गत जनवरी २३ मा दक्षिण अमेरिकी देश भेजेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मदुरोका विरुद्ध प्रमुख प्रतिपक्ष दलका नेता जुआन गुएडोले आफू भेनेजुएलाको अन्तरिम राष्ट्रपति भएको घोषणा गरे सँगै अहिले भेनुजुएला राजनैतिक सङ्कटले गुज्रिएको छ ।
अमेरिका लगायत बेलायत, फ्रान्स, युरोपियन युनियन लगायत ल्याटिन अमेरिकी देशहरूले विपक्षी नेता जुआन गुएडो भेनेजुएलाको आधिकारिक राष्ट्रपतिको मान्यता दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले चेतावनी दिँदै वर्तमान राष्ट्रपति मदुरोलाई शान्तिपूर्ण तवरले राजनैतिक समाधान खोज्न अन्यथा आफूसँग “सैनिक हस्तक्षेपको “ विकल्प सुरक्षित रहेको धम्कीपूर्ण सन्देश दिएका छन् । तर राष्ट्रपति मादुरोले राष्ट्रपति ट्रंपको धम्कीलाई बेवास्ता गर्दै , कुनै पनि अमेरिकी हमलाको प्रतिरोध गर्न आफू सक्षम रहेको र उनले त्यसको बेवास्ता गरे परिणाम भियतनाम युद्ध भन्दा खतरनाक हुने भन्दै कडा जबाफ फर्काएका छन् ।
साथै अमेरिका सँग सबै कूटनैतिक सम्बन्धहरू भङ्ग भएको घोषणा गरेका छन् । र, अमेरिकी कूटनीतिज्ञलाई ७२ घण्टाभित्र मुलुक छाड्न अल्टिमेटम दिएका छन् ।अमेरिकाको नेतृत्वमा भियतनाम भएको युद्धमा लाखौँको ज्यान गएको थियो। त्यसमध्ये ५८ हजार भन्दा बढी अमेरिकी थिए।
अमेरिकी राष्ट्रपति ट्रंपको उक्त धम्की लगत्तै चीन र रसियाले पनि खुलेर नै राष्ट्रपति मदुरोको समर्थन गरेका छन् । त्यस कारण , भेनेजुएलाको राजनैतिक सङ्कटको गहिराई सोचेभन्दा निकै गहिरिने प्रस्ट देखिन्छ । तर राजनैतिक चपेटाको चेपुवामा सर्व साधारण जनताहरू नराम्रो सँग पिल्सिएका छन् ।
रशियाली राष्ट्रपति भ्लादिमिर पुटिनले त मदुरोलाई टेलिफोन गरी आफू भेनेजुएलाको पक्षमा रहेको दह्रो समर्थन जनाएका छन् । साथै रास् पुटिनले भेनेजुएलामा उत्पन्न सङ्कट बाहिरी मुलुकको उक्साहटमा भएको बताएका छन् ।
अर्को चाखलाग्दो कुरा , भेनेजुएलालाई सबैभन्दा बढी ऋण उपलब्ध गराउँदै आएको चीनले पनि बाह्य शक्तिले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेकाप्रति आपत्ति जनाउँदै रुस पछि आफ्नो समर्थन जनाएको छ ।
तर अहिले भेनेजुएलाको आर्थिक अवस्था भने भयाभह छ । विश्व बैङ्कका अनुसार सन् २०१५ मा कुल गार्हस्थ उत्पादन ६ प्रतिशतले घटेको थियो । २०१६ मा त्यो सङ्ख्या बढेर १६ प्रतिशतले पुगेको थियो । सन् २०१७ र २०१८ मा १४ प्रतिशतले घटेको थियो ।
