धेरैलाई लाग्न सक्छ— मेरो नामको सामाजिक सञ्जाल मेरो मर्जीअनुसार चलाउँछु।
यही मान्यता अनुसार आफ्नो फेसबुक प्रोफाइल लक गर्ने, आफूखुसी स्टाटस लेख्ने र फोटो राख्ने गर्नुहुन्छ भने यसलाई अमेरिकाले गम्भीर रूपमा लिन थालेको छ।
न्यूयोर्कमा रहेका कानुन व्यवसायी वासु फुलाराका अनुसार अमेरिका जान भिसा आवेदन गर्ने व्यक्तिको सामाजिक सञ्जाल निगरानी हुन्छ।
'अमेरिकाले सामाजिक सञ्जाललाई राष्ट्रिय सुरक्षासँग जोडेको छ। आवेदकले अमेरिकासँग सम्बन्धित विषय कसरी हेरेको छ भनेर ख्याल गर्छ,' उनले भने, 'यो नियम नयाँ होइन। यस्तो निगरानी सन् २०१९ मै सुरू भएको हो। अहिले अझ कडाइ गरेको मात्र हो।'
नेपाली आवेदकको मात्र सामाजिक सञ्जालको 'हिस्ट्री' निगरानी हुने होइन, यो प्रक्रिया अमेरिकाले विश्वभर नै अपनाएको छ।
अमेरिका जान भिसा आवेदन गर्ने बेलामै आफूले चलाउने सामाजिक सञ्जालबारे स्पष्ट पार्नुपर्छ। कुनै व्यक्तिले टिकटक, युट्युब, एक्स (पहिले ट्विटर), इन्स्टाग्राम, लिंक्डइन लगायत सञ्जालमध्ये कुन कुन प्रयोग गर्ने गरेको छ भन्ने खुलाउनुपर्छ।
'विगत पाँच वर्षमा आफूले प्रयोग गरेका सामाजिक सञ्जालका अकाउन्टबारे प्रस्ट पार्नुपर्छ। यस बीच आफूले बन्द गरेको छ वा ह्याक भएको छ भने पनि खुलाउनुपर्छ,' फुलाराले भने, 'भिसा अफिसरलाई यसबारे झुटो जानकारी दिनुभयो भने भिसा प्राप्त नहुने मात्र होइन, कहिल्यै पनि जान नपाउने समेत हुन सक्छ।'
कोही व्यक्ति झुटो विवरण दिएरै अमेरिका जान सक्यो भने पनि जुनसुकै बेला डिपोर्ट (निकाला) हुन सक्छ। खास तथ्यसँग बाझिने विवरण दिएको छ भने जुनसुकै दिन समस्या पर्न हुन्छ।
फुलाराका अनुसार प्रोफाइल लक गरेको विषयलाई अमेरिकाले निकै गम्भीर ढंगले लिन्छ। अमेरिका जान चाहने व्यक्तिको व्यवहार कति पारदर्शी छ र सार्वजनिक रूपमा कस्तो धारणा राख्छ भन्ने कुरामा अमेरिकाको चासो हुने गरेको छ।
सामाजिक सञ्जाल चलाउने व्यक्तिको प्रोफाइल सबैले हेर्न मिल्ने हुनुपर्छ, चासो राख्नेले थाहा पाउनुपर्छ भन्ने मान्यता अमेरिकाको छ।
फुलाराले भने, 'आफ्नो प्रोफाइल लक गरेर अरूलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु गलत हो। आफ्नो प्रोफाइलमा धमिलो फोटो राख्नु र छद्म नाममा सामाजिक सञ्जाल चलाउनु पनि राम्रो होइन।'
आफ्नो शैक्षिक योग्यता सम्बन्धी विवरण बढाइचढाइ नगर्न पनि उनको सुझाव छ। आफूले हासिल गरेभन्दा बढी शैक्षिक योग्यता लेख्नु राम्रो होइन। आफू नपढेको शैक्षिक संस्था–विश्वविद्यालय पढेको हुँ भन्ने विवरण राख्नु पनि गलत हुन्छ।
विवाह सम्बन्धी विवरण लुकाउनु वा विवाहित भएर पनि अविवाहित हुँ भन्नुलाई पनि अमेरिकाले राम्रो मान्दैन। यस्तो विवरण गलत साबित भए अमेरिकाबाट डिपोर्ट हुने सम्भावना हुन्छ।
सामाजिक सञ्जाल नै नचलाउने व्यक्तिका हकमा अमेरिकाले के गर्छ त जिज्ञासा पनि हुन सक्छ।
'सामाजिक सञ्जाल चलाउनुपर्छ भन्ने होइन। चलाएको छैन भने त्यसै अनुसार जानकारी गराउनुपर्छ। चलाएको छैन भन्नुपर्छ,' कानुन व्यवसायी फुलाराले भने।
सामाजिक सञ्जाल चलाउँदिनँ भनेर झुटो बोलेको र पछिल्लो पाँच वर्षमा अकाउन्ट खोलेको, छद्म नामबाट सक्रिय रहेको थाहा भए अमेरिकाले झन् गम्भीर रूपमा लिने गरेको उनको भनाइ छ।
घृणा फैलाउने किसिमको स्टाटस लेख्ने, त्यस्तै किसिमका भिडिओ र फोटो पोस्ट गर्ने अनि त्यस्तै किसिमका स्टाटस, फोटो र भिडिओमा लाइक वा कमेन्ट गरेको छ भने पनि अमेरिकाले गम्भीर मान्छ।
'अमेरिकाले लिने नीतिविरूद्ध बोल्ने र कमेन्ट गर्नेलाई समेत भिसा अफिसरले गम्भीर रूपमा लिन्छ,' फुलाराले भने, 'अमेरिका पुगेपछि पनि तपाईंका सबै गतिविधि निगरानी हुन्छ। स्टेट डिपार्टमेन्टले भिसा रद्द गर्न सक्छ। ग्रीनकार्ड र सिटिजनसिप पाउन समस्या हुन सक्छ।'
आतंकवादी गतिविधिमा संलग्न भएको र त्यस्ता समूहलाई सहयोग वा समर्थन गरेको थाहा भएमा अमेरिकाले भिसा दिँदैन।
अमेरिका पुगेपछि पनि भिसा प्राप्तिका सिलसिलामा दिएको विवरण अनुसार व्यवहार गर्न फुलाराको सुझाव छ।