“ल! यो बुढी त अघिदेखि यहीँ छे त!”
“अनि त!”
“हुन त उसको नि दोहो¥याउने बेला भा’होला।”
“ह्म्म्म्...... कि सुटिङ भइरा हो!”
टिङ्ङ्ङ्ङ्!!!!
हामी एकअर्कालाई हेर्छौँ, त्यसपछि वरपर बडो सचेत भएर आँखा मात्रै नचाउँछौँ। अग्ला बिल्डिङ्का झ्यालतिर हेर्दा हाम्रा आँखामा अलि बल पर्छ।
“‘कन्टिन्युटी’ मा फसेको चुरोट हो कि साँच्चैको हो!”
“गुरिल्ला स्टाइलमा फिल्मको सुटिङ् भइरा’छ, पक्का हो।”
“हामी नि हुनी भइयोन्त!”
“हे हे ...।”
“हामी अघि उब्भेको जसरी नै उब्भिम् त।”
“ह्म्म्म् ...”
“कतैबाट ‘याक्सन्’ सुन्नेबित्तिकै मुख छोपिहाल्नी हो। ‘हैट्! पैसा नभई त हुन्न’ भन्दिनी।”
“हा हा हा।”
बुढी ‘डाउनटाउन क्रसिङ्’ को ‘यार्ड’ मा ओल्याङ्–टोल्याङ् गर्दै छे। हामी उभिएतिर बाट एउटी युवती बुढी भएतिर जान्छे। उनीहरु ‘हग’ गर्छन्, अनि कुरा गर्न थाल्छन्। हामीले त्यो कुरा सुन्दैनौँ। बुढीलाई हामीले युवतीको ‘पी.ओ.भी.’ मा देख्छौँ। बुढीले के हो सोध्छे, युवतीले “थाहा छैन” भन्छे (युवतीको कुम् उचालाई र मुन्टो हल्लाईले हामीले अनुमान गरेका)। ‘प्यारामाउन्ट सिनेमा’ भएको रोडतिर बाट एकजना आउँदै गरेको देखिन्छ।
“यो प्रडक्सन् म्यानेजर होला, ‘एकलट् सब चेक् हान् त बाओ’ भनेर पठाको हो। अब सरर्र हेर्छ अनि ऊ.. (‘प्यारामाउन्ट’ भएतिर देखाएर) प..र पुगेर
‘वी आर गुड’ भनेर रिपोर्ट गर्छ।”
“हा हा हा ...।”
“अहिले तिम्रो हाँसो फस्च ‘कन्टिन्युटी’ मा अनि! धेरै नहाँस।”
बुढीले चुरोट फाल्छे, देब्रे गोडो तन्काएर चुरोट किचीमिची पार्छे र युवतीलाई ‘हग’ गर्छे।
“ओके हनी, आइल् सी यू अगेन।”
“वेल्, सी या।”
अन्तिमको संवादचाहिँ हामीले सुनेकै हो। भेट्ने बेलामा घ्याप्प अँगालो हाल्दा बोलेको कुरो कुमतिरै छोपिने भएर हो, छुट्टिने बेलामा त भेट्दाखेरीभन्दा चर्को बोल्छन् यतातिरका मान्छेहरु। हामीले सुन्न पाउँछौँ।
बुढीले एकफेर विदाइ मुस्कान छोड्छे र उसको पछिल्तिरको गहना पसलभित्र छिर्छे। हामी निकै सचेत भएर बुढीका ‘मुभमेन्ट’ हरु ‘ट्रेस’ गरिरहेका छौँ। भित्र छिरेपछि बुढी निस्किन्न। हामी अधैर्य हुन थाल्छौँ। आउँछे भन्यो आउँदिन। अघि ‘प्यारामाउन्ट’ भएको गल्लीतिरबाट आउने मान्छेचाहिँ आउला नि त भनेको, त्यो पनि आउँदैन। त्यसपछि अघिकै जस्तो विस्तारै आँखा नचाउँछौँ।
“केही नि हैन, त्यो बुढीले दोस्रोचोटी चुरोट तान्नी बेला भा हो। हामी त्यस्सै फुक्र्या हो”, हामीले मनमनै निकालेको निचोड यस्तो थियो। न मैलै न समुनाजीले, कसैले पनि कसैलाई केही भन्नै परेन। तर लगालग चौँथो साँझ ‘डेभिस स्क्वायर’ बाट ‘सलिभन’ सम्म बसमा उभिँदा मेरो पछिल्तिर ‘डेन्जल वासिङटन’ जस्तै गम्भीर अनुहार देखेको थिएँ। अनि यहीँको फुडकोर्टमा दुईफेर ‘सुसन स्यारान्डन’ जस्तै युवती दाहिने हातमा ‘फाउन्टेन ड्रिंक’ लिएर मेरो छेउबाटै गएकी थिई। ‘क्यान्सस एयरपोर्ट’ मा ‘बस्टन’ को फ्लाइट पर्खिँदा ‘स्पीलबर्ग’ जस्तै चस्मे बुढो देखेको कुरा मैले समुनाजीलाई पनि सुनाएको थिएँ त्यही भएर दिमाग हुँडल्लिएको हो। यी सबै संयोग मात्रै हैनन् भन्ने भएको हो।
