स्वास्थप्रति सचेत भएकाहरु आफ्नो समय मिलाएर तन्दुरुस्तीका लागि जुनसुकै बेला हिँडडुल गर्ने, दौडने वा व्यायाम गर्दछन्। त्यसका लागि कुनै समय विशेष छैन। हिजो पार्टीमा खाएको 'क्यालोरी बर्न' गर्न भन्दै घाममा समेत स्याँ स्याँ र फ्याँ फ्याँ गर्दै दौडनेहरु प्रशस्तै भेटिन्छन्। काम सकेर खाना खानुअघि या पछि घरको छेउछाउ पार्कमा हिँडडुल गर्नेहरु पनि भेटिन्छन्। प्राय: कर्पोरेटलगायतका उच्चदेखि मध्यम वर्गका कम्पनीहरुले आफ्ना कर्मचारीहरुको शारीरिक तन्दुरुस्तीका लागी आफ्नै जिम पनि सन्चालन गरेका हुन्छन्।
म आफू पनि एक लापरवाह व्यक्ति थिएँ, परिणामस्वरुप दस वर्ष अगाडि ढाड दुख्न सुरु भयो। चिकित्सकले दैनिक जीवनशैली परिवर्तन गर्नु, पोषिला खानेकुरा खानु र व्यायाम गर्नु भन्ने सल्लाह दिए। त्यसपछि मैले आफूलाई व्यायामको तालिकामा ढाल्न थालेँ।
आफ्नो शारीरिक तन्दुरुस्तीका लागि शनिवार बिहान निवासछेउको तालमा म हिँड्दै थिएँ, तालको छेउको फाँटमा एक हुल हाँस चर्दै रहेछन्। सायद शनिवार अबेलासम्म सुत्ने बानीले होला, त्यस दिन हिँड्ने लस्कर पातलो थियो। मर्निङ वाकमा जे जति भेटिए, प्राय: वृद्धवृद्धा नै देखिन्थे। यहाँका प्राय: युवाका लागि छुट्टै व्यवस्था गरिएको हुन्छ भने हिँडडुल गर्ने तथा साइकल चलाउनेका लागि सुविधायुक्त 'ट्रेल'को व्यवस्था हुन्छ।

तालछेउ डिलमा बसेर स्थिर पानी, ढकमक्क सजिएका रुखहरु, हरिया चौर र त्यसमा रमाएर खेल्दै गरेका जोडी हाँसहरुलाई एकोहोरो हेर्दै थिएँ, अचानक कसैले नेपाली बोलेको सुनियो। पुलुक्क फर्केर हेरेँ। एक जोडी नेपाली वृद्धवृद्धा आपसमा गफिँदै मेरो छेउ आउँदै थिए। मेरो आँखा जुध्यो। वृद्धले ढाका टोपी लगाएका थिए। 'बा घुम्न निस्कनु भएको?', मेरो जिज्ञासामा ती जोडीले मुसुक्क हाँस्दै जवाफ दिए, 'हो बाबु, तपाईं पनि यतै बस्नु हुन्छ?'
हामीबीच केही भलाकुसारी भए। यी जोडी छोरा-बुहारीले बोलाएर आएका रहेछन्, दशैं सकेर नेपाल फर्कने बताए। टहल्नका लागि बिहान-बेलुका तालवरिपरी घुमेर फर्कने गरेका रहेछन्। 'नेपाली खानाको स्वाद नमिल्ने, आफ्नो इच्छाले घुमफिरका लागी कतै जान नसकिने, खेतीपाती, हाट बजार घुम्ने बानी त्यो नेदेख्दा बिरानो र न्यास्रो लागेको बताए।

आफ्नो जन्मथलोको तिर्सनाले बिरानो र न्यास्रो मानेका यी वृद्ध जोडीलाई अमेरिकी हटिया (फार्मर्स मार्केट) र तरकारी लगाउने गार्डेन प्लट तिर घुमाई दिए भने कत्ती खुशी हुन्थे होलान? मेरो मनमा कुरा खेल्यो र मैले सोधे - ' बा म सँग अमेरिकि हटिया हेर्न जाने हो '? जोडी खुशीले फुरुङ हुँदै जाने भने। तर, उनका छोराको अनुमती बेगर मैले आफु खुशी लिएर जानु ठीक थिएन। त्यसैले अनुमतीका लागी बा ले छोराको फोननम्वर दिए। छोराले सहमती दिए पश्चात दुबैलाई गाडीमा राखी एक माईल टाढाको हटिया तर्फ लागे।
हटिया पुगे पछी वरिपरी ब्यबस्थित रुपले बेच्न राखेका ताजा फलफुल र हरिया तरकारी देखेर दुबैको मुहार हसिलो र उज्यालो देखियो। हटियाको दृश्य देखेर आखा चम्काउदै बा ले भने- ‘आहा यो पो हो त हामी रमाउने ठाउ। ‘हटियाको ब्यबस्थापन र सन्चालनका बारेमा बा ले चासो राखे, बा लाई मैले अर्थ्याउने प्रयास गरे।
के हो अमेरिकी हटिया?

