अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिंगटन डि सी मेट्रो कमिटीको संयुक्त आयोजनामा आईतवार फेयरफ्याक्स स्टेशन (लोरटन ) स्थित दुर्गा मन्दिरमा हरितालिका तीज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रम आयोजकका तर्फवाट अनेसासका महासचिव भुपनारायण घर्ति मगर लगायत तीन सहयोगीहरू मुकुन्द कोईराला, खगेन्द्र थापा तथा संदेश पौडेल केही महिनादेखि निकै व्यस्त र सक्रिय थिए। आज सञ्चालन भईरहेको तीज महोत्सवमा रंगीन साडीमा सजिएर सहभागी हुन आएका महिला र साथका पुरूषहरूलाई स्वागत गर्न, तस्विर लिन र दर खुवाउन उनीहरू व्यस्त थिए।
गत एघार वर्षदेखि मनाईँदै आएको महिलाहरुको महान चाड तीज महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिईएको कार्यक्रम आयोजक समितिका सक्रिय सदस्य मुकुन्द कोईरालाले जानकारी गराए।
तीज महोत्सव मनाउन वाशिंगटन डिसी मेट्रो क्षेत्रमा बसोवास गर्ने सवै नेपालीहरू सवैलाई चुल्हो निम्तो दिईएको थियो। कार्यक्रममा निःशुल्क तीजको दर खुवाईएको थियो भने तीजको गीतमा विभिन्न नॉचहरूको प्रस्तुति गरिएको थियो।
कार्यक्रमको अर्को आकर्षण थियो नेपाली सामाग्रीहरूको बिक्रीका लागि राखिएका विभिन्न स्टलहरू। स्थानीय व्यवसायीहरूलाई प्रोत्साहन गर्दै नेपाली महिलाहरुका लागि चुरा, पोते, सारी लगायत घरेलु खाद्य सामाग्रीहरूका स्टलहरु राखी खोजेको सामान किन्न पाउने व्यवस्था गरिएको कार्यक्रम आयोजक समितिका संयोजक खगेन्द्र थापाले जानकारी गराए।
बिहानको खाना (दर) खुवाउने कार्यक्रम पश्चात महिलाहरूको नाँच गान शुरू गरिएको थियो। प्रख्यात गीत- तीजको लहर आयो बरि लै.....ले सिंगो डिसी नै झुमेको उक्त महोत्सवमा डिसी क्षेत्रका पॉचसय भन्दा बढीको संख्यामा महिला पुरूषहरूको वाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले महान पर्व तीजको शुभकामना दिएका थिए।
डिसी मेट्रो नै उर्लिएको यस बर्षको तीज महोत्सव कार्यक्रमलाई सफल पार्न ११ हजार डलरको सहयोग प्राप्त भएको जानकारी दिँदै नेपाली कला, भाषा र संस्कृतिको संरक्षण र सम्वर्धनमा सहयोग गर्ने सवै संघ संस्थालाई तीज आयोजक संस्थाका आर्थिक संकलन संयोजक खगेन्द्र थापाले धन्यवाद दिए।
कार्यक्रममा निःशुल्क तीजको दर खुवाईएको थियो भने अनेसासका अध्यक्ष राम प्रसाद खनालले तीजको गीत गाउदै महिलाहरूलाई विभिन्न नॉचहरूमा सामेल गराएका थिए।









फोटो: तृषा दाहाल