के सत्य हो, के सत्यजस्तो बनाएर देखाइएको हो, के आख्यान हो, के के हो, कहिलेकाहिँ सबै मिसिइन्छन्। ‘जफर पनाही’ जस्ता फिल्ममेकरले यथार्थ र काल्पनिकी मिसाइदिन्छन् आफ्नो फिल्ममा, अनि जे देखे पनि ‘फिल्म नै बनाइरा हो कि क्या हो!’ जस्तो लाग्दिने हामीलाई चहिँ।
...
धेरै कुरामा म मठ्ठै थिएँ। म फिल्म हेर्थेँ तर फिल्ममेकरहरुले फिल्मको माध्यमबाट ‘पोलिटिकल स्टेटमेन्ट’ दिन सक्छन् र दिँदा रैछन् भन्ने कुरा मेरो बुझाईको वृत्तभन्दा धेरै परको कुरा थियो। ‘यु.टी.भी. वल्र्ड मुभिज’ मा ‘जफर पनाही’ का ‘द ह्वाइट बलुन’, ‘द सर्कल’ ‘द मिरर’ र ‘अफसाइड’ हेरेको थिएँ। उनले ती फिल्महरुमार्फत इरानी समाजको चित्र त्यहाँको सरकारका अघिल्तिर राखिदिएका रैछन् र सरकारचाहिँ उनलाई निरुत्साहित गर्दो रैछ। यो कुरालाई मैले खाली “फिल्म इज अ रिफ्लेक्सन अफ द सोसाइटी” भन्ने ‘क्लिसे’ मार्फत् बुझेको रैछु।

यज्ञश त्यतिबेला दिनमै ७–८ वटा फिल्म हेर्ने भनेर चर्चित थिए। उनैको सौख पछ्याउँदै हेरेका फिल्महरु मध्येकै हो ‘पनाही’ का फिल्महरु पनि। गाइँगुइँ त सुनेकै थिएँ तर उनले फेसबुकमा लेखिदिए, “‘पनाही’ लाई इरानी सरकारले जेल हालेको विरोधमा भोलि प्रदर्शनीमार्गमा जम्मा होऔँ।”
केदार शर्माले ‘पनाही’ को रिहाईका लागि फेसबुकमै ‘पेटिसन’ सुरु गरेका थिए। डिसेम्बर २६ को बिहान, पुलिस क्लबको बाहिरपट्टीको चिया दोकाननेर “‘पनाही’ लाई रिहा गर्” लेखेका प्लेकार्डहरु बोक्नेमा मैले चिनेका केही नामहरु थिए– अनुप बराल, केदार शर्मा, यज्ञश र मनोज पण्डित। नवीन सुब्बा थिए कि थिएनन् बिर्सेँ। मैले पनि हातमा एउटा प्लेकार्ड बोकेँ।
त्यहाँ जम्मा भएकाहरुसित म पनि हिँडेको थेँ। म त के पो भन्थेँ र! मेरो विवेक नै समृद्ध थिएन। तर मेरो उपस्थितिले एउटा ६ वर्षजति पहिलाको घटना याद आएको थियो मलाई। ‘रेडन कलेज’ मा पत्रकारिता पढ्दा एउटा क्लासमा पत्रकार पुरुषोत्तम दाहाल हाम्रो ‘गेस्ट लेक्चर’ बनेर आएका थिए। उनको पत्रकारिता र मानवअधिकारसम्बन्धी कुनै संस्था थियो। हामी विद्यार्थीहरुलाई उनले निम्ता गरे। केही दिनपछि हाम्रा गुरु रामजी दाहालले त्यहाँ लिएर गए। संस्थाको सदस्य बन्ने कुरो चल्यो। घर पुगेर कुरो चुहाएँ। कुरो चुहियो मात्रै। उतिबेला घरका मान्छे बाहेकका अरु सबैलाई सबै कुराको खोजीनिति हुन्थ्यो। अर्को दिन घरमा को–को के–के कुरा गर्दै थिए, मेरो कानमा ठोक्कियो, “सप्पै कांग्रेसी कांग्रेसीको संस्था हो त्यो।”