मदुरो सत्तामा आएको वर्ष सन् २०१३ मा मुद्रास्फिति दर ४३ प्रतिशत बढ्न गयो भने सन् २०१८ मा एक लाख प्रतिशत भन्दा बढी नाघेको छ । महँगीले आकाश छोएको छ । र लाखौँ मानिसहरू पलायन भएर बाहिर जाने क्रम ह्वात्तै बढेको बढेको छ । दैनिक जसो हिंसात्मक झडपले भेनेजुएला अहिले विक्षिप्त बनेको छ ।
सरकार विरोधी प्रदर्शनमा अमेरिकी प्रत्यक्ष समर्थन भएकोले दिनहुँ जसो सरकार विरोधी गतिविधिले भेनेजुएलाको सडक अस्तव्यस्त बनेको छ ।जनजीवन हाहाकार बनिरहेको छ ।
राष्ट्रसंघको रिपोर्टअनुसार यस वर्ष मात्रै २० लाख भेनेजुएलीले देश छोडिसकेका छन् भने सन् २०१९ सम्म ५० लाखले देश छाड्ने अनुमान गरिएको छ । उनीहरू शरणार्थीका रूपमा विशेषतः दक्षिण अमेरिकी तथा क्यारेबियन मुलुकमा शरण लिन पुगेका छन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर) र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम)का अनुसार बढ्दो राजनीतिक तथा आर्थिक सङ्कटका कारण दैनिक हजारौँ भेनेजुएली नागरिकले देश छाडिरहेका छन् । यी निकायका रिपोर्टअनुसार २४ लाख भेनेजुएली छिमेकी तथा नजिकका मुलुकमा शरण लिन पुगेका छन् । सबैभन्दा बढी कोलम्बियामा मात्रै १० लाखभन्दा बढी भेनेजुएलनले शरण लिएका छन् । ।
भेनेजुएला कस्तो देश हो ?
बोलिभियन रिपब्लिक अफ भेनेजुएला करिब ९ लाख १६ हजार ४ सय ४५ वर्ग्किलोमिटरको दक्षिण अमेरिकी राष्ट्र हो। यो देशको वरिपरि ब्राजिल, निकारागुआ, कोलम्बिया छन्। त्यसभन्दा माथि उत्तर अमेरिकी देश पानामा र मेक्सिको छ। सऊदी अरबभन्दा बढी तेल भण्डार भएको भेनेजुएलाको आम्दानीको ९५ ५ भन्दा बढी आय तेलको निर्यातबाट हुने गर्छ । तेलको ठुलो भण्डार भएको देश भएकाले विश्वका साम्राज्यवादी पुँजीवादी देशहरूले आँखा गाडेका छन् ।
करिब २६ भाषाभाषी भएको उक्त देश सन् १५२२ देखि स्पेनले शासन गरेको थियो। पछि सन् १८११ मा यो देश स्वतन्त्र भएको हो । स्पेनबाट मुक्त भएपछि फेरि भेनेजुएला भेडरल रिपब्लिक अफ ग्रान कोलम्वियाको एउटा हिस्सा रह्यो। फेरि पछि सन् १८३० मा पूर्ण स्वतन्त्रता भयो।
अनेक आरोह अवरोह पार गर्दै भेनेजुएला अहिलेको अवस्था सम्म आइपुगेको छ ।
भेनेजुएलाको अहिलेको अवस्थामा पुग्नुमा सङ्कटपूर्ण अर्थ राजनीतिक स्थिति र चरम भ्रष्टाचारको बिचमा सन् १९९८ मा उदाएका पूर्व राष्ट्रपति ह्युगो चावेज पनि थोर बहुत जिम्मेवार छन् । चावेजले तेलको निकासी व्यापार वाट आएको आम्दानीले नै समाजवाद निर्माण गर्ने कोसिस गरे । उनले देशको औद्योगिक क्रान्ति, कृषि क्रान्ति आदि समग्र आर्थिक प्रवर्गहरुको क्रान्तिमा जोड दिएनन् । जसले गर्दा सरकारको प्रमुख आयस्रोत तेल निकासी मात्र बन्यो ।
को हुन् मदुरो ?
