चौथो नम्बरमा परे र बाहिरिए। यसपटक प्रारम्भिक चुनाव मात्र हैन, डेमोक्र्याटिक पार्टीको केन्द्रिय सदस्य पदमा पनि उनी विजयी भएका छन्।
यसरी प्रारम्भिक चुनाव जित्ने उनी नेपाली मूलका दोस्रा व्यक्ति हुन्। यसअघि, ह्यारीले पहिलो चुनाव लडेकै वर्ष, सोही पार्टीबाट अमृता रेग्मीले ‘जर्जिया हाउस अफ रेप्रेजेन्टेटिभ्स डिस्ट्रिक्ट १५’ को प्रारम्भिक चुनाव जितेकी थिइन्। तर, अन्तिम प्रतिष्पर्धामा रेग्मी रिपब्लिकन पार्टीबाट पराजित भइन्।
उतिबेला हारे पनि, यतिबेला ह्यारी त्यस्तो मैदानमा छन्, जुन खेल जितेको खण्डमा ह्यारी अहिलेसम्मकै ठूलो प्रतिष्पर्धा जित्ने ‘पहिलो नेपाली’ हुनेछन्।
त्यो 'पहिलो नेपाली' बन्नेमा पनि उनी ढुक्क छन्।
कसरी?
'तुलनात्मक रुपमा हेर्ने हो भने नेपालीहरुले जहाँबाट चुनाव लड्नुभएको थियो, त्यहाँ उहाँहरु हार्नुको कारण रिपब्लिकनको बलियो पकड भएको क्षेत्र हाे', उनी भन्छन्, 'विगतका इतिहास हेर्ने हो भने हामी डेमोक्र्याटको बलियो पकड भएको ठाउँमा छौं। त्यसैले म ढुक्क छु।'
पहिले, प्रारम्भिक चुनाव जितेपछिको अनुभव सुनौं!
‘लामो उकालो बाटो हिँड्दा स्याँ....स्याँ भएको बेला एकछिन उभिएर लामो सास फेरिन्छ नि,’ प्रश्न सोध्नासाथ कल्पनामा उनी उकालो चढिरहेका थिए सायद, एकछिन रोकिएर लामो सास फेर्दै बोले, ‘उकालो चढ्न सुरु गर्दा जतिसुकै उत्साह भए पनि अलिकति अत्यासचाहिँ हुन्छ, त्यत्रो उकालो कसरी छिचोल्ने? तर, जब टुप्पातिर पुगेर तलतिर हेरिन्छ, जस्तै गाह्रो भए पनि मजा आउँछ नि, त्यस्तै भएको छ। तर, उकालो चढ्न त बाँकी नै हुन्छ।’
यो उकालो उनको आफ्नै जीवन हो। उकालो र जीवनबीचको फरक के भने, उनको गन्तव्य पर्वतको जस्तो देखिने चुचुरो हैन। यसको फेद भने पर्वत जिल्ला हो।
‘अहिलेसम्मकै खुसीको कुरा गर्नुहुन्छ भने मलाई त त्यतिबेलै खुसी लागेको थियो, जतिबेला मैले यहाँ अंग्रेजी पढाउन थालेको थिएँ,’ उनले भने, ‘चार कक्षाबाट अंग्रेजी पढेको मान्छेले अंग्रेजी मातृभाषीहरुलाई नै अंग्रेजी पढाएको थिएँ।’
भनिरहनु परेन, उनी पहिले शिक्षक थिए। अहिले पनि शिक्षक नै हुन्। उनले अहिलेसम्म जे–जति गरे शिक्षण पेशाकै वरिपरी रहेर गरेका छन्।
एचबी ह्यारी भण्डारी अर्थात् उबेलाका हीराबहादुर भण्डारीको जीवन–यात्रा–कथा पर्वतको थापाखानाबाट सुरु हुन्छ। जतिबेला उनी ह्यारी भइसकेका थिएनन्। जुन गाउँका अधिकांश पुरुषहरु भारतीय सेनाका जागिरे थिए। उनी पनि बाबु–काकाहरुकै सिको गर्दै छाती नपाउन पुग्थे सायद, एसएलसी ‘छिटो’ पास नगरेको भए!