परम्परा देखी नै नेपालको मधेश हुँदै पहाडी भेगमा कुनै निश्चित दिनमा स्थानियबाट उत्पादन गरीएका वा बाहिरबाट दैनिक आवस्यक सामाग्रीहरु ल्याएर बिक्री गर्ने गरीन्छ्, जसमा त्यस क्षेत्रका किसानहरुले आफ्नो उत्पादनलाई बिक्रीका लागी ल्याउछन भने ब्यापारीहरुले बाहिरका सामाग्रीहरु समेत ल्याएर बिक्री गर्ने गर्दछ्न। प्रचलनमा भनिने हाट वा हटिया नै अमेरिकाको फार्मर्स मार्केट हो।
अमेरिकि हटिया अत्यन्त ब्यबस्थित र बैज्ञानिक छ। यहाँका राज्य सरकारले आफ्ना स्थानिय किसानहरुबाट उत्पादन गरेका हरिया तरकारी, फलफुल लगायत कृषिजन्य उत्पादनको बिक्री बितरणका लागी दिगो मापदन्ड तथा कार्य योजना बनाएको छ। एका तर्फ किसानका लागी बजारको ब्यबस्थापन गरेको छ भने अर्का तर्फ स्वास्थका लागी आफ्ना जनताहरुलाई ताजा र पोशिला खाने कुरामा प्रेरित गरेको छ। यसप्रकार फार्मर्स मार्केटका माध्यमबाट स्थानिय किसानहरू, विक्रेताहरू र समुदायहरूका बीचमा पारस्परिक लाभहरूलाई बाडफाड गर्ने सुबिधा र अवसर प्राप्त भएको देखिन्छ।
फार्मर्स मार्केट किन?

अमेरिकामा फार्मर्स मार्केटको सन्चालन र ब्यबस्थापनका लागी स्थानिय सरकार तथा सरोकारवालाहरुले पाच उदेश्यहरु निर्धारण गरेका छन।
-आफ्नो मुलुकको ग्रामीण जीवनस्तर उकास्न र खेतीको संरक्षण गर्न
-स्थानीय अर्थव्यवस्थालाई मजबुत बनाउन
-ताजा, पौष्टिक खानामा पहुँच बढाउन
-स्वस्थ समुदायको बिकास गर्न्
-कृषीको दिगोपनमा स्थिरता कायम राख्न
फार्मर्स मार्केटमा के पाईन्छ?

फार्मर्स मार्केटमा उपलब्ध हुने सामाग्रीहरु स्थानिय राज्यको कृषी अवस्थामा भर पर्दछ। फार्मर्स मार्केटहरू आकारमा भिन्न हुन्छन् र सधैँ आफ्नो क्षेत्रको कृषि र सिजनमा निर्भर गर्दछ्न। केही फार्मर्स मार्केटहरू उत्पादनमा ध्यान दिन्छन्, जबकि अरूले फलफूल र हरिया तरकारीहरू, तैयार खाद्य पदार्थहरू, मासु, अण्डा, फूल र डेयरी उत्पादनहरू बिक्री गर्ने गर्दछ्न। केहीले स्थानीय उत्पादन, शिल्प वा तैयार खाद्य पदार्थहरू बेचेर कृषि उत्पादनको पूरकको रूपमा बिक्री गर्ने गर्दछन। अमेरिकामा अरगानिक खाध्य सामाग्रीहरुको माग उच्च रहेको र फार्मर्स मार्केटबाट ताजा र गुणस्तरीय अरगानिक खाध्य सामाग्रीहरु बिक्री हुने भएकाले यसको संख्यामा क्रमिक रुपले बृद्दी भएको पाईन्छ।
फार्मर्स मार्केटले बिक्री गर्ने उत्पादनहरु कसरी निर्धारण गर्दछ?

फार्मर्स मार्केटमा के बिक्री गर्न सकिन्छ भन्ने बारे स्थान, सिजन, र बजारको नियममा निर्भर गर्दछ। धेरै फार्मर्स मार्केटहरुले स्थानीय स्तरमा उत्पादन गरिएका कृषी जन्य, स्थानीय स्तरमा बनाइएका वा स्थानीय रूपमा प्रोसेस गरिएका खाध्यान्नहरू बिक्रीका लागी ल्याउछ्न। यसप्रकार बिक्री गरीने सामाग्रीहरुमा बिक्रीमा राखिएका उत्पादनका बारेमा उपभोक्ताले बुझ्ने गरी लेखिएको हुन्छ्, जसले बिक्रेताहरूले आफै उत्पादन गरेको सामाग्री भन्ने जनाउदछ।
अर्गानिक खाध्य सामाग्रीकालागी फार्मर्स मार्केट लोकप्रिय

स्वास्थका लागी बिश्व भरी नै अर्गानिक खाध्य समाग्रीको माग बढदो छ। केहि ग्रसरी स्टोरहरुले अर्गानिक सामाग्रीहरु बिक्री गर्ने भएता पनि फार्मर्स मार्केटमा उपलब्ध सामाग्री जस्तो ताजा हुँदैन। त्यस्तै , ग्रसरी स्टोरले बेच्ने मुल्य भन्दा फार्मर्स मार्केटको मुल्य सस्तो भएको सियाटल युनिभरसिटीको एक अध्ययनले जनाएको छ।

बिश्वका बिभिन्न मुलुकबाट नै बसोबासका लागी आएका आप्रबाशीहरुको बाहुल्यता रहेको यस बिशाल मुलुकको जनसख्या, यस मुलुकमा स्थापित सामाजिक सस्कार, जनताहरुको ब्यस्त जीवनशैली लगायतका कारणहरुले बृद्दी भएको अस्वस्थकर खाध्यसामाग्रीको उपभोगलाई निरुत्साही गर्दै जनताको स्वास्थको बिकास एउटा चुनौती र चिन्ताको बिषय बनेको छ। यसैको उपलब्धी स्वरुप अमेरिकामा लोकप्रिय बन्दै गएको फार्मर्स मार्केटको सङ्ख्यात्मक बृद्दी र खाध्य सामाग्रीको गुणस्तरीय उत्पादन , बिक्री र त्यसको उपभोग बढनुलाई सुखद उपलब्धी मान्न सकिन्छ।