सात वर्षअघि काठमाडौंबाट न्युयोर्क उड्दा वर्षा थापाले घरको सम्झनाका लागि एउटा सामान्य चिज बोकेकी थिइन्। यति सामान्य कि, त्यसलाई कसैले ‘फेसन’को रुपमा सायदै सम्झिएला।
न उनै वर्षालाई थाहा थियो, त्यसले कुनै दिन न्युयोर्कमा आफूलाई चिनाउनेछ।
त्यो चिज हो, नेपाली महिलाले कपाल बाट्ने रातो धागो। यस्तो धागो, अरु रङमा पनि पाइन्छ। जसमा सामान्यतयाः तीन हाँगा फाटिएका हुन्छन्। कोरिसकेपछि कपालको पनि तीन हाँगा फट्याइन्छ र, त्यसमा धागो गाँसिन्छ। र, बाटिन्छ।
न्युयोर्ककका सडकमा नेपाली मोडल तथा गायिका वर्षा थापा आफ्नो कम्मर–कम्मर आउने लामो कपालमा यही धागो बाँधेर हिँड्छिन्। धेरैको आँखा उनको कपालमा पर्छ। कपालमा हैन कि धागोमा!
हुन त वर्षा धागोलाई कपालकै मुख्य ‘अंग’ मान्छिन्। त्यसैले कपाल र धागो दुवै! किनकि, दुवै सुन्दर छन्। दुवै चिजले वर्षालाई थप सुन्दर बनाएको छ।
‘म यहाँ छु तर पनि यो चिजले मलाई घरमै छु भन्ने महसुुस गराइरहन्छ,’ उनले भोग डटकमसँग भनिन्, ‘मेरो कपाल बढ्दै गर्दा दखिनै घागोले बाट्न चाहन्थेँ।'
उनले कपाललाई धागोले बाट्ने तरिका हजुरआमाबाट सिकेकी हुन्। उनी आफ्नो ब्यान्ड ‘सीता भर्जिन’को प्रस्तुति यसरी नै धागोले कपाल बाटेर दिन्छिन्। कपाललाई धागोले बाट्दा आफू कहिले पनि पराजित हुन सक्दिन भन्ने महसुस उनलाई हुन्छ। भन्छिन्, ‘बलियो र शक्तिशाली महिला जस्तो महसुस हुन्छ।’
जतिबेला नेपालबाट आउँदा धागो ल्याएकी थिइन्, उनको साथमा श्रृंगारका सामान राख्ने सानो बट्टा पनि थियो। त्यसैले उनले लामो समय प्रस्तुति दिँदा पनि सौन्दर्य सामाग्रीलाई हराउन दिँदैन। पिठो, बेसार र ग्रिन टीले बनेको अनुहारमा लगाउने ‘मास्क’ले मेकअपका लागि पूरै दिन कुर्सीमा बस्दा पनि अनुहारलाई नरम बनाइरहन मद्दत गर्छ।

उनीसँग चाना बनाएर काटिएको केराको बोक्रा पनि हुन्छ। उनी भन्छिन्, ‘मेरी आमाले छाला चाउरी नहोस् भनेर केरोको बोक्राको भित्री भाग अनुहारमा लगाउँथिन्, त्यसैले मैले पनि लगाउने गरेको छु।’
उनी प्रत्येक बिहान पानीमा सिलाजितको थोपा राखेर प्रयोग गर्छिन्। सिलाजित हाइड्रोकार्बन जस्तो देखिन्छ। तर, यो हिमाली भेगको जडिबुटी पाउन सजिलो भने छैन। महँगो पनि उत्तिकै छँदैछ। रोग प्रतिरोधात्मक क्षमता र रक्तसन्चारलाई बलियो बनाइराख्ने भएकाले वर्षा नेपालदेखि आउने साथी तथा आफन्तमार्फत् यी चिज जम्मा पार्छिन्।
यस्तै औषधी नियमित सेवन गर्नु र कपालको हेरचाह गर्नु उनको दैनिकी भएको छ। यसैको कारणले उनमा उत्साह थपिएको छ। र, करियर गतिवान् बनेको उनलाई महसुस हुन्छ।
‘हाम्रो देश सानो छ, त्यसैले मेरो र परिवारका लागि नेपालबाट आएर यहाँ मोडलिङ सुरुवात गर्नु ठूलो कुरा हो। मेरो परिवार मेरो काम देखेर गर्व गर्छ,’ उनी भन्छिन्, ‘यदि मलाई यो सब गर्न सम्भव छ भने मैले चाहेको जे सुकै पनि हासिल गर्न सक्छु।’

अनुवाद- भाेगडटकम