
विगत ६ वर्ष देखि अमेरिकामा विभिन्न सहरहरूमा पैदल यात्रा गरेर नेपालका सामाजिक सङ्घ संस्थाहरूलाई सहयोग जुटाउँदै आइरहेको संस्था 'वाक फर नेपाल'ले यस वर्ष अमेरिकाको डालस सहरमा आज एक पैदल यात्राको आयोजना गरेको छ।
स्थानीय बाकमन लेक पार्कमा आयोजित ५ किलोमिटरको पैदल यात्रामा २५ हजार अमेरिकी डलर सङ्कलित भएको आयोजकहरूले जनाएका छन्। सङ्कलित सम्पूर्ण रकम नेपालको धुलिखेल अस्पतालका सर्भिकल क्यान्सरको जाँचमा प्रयोग गरिने उपकरणको खरिदमा लागी प्रयोग हुनेछ।
यो वर्षको पैदल यात्रा कमला शाक्य फाउन्डेसनका लागी समर्पित थियो, जस अनुसार अनुदान रकम पनि फाउन्डेसन मार्फत नेपालको सहयोगकालागी प्रयोग हुने आयोजक मध्यका एक युवा प्रदीप गिरीले सेतोपाटीलाई बताए।
केही महिना अघि मात्र 'सर्भिकल क्यान्सर'का कारण ज्यान गुमाएकी स्थानीय समाजसेवी कमला शाक्यको स्मृतिमा स्थापित कमला शाक्य फाउन्डेसन
ले नेपालमा सर्भिकल क्यान्सर सँग सम्बन्धित कार्यहरूको सुरुवात गरेको फाउन्डेसनले जनाएको छ।
वाक फर नेपालले हरेक वर्ष नेपालमा कार्यरत केही सामाजिक संस्थाहरूलाई उनीहरूको कामको प्रकृति हेरी 'स्पोन्सर' गर्दै पैदल यात्रामार्फत उठेको रकम उपलब्ध गराउने गरेको छ।