कक्षा फड्किएर पढेकाले १४ वर्ष नपुग्दै एसएलसी पास भएका थिए। सँगै पढेका थुप्रै छाती तन्काउन थाले, उनी पढ्न पोखरा झरे। पृथ्वीनारायण क्याम्पसमा अंग्रेजी पढे।
राजनीति त्यहीँबाट सुरु भयो।
साहित्य र आत्मकथा पढेपछि विश्वेश्वरप्रसाद कोइरालाबाट प्रभावित थिए। स्ववियु चुनावका लागि प्रभाव पार्न विद्यार्थी संगठनका नेताहरुले भर्ना गर्न, छात्रवृत्ती दिलाउन पहल गरिदिने उतिबेलैदेखिको चलन हो। उनलाई पनि नेविसंघले तान्यो। विश्वेश्वरबाट प्रभावित थिए, आखिरमा विपीको पार्टीमा पुगे। स्ववियु चुनावमा नेविसंघकातर्फबाट लडे, तर हारे।
चुनावको हार, संगठनभित्रका अनेक किचलोपछि उनी के निश्कर्षमा पुगे भने, संगठन विपीले भनेजस्तो किसिमले चलिरहेको छैन। उनलाई लाग्यो, राजनीति र साहित्यमा एकैसाथ सफल हुने छुट विपीलाई मात्र छ! साहित्य मात्र आफ्नो लाग्यो उनलाई। त्यसपछि उनले पार्टी राजनीतिलाई पोखरामै बिसाएर स्नातकोत्तर गर्न काठमाडौं उक्लिए।
काठमाडौं आएर बोर्डिङ स्कुलमा जागिर खाए, ट्युसन पढाए। साहित्यलाई ‘पार्टटाइम’ छुट्याउँथे। कविता वाचन गर्न रेडियो चाहार्थे।
साहित्य जति प्यारो थियो, शिक्षण पेशा पनि कम्ति प्यारो लाग्थेन उनलाई। त्यही लगनले होला, २३ वर्षमै बोर्डिङ स्कुलको प्रिन्सिपल बनेका थिए।
अमेरिका आउने बाटो भने साहित्यले नै खोलिदियो। एउटा कार्यक्रममा ‘डायस्पोरा साहित्य’ सम्बन्धि पत्र प्रस्तुत गर्न आएपछि उनी यतै समातिए।
हीराबहादुर भण्डारी, एचबी ह्यारी भण्डारी बने।
सुरुमा भर्जिनियास्थित ग्यास स्टेसनमा काम गरे। केही समय रेष्टुरेन्टमा ‘सर्भिस’ पनि गरे। जब अमेरिकामा हिँड्न सक्ने भए, ‘मन रमाउने’ काम खोज्न थाले। त्यो काम थियो, शिक्षण पेशा। वैकल्पिक शिक्षणबाट सुरु गरेको केही महिनामा पूर्णकालीन जागिर पाए।
यही समय पहिले बिसाएको राजनीतिलाई काँध हाल्ने कोसिस गरे। पहिले नेपाली समुदायका संगठनतिर लागे। तर, त्यहाँ पनि आफू ‘फिट’ नहुने लागेपछि पन्छिए। पत्रिकामा राजीनितिक समाचार पढेर सन्तुष्टी लिइरहेकै समयमा एकदिन घरको ‘मेलबक्स’ मा एउटा पत्र आयो। यो सन् २००९ तिरको कुरा हो।
जसमा भनिएको थियो, समुदाय व्यवस्थापनको नेतृत्व गर्न चाहनेले सम्पर्क गर्नुहोला।
उनी सम्पर्क कार्यलयमा गए। समितिका पूर्वअध्यक्षले उनलाई बाटो देखाइदिए। सुरुमै उनी उपाध्यक्षमै चुनिए। सर्च कमिटी यस्तो हो, जसले समूदायमा सक्रिय व्यक्तिलाई लामो समयदेखि अध्ययन गर्छ र ठिक लागेमा चुन्छ। उपाध्यक्ष बनेको केही वर्षमा अध्यक्षका लागि उनी त्यसैगरी चुनिए।
ठिक यसैबेला राष्ट्रपतिको चुनाव हुँदै थियो, डेमोक्र्याटिक पार्टीका तर्फबाट बाराक ओबामा चुनावी मैदानमा थिए।
‘मैले आफूलाई बाराक ओबामासँग तुलना गरेँ,’ उनी भन्छन्, ‘हाम्रो आपसको कथा बेग्लै होला तर, संघर्ष एउटै हो– पहिचानको संघर्ष। त्यसैले मैले उनको समर्थनमा लाग्ने विचार गरेँ। त्यसका लागि १२/१३ घन्टा गाडी चलाएर चुनावी सभामा पुगेको छु।’
