वाशिङ्टन डिसी भित्रको ट्राफिक कहालीलाग्दो हुन्छ। अमेरिकाको राजधानी वाशिङ्टन डिसी एक प्रमुख पर्यटकीयस्थल हुनुका साथै राष्ट्रपतिको कार्यालय व्हाईट हाउससहित अन्य सरकारी कार्यालयहरू, प्रमुख सुरक्षा निकायलगायत कर्पोरेटका कार्यालयसमेत हरेकाले यो शहर सधै ब्यस्त रहन्छ।
गाडी ड्राईभ गरेर घुमफिर गर्न वा अन्य कुनै कामले डिसी भित्र प्रवेश गर्दा पार्किङको टेन्सनले सताउँछ। अझ, त्यसमा पनि ठाउँ ठाउँमा राखिएका ट्राफिक क्यामेराले गाडीको गति, लाईट क्रस गर्दाको फोटोसमेत खिच्ने भएकाले कुन बेला घरमा ढाड सेक्ने गरी टिकट आउने हो पत्तै हुँन्न।
घुमफिर वा अन्य कामले मेट्रो डिसी क्षेत्रमा आउन चाहनेले आफ्नो गाडीलाई डिसी क्षेत्र बाहिर पार्किङ गरेर बस, मेट्रो ट्रेनलगायत भाडाको साईकलमा समेत सवार हुन सक्नेछन्।
डिसीमा दश बजे पछि प्रायः पार्किङस्थल भरिएका हुन्छन्, खाली स्थल पाईएमा चर्को शुल्क तिर्नुपर्ने हुनसक्छ।
अर्का तर्फ, घुम्ने, अवलोकन गर्ने डिसीका प्रमूख स्थलहरू- व्हाईट हाउस, मनुमेन्ट्, लिन्कन मेमोरियल, अमेरिकी संसद भवनलगायत बिभिन्न म्यूजियमहरु हिँडेरै घुम्नुपर्ने भएकाले आफ्नो गाडी लिएर जानुको खासै आवश्यकता पर्दैन।

भर्जिनिया वा मेरिल्यान्डबाट डिसी जाने बसका स्टपहरू प्रायःमा निःशुल्क पार्किङको ब्यवस्था गरिएको हुन्छ। आफ्नो गाडी त्यहाँ पार्किङ गरेर बसको सवारी लिँदा फाइदा हुनसक्छ।
ग्रुपमा हुनेका लागि मेट्रो ट्रेन वा बस उपयोगी हुनसक्छ। तर, एक्लो वा जोडी हुनेले साईकल भाडामा लिएर वा आफ्नै साईकलमार्फत डिसी भित्र आफूले चाहेको स्थानमा सुलभ रूपले अवलोकन गर्न सक्नेछन्।
केही वर्ष अघिदेखि मेट्रो डिसी क्षेत्रमा साईकल चलाउनेको संख्या बढ्दो देखिएको छ।
डिसी भित्र आफूले चाहेको स्थानमा छिटो पुगिने, स्वास्थका लागि ब्यायाम हुने, कम खर्चिलो, पार्किङका लागि तनाव नहुने र गो ग्रीन- वातावरणीय प्रदुषण कम गर्न सहयोगी हुने भएकाले कार्यालय आवत/जावत गर्ने कर्मचारीलेसमेत भाडाका साईकल प्रयोग गर्न थालेका छन्।