वामपन्थी विचारधाराका मदुरो पूर्व बस चालक तथा युनियन कार्यकर्ता समेत हुन् सन् २०१३ मा लोकप्रिय नेता ह्युगो चाभेजको मृत्युपछि उनी भेनेजुएलाको राष्ट्रपतिको रूपमा सत्ताको बागडोर सम्हालेका थिए ।
पछिल्लो पटक गत २० मे मा भएको चुनावमा उनी पुन सन् भेनेजुएलाको राष्ट्रपतिको रूपमा आगामी ६ वर्षका लागि अनुमोदित भएका थिए ।उक्त समय मादुरोले ६८ प्रतिशत मत प्राप्त गरी निर्वाचित भएका थिए । तर उक्त समय विपक्षीले भने उक्त निर्वाचन बहिष्कार गरेका थिए ।त्यस कारण उक्त निर्वाचनको बैध्यता माथि बारम्बार प्रश्न उठ्ने गरेको छ ।
हुन त उक्त निर्वाचन पश्चात् मादुरोमाथि दबाब सिर्जना गर्दै लिमा समूहका अर्जे्न्टिना, ब्राजिल, क्यानडासहित विभिन्न १४ मुलुकले आफ्ना राजदूतहरूलाई भेनेजुएलाबाट फिर्ता बोलाएका थिए । निर्वाचनलाई उनीहरूले अवैधानिक भन्दै मान्यता नदिने घोषणा पनि गरेका थिए । अमेरिका, क्यानडा, युरोपेली युनियन र करिब एक दर्जन ल्याटिन अमेरिकी मुलुकले पनि निर्वाचनलाई मान्यता नदिने घोषणा गरेका थिए ।तर हक्की स्वभावका मादुरो उक्त अन्तर्राष्ट्रिय दबाब बाट टसमस भएनन् ।
उनले पूर्व राष्ट्रपति ह्युगो चाभेजको समाजवादी नीतिलाई निरन्तरता दिएका छन् । सम्पूर्ण तेल खानी माथि सरकारको नियन्त्रण छ । तर, पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा इन्धन तेलको मूल्यमा गिरावट आएको र त्यसले राष्ट्रिय आयमा ठुलो गिरावट ल्याएको कारणले गर्दा भेनेजुयलाको अर्थतन्त्रमा नराम्रो धक्का पुगेको छ ।
ह्युगो चाभेजको छायामा मदुरो
ह्युगो चाभेजको उदय हुन पूर्व ( सन् १९९८ )भेनेजुयलामा अमेरिकी समर्थक मध्यम तथा उच्च अभिजात वर्गले सधैँ नै निर्वाचनमा जित हासिल गर्दै आएका थिए । र, इन्धन तेलमा धनी देश भेनेजुयलाका अधिकांश तेल खानीहरू अमेरिकी कम्पनीहरूको हातमा थिए । देशको अर्थतन्त्र अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूको मुठ्ठीमा थियो । यसले गर्दा भेनेजुयलाका बहुसङ्ख्यक श्रमिकहरूको आर्थिक स्थिति निकै नाजुक अवस्थामा थियो । राष्ट्रिय आय विदेशी कम्पनीहरूको दयामा भर पर्दथ्यो ।
राष्ट्रपति पदमा निर्वाचित भए लगतैदेखि चाभेजले अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूको कब्जामा रहेका आफ्नो देशको भूमिमा रहेका इन्धन तेल उत्खनन र प्रशोधन उद्योगहरूलाई राष्ट्रियकरण गरी त्यसबाट प्राप्त हुने आयलाई गरिब श्रमिक जनता तथा पिछडिएका गाउँहरूको विकास निर्माण कार्यमा लगाए । यसबाट उनी र उनको पार्टी बहुसङ्ख्यक श्रमिक वर्ग तथा गाउँका गरिब किसान एवं निम्न आयका जनतामाझ त लोकप्रिय भए नै, तर उनी र उनको पार्टी देखी भेनेजुयलाका मध्यम तथा उच्च अभिजात वर्ग र अमेरिकालगायत पश्चिमा पुँजीवादी मुलुकहरू निकै नै रिसाए ।
