अमेरिकाको संघिय न्याधीशले अमेरिकी समाचार संस्था सिएनएनका पत्रकार जीम एकोस्टालाई अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा छिर्ने प्रेस अनुमति पुनःबहाली गर्ने आदेश दिएको छ। हाललाई अदालतले अस्थाई आदेश दिएको हो।
सिएनएनले ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना पत्रकार र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच विवाद भएपछि उनको प्रेस अनुमति खारेज गर्ने ह्वाइट हाउसको निर्णय विरूद्ध मुद्धा दायर गरेको थियो।
शुक्रबार अमेरिकी जिल्ला अदालतका न्याधीश तिमोथी केलीले ह्वाइट हाउसलाई एकोस्टाको प्रेस परिचय पत्र दिन आदेश दिएका हुन्। उनले यो आदेश अस्थाई भएको र मुद्धा अझै विचाराधीन भएको पनि आदेशमा उल्लेख गरेका छन्। ह्वाइट हाउसको सो कदम 'पाँचौ संसोधन' प्रदत्त अधिकार विपरित भएको भेटिएको केलीको भनाइ छ।
केलीले ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सार्हा सान्डर्सले एकोस्टाको प्रेस अनुपतिपत्र खारेज गर्ने बारेमा दिएको प्रारम्भिक बयान झुटो भएको र सोको बारेमा प्रश्न गर्ने आधार रहेको उल्लेख गरेका छन्।

सान्डर्सले एकोस्टालाई ह्वाइट हाउसकी प्रशिक्षार्थी कर्मचारीले माइक लिनेक्रममा उनलाई छोएको अभियोगमा उनको अनुमति रद्ध गरिएको बयान दिएकी थिइन्।
अदालतको आदेशपछि ह्वाइट हाउसले अस्थाइरूपमा एकोस्टालाई ह्वाइटहाउसमा प्रवेश दिने बताएको छ।
'हामी भविष्यमा निष्पक्ष र नियमसंगत पत्रकार सम्मेलनका लागि नियम र प्रक्रियाको निर्माण गर्नेछौ', अदालतको आदेशपछि सान्डेर्सले भनिन्।
त्यस्तै राष्ट्रपति ट्रम्पले अदालतले अनुरोध बमोजिम प्तरकार सम्मेलनका लागि केहि स्तर निर्माण गरिरहेको बताएका छन्।
'हामी नियम र नियमन लेख्दैछौं'',राष्ट्रपति ट्रम्पले संवाददाताहरूसँग भने, ' हामी पूर्ण प्रेस स्वतन्त्रता चाहन्छौ। हामी अदालतले अनुरोध गरे बमोजिमको केहि स्तरहरू निर्धारण गर्दैछौ।'
अदालतको आदेशपछि एकोस्टाले 'हामी काममा फर्कौं', भन्ने प्रतिक्रिया दिए।