साईकलमा गाडीका लागि निषेधित स्थानमासमेत सहजै जान र अवलोकन गर्न सकिने भएकाले डिसी भित्र घुम्न साईकल रोजाई बढ्दै गएको छ।
सन् २००८ मा उत्तर अमेरिकामा पहिलो पटक वासिंङ्टन डिसीमा बाईक सेयर कार्यक्रमको सुरुवात भएको हो। यस योजनाको स्थापनाको दुई वर्षमा डिसीमा १२० वटा साईकलले १० वटा स्टेशन मार्फत करिब १६ सय मान्छेलाई सुविधा प्रदान गरेको क्यापिटल बाईक सेयरले जनाएको छ।
क्यापिटल बाइक सेयर मेट्रो डीसीमा शःशुल्क साइकल सेवा प्रदान गर्ने संस्था हो। यस संस्थाले दश वर्षमा आफ्नो कार्यक्रम बिस्तार गर्दै डिसी मेट्रो क्षेत्रका ६ वटा क्षेत्रहरु - वाशिंगटन, डीसी, अर्लिंगटन्, अलेक्जेंड्रिया, मोन्टगोमेरी, प्रिन्स जर्ज काउन्टी, र फेयरफ्याक्स काउन्टीमा ४,३०० साईकलहरू राखेको छ।
सेवाग्राहीका लागि ५०० भन्दा बढी साइकल स्टेशन बनाईएका छन् जहाँ तोकिएको शुल्क तिरेपछि साईकल भाडामा लिएर चलाउन पाईन्छ। शहर भित्र छिटो र छरितो रुपले घुमफिर गर्न चाहनेका लागि उपयोगी होस् भन्ने उद्धेश्यका साथै अवलोकनमा रमाईलोसमेत हुने यो सस्तो घुमाइको सुविधा हो।
साईकल भाडामा लिन अनलाईनबाट वा स्टेसनमा राखिएको मेसिन मार्फत तोकिएको पैसा तिरी टिकट लिन सकिन्छ।
साईकल राखिएको स्टेशनबाट सवारी कोर्ड वा चाबी प्रयोग गरी साईकल प्राप्त गर्न सकिन्छ। डिसी क्षेत्रमा ३० मिनेटका लागि २ डलर र २४ घन्टाका लागि ८ डलर शुल्क तोकिएको छ। यस्तै वार्षिक सदस्यता लिनेका लागि ८५ डलर तोकिएको छ।

सुरूको ३० मिनेट शुल्कमा समावेस हुने भएकाले सो पश्चात थप ३० मिनेटका लागि २ डलर, त्यस पछिको ३० मिनेटका लागि ४ डलर र ९० मिनेटपछि ८ डलर प्रति ३० मिनेटको युजेज फी लाग्छ।
यसप्रकार पहिलो ३० मिनेट पश्चातको उपयोग गरेको अन्य समयका लागि तोकिएको युजेज फी लाग्छ।
साईकल चलाएर फर्काउँदा आफूलाई अनुकुल पर्ने कुनै पनि स्टेशनमा पुर्याउन पाउने ब्यवस्था भएकाले डिसी क्षेत्रमा साईकल यात्रा सहज भएको छ।
नेपाल जस्तो आफ्नै पाराले अमेरिकामा साईकल चलाउन पाईदैन। यसका लागि ट्राफिक नियमको पालना गर्नुपर्ने हुन्छ।
हेलमेट लगाउने, दाँया बाँया मोडनुपर्दा हातको ईशारा गर्ने, बाटो काट्नेलाई पहिलो प्राथमिकता दिने, गाडी कुद्ने समान दिशातर्फ नै साईकल चलाउने, साईकल लेन भएमा सोहि लेनमा रहेर चलाउने आदिजस्ता ट्राफिक नियमहरु पालना गर्नुपर्छ।

डिसीको क्यापिटल बाईक सेयर मोटिभेट नामक ग्लोबन बाईक सेयर कम्पनीमार्फत सञ्चालित छ।
मोटेभेटले अमेरिकाका बिभिन्न राज्य तथा शहरलगायत विश्वभरीनै बाईक सेयर कार्यक्रम सञ्चालन गर्दै आएको छ।
जसमा प्रमुख फोर्ड गोबाईक सेयर (क्यालिफोर्निया वे क्षेत्र), सिटी बाईक (न्युयोर्क तथा जेर्सी सिटी), कोगो बाईक सेयर (कोलम्वस , ओहियो), क्यापिटल बाईक सेयर (वाशिङ्टन डिसी मेट्रो क्षेत्र), हबवे (बोस्टन, सोमर्भिल, क्याम्ब्रीज, ब्रोक्लिन), बाईक चाटाङोवा (टेनासि) तथा बाईक टाउन (पोर्टल्यान्ड्) छन्।