लोकप्रियताको शिखर चढ्दै गर्दाको स्थितिमै सन् २०१३, मार्च ५ मा नेता ह्युगो चाभेजको असामयिक निधनपछि अहिलेका राष्ट्रपति निकोलस मदुरोले चाभेजको समाजवादी नीतिलाई निरन्तरता दिएका छन् । त्यस कारण पनि पश्चिमाहरू कुनै न कुनै बहानामा वर्तमान राष्ट्रपतिको बहिर्गमन चाहन्छन् , अहिलेको राजनैतिक सङ्कटको मुख्य कुरो यही हो ।
पश्चिमाहरूको सामरिक तथा रणनीतिक महत्त्वको देश
भेनेजुएला पश्चिमाहरूको लागि रणनीतिक एवं सामरिक हिसाबले पनि महत्त्वपूर्ण देश हो। त्यहाँको समुद्री बाटो मार्फत पुरै क्यारिबयनलाई देशहरूको नियन्त्रण गर्न को लागि भेनेजुएला अत्यन्त महत्त्वपूर्ण देश हो । त्यस कारण नै अमेरिकाले बुस प्रशासनका साथ बोलिवेरियन क्रान्तिलाई विफल पार्ने प्रयास गरेको थियो। सन् , २००२(मा अमेरिकीहरूले सत्ता पलट गरेका थिए । तर लोकप्रिय समर्थनले गर्दा अमेरिकी सत्ता पल्ट धेरै दिन टिकेन ।पुन सन् चावेजको पुनर्बहाली भएको थियो। सफल अमेरिकी प्रशासनले मदुरो सरकारलाई अस्थिर पार्नका लागि कडा मेहनत गरेको छ। पूर्व अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले सैन्य सत्तापलटको सम्भाव्यतालाई बढाएका थिए । मदुरोमाथि महाभियोग लगाउन र मानवीय सङ्कटलाई रोक्नका लागि बलको प्रयोग गर्न नेशनल एसेम्बलीलाई समेत आह्वान गरिएको थियो। यसप्रकारका कडा हस्तक्षेपहरूले मुलुकलाई ध्रुवीकरण गरेको छ।
अमेरिकी सत्ता पलटको अर्को उदाहरण हो ( १९५४(मा ग्वाटेमालामा जकोबो अर्बेन्ज सरकार विरुद्ध सीआईए समर्थित सत्तापलटको घटना ।साथै , १९६२ को क्युबाको(मा मिसाइल सङ्कट, १९६५(मा डोमिनिक गणराज्यमा सैन्य हस्तक्षेप र १९७३(मा चिलीमा साल्भाडोर एलेन्डे सरकार विरुद्ध सैन्य सत्ता पलट जस्ता घटनाहरूमा ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेप एउटा गतिलो उदाहरण बनेको विश्व इतिहास हो ।पछिल्लो भेनेजुएला प्रकरण एउटा थप इतिहासको निरन्तरता बनेको छ ।
तर , अहिले भेनेजुएलामा सेनाले समाजवादी नेता मदुरोलाई निरन्तर समर्थन गर्दै आएको छ । सेनाका उच्च अधिकारीसहित रक्षा मन्त्री तथा जनरल भ्लादिमिर पाद्रिनोले मदुरोलाई ‘वैध राष्ट्रपति’ भएको भन्दै सत्ता ‘कु’ को कोसिसका विरुद्ध मदुरोलाई साथ दिने सङ्कल्प गरेका छन् । त्यस लगत्तै अन्य आठ जना सैनिक जनरलले पनि मदुरोप्रति पूर्ण बफादारी जनाएका छन् । यसका साथै भेनेजुएलाको सर्वोच्च अदालतले पनि मदुरोसँग भेनेजुएलाको ‘वैध अधिकार’ भएको पुनः पुष्टि गरेको छ ।
अदालतका अध्यक्ष माइकल मोरेनोले ‘भेनेजुएलामा विदेशी सरकारको सहमतिबाट सत्ता ‘कु’ को कोसिस भइरहेको’ उल्लेख गरेका छन् ।सोही क्रममा भएको झडपमा १३ जनाको मृत्यु भएको खबर आएका छन् भने अन्य थुप्रै घाइते भएका छन् । विश्वको सर्वाधिक ठुलो तेल भण्डारण मुलुकहरूमध्ये एक रहेको भेनेजुएलामा सङ्कट आउनु एक विडम्बना हो। मुलुकमा तेलबाट निर्यात आय ९८ प्रतिशत रहेको छ जो सकल घरायसी उत्पादक ५० प्रतिशत हिस्सा हो। भेनेजुएलामा आर्थिक र राजनीतिक अराजकता मुलुकको उत्थान एवम् पतनको एक विशिष्ट मामिला हो।