शुक्रबार वाशिङ्टन डिसीस्थित मेरो कार्यालयका कर्मचारीहरू रमाईलो गर्ने मुडमा थिए। बेलुका ‘ह्याप्पी आवर’को कार्यक्रमका लागि साथीहरूको समूहले खानपिनको ब्यवस्था गर्दै थियो।
शुक्रबारका प्राय अमेरिकाका कर्पोरेटसहित विभिन्न साना/ठूला कार्यालयमा काम गर्ने कर्मचारी यस्तै अनौपचारिक रमाईलो गरी फ्रेस हुने गर्छन्।
मलाई पनि सहकर्मी साथीले आग्रह गरिन्, ‘लेट्स ह्याब लन्च टुगेदर्, सुनिल’, छेउको पुरूष मित्रले थप्यो, ‘यु नो, हि इज वाईफ कुक्स लन्च फर हिम।’
एक दिन उसले मेरो स्पाईसी लन्च चाख्ने मौका पाएको थियो। त्यही बेला उसलाई मैले श्रीमतीले बनाएको लन्च भनेको थिएँ। अर्की साथीले थपि, ‘वाउ, यू आर सो लक्की सुनिल।’
अमेरिकामा श्रीमानका लागि श्रीमतीले लन्च बनाएर पठाउनु बिचित्र मानिन्छ। उसले अनौठो मान्नु स्वभाविक थियो।

म प्रायः घरबाट श्रीमतीले ठिक पारेको लन्च लिएरै कार्यालय जान्छु। कहिले काँही स्वाद फेर्न मात्र बाहिरको लन्च खाने गर्छु।
मेरा साथीमध्ये केहीलाई मात्र यो थाहा थियो। तर, बाँकीले के खान्छ, के गर्छजस्ता निजी कुराहरुमा चासो नलिने भएकाले मेरा लागि श्रीमतीले लन्च बनाएर पठाउने प्रसंग प्रायः एसियन संस्कार त्यसमा पनि बिशेष नेपाली संस्कार नबुझेकालाई मात्र अचम्म लाग्छ।
अचम्म पनि किन नलागोस्- अमेरिकामा आफ्नो काम आफैं गर्नुपर्ने, सबै किसिमका कामलाई सम्मान गर्ने, आत्म निर्भरताका लागि स्कुलदेखि नै शिक्षकले सिकाउँदै आएकाले बाबु, आमालगायत बयस्क छोरा, छोरी सबै स्वतन्त्र हुने संस्कार र ब्यवस्थाले सबैलाई बाँधेको हुन्छ।
लन्चको समय भएको थियो। सदा झै त्यस दिन पनि मसँग घरको लन्च थियो। तर त्यो लन्च अर्को दिनका लागि फ्रीजमा राखेर मैले साथीको आग्रह स्वीकारेँ।
आफ्नो अनुकुलता मिलाएर कुनै पनि समयमा लन्च गर्न छुट भएको र अरूले झै क्लक ईन र क्लक आउट गर्नु नपर्ने भएकाले हामी गफिँदै चार जना साथीहरु कार्यालय बाहिर निस्कियौं।
कार्यालय भित्रको एसीको चिसोबाट एकै पटक बाहिरी तापक्रमममा पस्दा आगोको मुस्लोमा पसे सरह भयो।
त्यस दिन अत्यन्त ह्युमिड भएकाले कार्यालय नजिक लाईनमा बसेका फुड ट्रकको स्पाईसी खाना खाने सल्लाह भयो।
अत्यान्त गर्मी बिच लस्करै लन्च बेच्न बसेका फुड ट्रकका मेनु हेर्दै हामीले डिसी कवाफ र ग्रीलको लन्च छनोट गर्यौ।
साथीहरुले आ आफ्नो मेनु छाने, मैले बटर चिकेन र राइस छानेँ। हामी लन्चको पोको लिएर पुनः कार्यालय फर्कियौं।
अमेरिकाको ब्यस्त जीवनशैलीका बिच यस्तै बिकल्पका रुपमा र कहिलेकाही स्वाद फेर्न गर्न लन्च ट्रकमा राखेको खाना खपत हुने गर्छ।
अब मुल प्रसंग तर्फ जाउ, फुड ट्रक के हो र अमेरिकामा यो ब्यवसाय किन लोकप्रिय छ?
फुड ट्रकहरू घुम्ती खाना प्रदान गर्ने ब्यवसाय हुन्। सम्वन्धित राज्य सरकारको अनुमति लिएर विभिन्न प्रकारका फास्टफुडहरू आइसक्रीम, जातीय तथा देशीय रूचीका खाना , ह्याम्बर्गर्स, हट डग्, स्यान्डविच आदि बिक्री हुन्छ।