ओबामाको उमेदवारीले उनलाई यस्तो सञ्जाल बनाउन सघाइदियो, अहिलेको उपलब्धि त्यसकै उपज हो। ‘योङ डेमोक्र्याट्स अफ बाल्टिमोर’हुँदै केन्द्रिय समितिमा पुगेका उनले सन् २०१४ मा प्रारम्भिक चरणको चुनावमा उमेदवारी दिए। उनीसहित सात जनाले उमेदवारी दिएकोमा उनी चौथा भए। हारे।
‘तर, मलाई केही दुःख लागेन,’ उनले भने, ‘किनकि, मलाई अनुभव चाहिएको थियो। हामी कतिपय हार्नै डराउँछौं। मलाई थाहा छ, हार्न डरायो भने जित्न सकिँदैन। म डराइन। हारेँ तर, ६ हजारभन्दा बढी ढोका ढकढक्याएको थिएँ। त्यसले मेरो सञ्जाल त बनायो नि।’
चार वर्षपछि उनले प्रारम्भिक चरणको चुनाव मात्र जितेका छैनन्, डेमोक्र्याटिक पार्टीको मूलधारमामा पनि पुगेका छन्।
जतिसुकै खुल्ला मानिए पनि अमेरिकी समाज गैह्र–गोरा समूदायप्रति उदार छैन। दबिएको त्यो समूदाय लामो समयदेखि पहिचानको संघर्षमा छ। एचबीले पनि पहिचानका लागि लडिरहेकाहरु पक्षमा लाग्ने वाचा गरेका छन्। उनका भनाइमा मेरिल्याण्ड राज्यभरी हालसम्म प्रारम्भिक चरणको चुनाव जित्ने एसियाली मूलका अमेरिकी जम्मा तीन जना छन्। त्यसैले पहिचानको सवालमा उनको विजयले खास अर्थ राख्छ। तर, हालका लागि उनले पहिचानको विषयलाई मुख्य चुनावी एजेन्डा बनाएका छैनन्। ‘मेरो अन्तिम लडाइँ पहिचान त हो तर, मैले त्यति भनेर पुग्दैन’, उनी भन्छन्, 'मलाई त तिनीहरुको पनि भोट चाहिन्छ, जसलाई पहिचानको संकट नै छैन।'
लामो समयदेखिको शिक्षण पेशाको अनुभवलाई नै उनले चुनावको मुख्य अस्त्र बनाएका छन्। ‘मैले जितेको खण्डमा गाँजा विक्रीबाट उठेको सबै कर बालबालिकाको पढाइमा खर्च गर्नुपर्छ भनेको छु,’ उनी भन्छन्, ‘मेरो जोड शिक्षामै हो। अमेरिकामा शिक्षा सर्वसुलभ बन्न सकेको छैन। कतिपय विद्यार्थीहरु आर्थिक कारणले हाइस्कुलभन्दा माथि पढ्न सकेका छैनन्। उनीहरुमाथि लगानी बढाउनुपर्छ।’
अनि, नेपाली समुदायका लागि?
सायद, राजनीति गरुन्जेल ह्यारीले यो प्रश्नबाट उम्किन पाउनेछैनन्!
‘मैले शिक्षाका लागि जुनखाले सोच बनाएको छु, त्यो अन्तिममा गएर नेपाली समूदायमा पनि ठोक्किन्छ,’ उनी भन्छन्, ‘म यहाँ हुर्केका दोस्रो पुस्तालाई जोड्न चाहन्छु। उनीहरु अहिले हामी एनआरएन हौं भनेर जोडिएजस्तो जोडिँदैनन्। उनीहरुलाई जोड्नका लागि राष्ट्रियता मात्र पर्याप्त हुँदैन। उनीहरुलाई ज्ञानले जोड्नुपर्छ।’
उनले आफ्नो राजनीतिलाई पनि ‘दोस्रो पुस्ताका लागि बाटो खोलेको’ रुपमा अथ्र्याउँछन्। ‘हामी यहाँको मूलधारमा पुग्नुपर्छ,’ उनी भन्छन्, ‘मेरो राजनीति त्यसैका लागि हो। यो म्याराथन होइन, यहाँ दौडिरहनुपर्छ। एउटाले अर्कोलाई पास गर्दै। हामीले भोलिको पुस्ताका लागि सोच्नुपर्छ।’
ह्यारीले भनिहाले, यो टुंगिने दौड होइन।
फेरि पनि उनकै शब्द, ‘राजनीति अब बल्ल सुरु भएको छ!’