मैले प्लेकार्ड बोक्नेहरुको भीडमा कांग्रेसी अनुहार खोज्न थालिनँ। कुनै पनि अनुहार मलाई त्यहाँ लस्करै उभिएका सरकारी क्याम्पसबाट निस्किने जुलुसहरुमा देखिने जस्तो अनुहार लागेन। जुलुस मलाई मन पर्दैनथ्यो, तर त्यतिबेला मनमनै मैले मेरो उपस्थितिलाई सदर गरेँ, “फिल्म बनाउन पाउनु पर्छ। ‘पनाही’ ले अब फिल्म बनाएनन् भने मैले हेरेका जस्ता फिल्महरु फेरि हेर्न पाउँदिनँ।” ‘मजिद मजिदी’, ‘अब्बास किरोस्तामी’, ‘मोहसेन मख्मलबाफ’ र ‘समिरा मख्मलबाफ’ लाई मैले फिल्महरुबाट चिनेको थेँ। यीमध्ये कसैमाथि पनि फिल्म बनाउन प्रतिबन्ध लाग्नु भनेको मेरो फिल्म हेर्ने श्रृंखलामा एउटा नराम्रो ‘टर्निङ् पोइन्ट’ आउनु हो भन्ने चाहिँ त्यतिबेला थियो मलाई।
...
पनाही ‘हाउस एरेस्ट’ मा छन्। आफ्नो वकिलसँग फोनमा कुरा गर्छन्। २० वर्षको प्रतिबन्ध रहन सक्छ तर ६ वर्षे जेल सजायमा ‘डिस्काउन्ट’ हुन सक्छ भन्ने कुरा भएको छ। डकुमेन्ट्री फिल्ममेकर साथीलाई क्यामेरा लिएर आउन भनिसकेका हुन् अघि नै। श्रीमती र छोराछोरी ‘फायरवकर््स’ हेर्न गएको भएर एक्लै छन्, घरमा पालेको गोहीलाई खाना खुवाउनु पर्नेछ। पक्राउ परेर जेल चलान हुँदा उनी फिल्मको सुटिङ् गर्दै थिए। साथी आएपछि ‘पनाही’ ले सुटिङ् रोकिएको त्यही फिल्मको स्क्रिप्ट पढ्दै र पहेँलो टेपहरु लिभिङ् रुमको बीचतिर टाँसेर सेटको ‘ब्लकिङ्’ पनि गर्दै अभिनय गरेको दृश्य खिच्ने काम हुन्छ। ती कहाँ कसरी र कुन तरिकाले ‘सुट्’ गर्ने योजना थियो, सबै सुनाउँछन्। सुनाउँदा सुनाउँदै एकफेर निःशब्द हुन्छन् र भन्छन्, “यसरी पढेर हुने भए फिल्म किन बनाउनु पथ्र्यो?”
एउटा स्रष्टालाई “तैँले तेरो सिर्जनाकर्म रोक्नुपर्छ” भनिदिएपछिको पीडा गहिरोगरी देख्न सक्छन् फिल्म हेर्ने मान्छेहरुले पनि। मलाई १० दिन विपश्यना बस्दा ‘लेख्नेवर्ने केही गर्न पाइँदैन’ भन्दाखेरीको छट्पटीले त त्यस्तो गाह्रो पारेको थियो, उनलाई त झन् २० वर्ष फिल्म बनाउने, स्क्रिप्ट लेख्ने, अन्तर्वार्ता दिने र घरबाहिर जाने केही गर्न नपाउने भनिएको थियो। तर सिर्जना गर्ने मान्छेको सिर्जनाकर्म जसरी र जुनसुकै परिस्थितिमा पनि अनेक तरिकाले प्रकट हुन्छन् भन्ने दह्रो प्रमाण ‘पनाही’ ले यसरी दिन्छन्। उनले आफ्नो उकुसमुकुस यसरी पोख्छन्, घरभित्रैको कैदको अवस्थामा आफूलाई र आफ्ना ‘लिमिटेसन’ लाई क्यामेरामा ‘सेभ’ गर्छन् र फिल्म भन्न मिल्ने केही बन्छ कि बन्दैन भन्ने त्यही अन्योल नै ‘दिस इज नट अ फिल्म’ बनेर ‘कान्स फिल्म फेस्टिभल’ पुग्छ। त्यसपछि बनाएका उनको ‘क्लोज्ड कर्टेन्स्’ र “ट्याक्सी” पनि मलाई एकदम मन परेका हुन्। ‘क्लोज्ड कर्टेन्स्’ को बारेमा एकजना फिल्म ‘क्रिटिक’ ले लेखेका रैछन्, “ब्यान अ फिल्म डिरेक्टर एण्ड यु विल गेट अ मास्टरपिस।”
...