केही फुड ट्रकले तयारी खानालाई भण्डार गरी गाडीबाट बिक्री गर्छन भने केही फुड ट्रकहरू आफैं खाना पकाउँदै ताजा खाना बिक्री गर्छन्।
यस्ता ट्रकमा चिस्यान गर्ने तथा पकाउने सबै उपकरण जडान गरिएको हुन्छ। यी ट्रकले अन्य रेस्टुरेन्टले झै खानाको गुणस्तरका लागि आधिकारीक निकायले तोकेको मापदन्ड पालना गर्नुपर्छ।
खानाको गुणस्तरका लागि तोकिएको अवधिमा अधिकारीबाट छड्के जाँचसमेत हुने गर्छ।
फुड ट्रकहरू आफ्ना ग्राहकका लागि स्थान परिवर्तन गर्न सक्षम हुन्छ्न् र एक निश्चित स्थानमा मात्र सिमित हुँदैनन्। फुड ट्रकका लागि लोकेसन र त्यहाँ अवस्थित कार्यालय, मेला, मनोरन्जनस्थल, पर्यटकीयस्थल प्रमुख मानिन्छन्।
अरूभन्दा कार्यालयलाई मात्र खाना बिक्री गर्ने उद्धेश्य लिएका फुड ट्रकहरू लन्चको समयमा नियमित कार्यालयलाई पायक पर्ने स्थानमा निश्चित समयका लागि उपस्थित हुन्छन् र बाँकी समय अन्य स्थानहरुमा बिक्री गर्छन्।
अर्का तर्फ, उनीहरूको बिक्री बितरणलाई स्थानीय मौसमले धेरै प्रभावित गर्नसक्छ।
सन् २००८ ताका अमेरिकाले ब्यहोरेको आर्थिक मन्दीका कारण धेरै अमेरिकीहरू बेरोजगार भए। त्यसताका ८० लाख भन्दा बढीले रोजगारी गुमाउनु परेको थियो। त्यही समयदेखि आफ्नो घर परिवार चलाउन केही उत्साहि युवाको समूहले फुड ट्रक ब्यवसायको अवधारणा ल्याएका थिए।
हुन त सन् २००८ पूर्व पनि म्युजिक फेस्टिवल, खेलकुदस्थल आदिमा मोबाईल फुड ट्रकले सेवा दिँदै आएका थिए। तर, तिनीहरूले दिगो ब्यवसायको रूप लिन सकेका थिएनन्।

स्टाटिस्टाको तथ्याङ्क अनुसार सन् २०१५ मा अमेरिकाको फुड ट्रक ब्यवसायको मूल्य बढेर ८५६ दशमलब ७ मिलियन अमेरिकी डलर पुगेको थियो। यो ब्यवसायले सन् २०२० सम्म अर्को १४० मिलियन अमेरिकी डलरले बढ्ने भविष्यवाणी गरेको थियो।
त्यसै वर्ष, अमेरिकामा ९० दशमलब ५ प्रतिशत फुड ट्रक व्यवसायमा लगानीकर्ता आफैंले सन्चालन गरेका थिए। जबकि सङ्ख्यात्मक हिसाबले क्यालिफोर्नियाले फुड ट्रकहरूको उच्चतम हिस्सा ओगटेको थियो।
नेशनल रेस्टुरेन्ट एसोसिएसनद्वारा प्रकाशित एक सर्वेक्षणका अनुसार, १८ देखि ३४ वर्ष सम्मका उमेरका उपभोक्ताले फुड ट्रकबाट नियमित खाना खरिद गर्ने गरेको जनाएको छ।
३५ देखि ४४ वर्षको बीचमा ५४ प्रतिशतले डिनर रोज्ने गरेको पनि उक्त सर्भेमा जनाईएको छ।
६५ वर्ष उमेर कटेका ३० प्रतिशत उत्तरदाताका अनुसार पुराना पुस्तामा एक पटक मात्र फुड ट्रकस्थलको भ्रमणमा जाने गरेका छन्।

यद्यपि, नियमित जाने रेस्टुरेन्टबाट आफ्नो पालाको पुरानो डिनरको अवलोकनका लागि ५३ प्रतिशतले एउटा फुड ट्रक स्थलको भ्रमण गर्ने गरेको उक्त सर्भेमा जनाईएको छ।
अमेरिकामा रेस्टुरेन्ट गएर खाना खानु एकदमै महंगो पर्छ। त्यसमा पनि डिनरको खर्चले त ढाड सेक्छ। यस्ता घुम्ती ट्रकबाट प्रदान गरिने खानाहरु रेस्टुरेन्टको तुलनामा पचास प्रतिशत भन्दा सस्तो पर्छ।
न्युयोर्क , वाशिङ्टन डिसी, लस एन्जेलस, सान फ्रान्सिस्को, बोस्टन्, सिकागोलगायतका ब्यवसाहिक र पर्यटकीय महत्व बोकेका ठूला शहरमा अत्याधिक संख्यामा खुलेका यी फुड ट्रकहरुले भरपर्दो ब्यवसाहिक उद्योगको रूप लिँदै गरेको पाईएको छ।