पहिला ‘पनाही’ ले अरुका माध्यमबाट कथा भन्थे तर प्रतिबन्धपश्चात् आफ्नै परिस्थिति र आफूलाई नै कथाको ठूलो क्यानभास बनाएर गहन चित्रहरु बनाए। यो कुरा विशेष याद गर्नुपर्छ। फिल्म बनाउन नपाउनुको छट्पटी देखाउने अर्को दृश्य पनि थियो ‘दिस इज नट अ फिल्म’ मा। ‘पनाही’ ले आफ्ना फिल्महरु डी.भी.डी. प्लेयरमा चलाए अनि तिनका केही दृश्यलाई रोक्दै तिनका बारेमा बुझाए पनि। एउटा फिल्ममा केटी दौडिरहेको ‘सट्’ थियो। केटी दौडिरहँदा देखिएका ‘रेलिङ्’ हरुतिर औँल्याएर भने, “कुनै कुनै फिल्मलाई ‘लोकेसन’ ले निर्देशन गर्छन्।” अनि ‘क्रिमसन गोल्ड’ को एउटा दृश्य रोकेर भने, “यसमा मैले यो क्यारेक्टरले यसो गर्छ, उसो गर्छ भनेर लेखेँ तर यो ‘नन् एक्टर’ ले यो ‘सट्’ मा आफ्नो हातको हाउभाउ यस्तोसँग ‘प्ले’ गर्यो नि, कोही बेला ‘एक्टर’ ले निर्देशन गर्छ फिल्मलाई। उनले जब यी सबै भने, खास सन्दर्भ थिएन। उनी सुटिङ् रोकिएको फिल्मको कथा भन्दै थिए, रोकिए, अरु कुरा गरे, एउटा ‘क्रियटिभ’ मान्छे केही ‘क्रिएट’ गर्न नपाउँदाखेरी कति ‘इम्पेसेन्ट’ हुनसक्छ भन्ने कुरा देखाए।
‘ट्याक्सी’ मा ‘पनाही’ आफैँ ट्याक्सी ड्राइभर बनेका छन्। यो फिल्म यसअघिका फिल्महरुजस्तो लुकीछिपी बनाएको फिल्म हैन। यसमा उनी ‘तेहरान’ को सडकमा ट्याक्सी चलाउँदै हिँडेका छन्। मान्छेहरु भेटेका छन्। यो पनि यथार्थ जस्तो, काल्पनिकीजस्तो ‘डकुफिक्सन’ हो। “फिल्म बनाउन पो नपाउने भनेको त, ट्याक्सी चलाउन नपाउने भनेको छैन त!” भन्ने कुरा पनि गरेका थिए अरे ‘पनाही’ ले। ‘ड्यारेन आरोनोफ्स्की’ ले ‘बर्लिन फिल्म फेस्टिभल’ को जुरी हुँदाखेरी यो फिल्मको बारेमा भनेका रैछन्, “‘जफर पनाही’ ले सिनेमालाई दिएको प्रेमपत्र हो यो।”
...
छुट्दै गरेका रेल, जाँदै गरेका मान्छे, बत्तीको झिलिक्क अनि मधुरो हुँदै हराउने आवाज– यस्तैमा ‘पनाही’ ले भनेको कुरा फेरि याद आउँछ, “यसरी भनेर हुने भए फिल्म किन बनाउनुपथ्र्याे?”
मलाई ‘जफर पनाही’ ले सिनेमालाई दिने अरु प्रेमपत्रहरु पनि हेर्नुछ।