युक्रेनले सैनिक प्रमुख भ्यालेरी ज्यालुज्नीलाई हटाउने भएको छ।
उनलाई हटाउनेबारे युक्रेनले शुक्रबार अमेरिकालाई जानकारी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।
हतियार खरिदमा सेनाले भ्रष्टाचार गरेको रिपोर्टहरू आउन थालेपछि सेना प्रमुख ज्यालुज्नी र राष्ट्रपति भोल्दोमिर जेलन्स्कीबीच टकराब बढेको थियो।
ज्यालुज्नीलाई धेरै अगाडिदेखि नै सेना प्रमुखबाट हटाउनुपर्ने विषय उठेको थियो।
अघिल्लो वर्ष रूसविरूद्ध आक्रमण गर्दा युक्रेनी भूमि रूसको नियन्त्रणबाट फिर्ता गर्न नसकेको भन्दै ज्यालुज्नीलाई हटाउनुपर्ने विषय उठेको थियो।
पछिल्लो समय रूसविरूद्धको युद्धमा पाँच लाख सैनिक परिचालन गर्नुपर्ने ज्यालुज्नीको प्रस्तावमा राष्ट्रपति जेलन्स्की असहमत थिए। सेना प्रमुखसँग टकराब बढ्न थालेपछि उसलाई बर्खास्त गर्न लागिएकोबारे युक्रेनले अमेरिकालाई जानकारी दिएको हो।
यसमा ह्वाइट हाउसले भने तत्काल कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ।
तर, युक्रेनी अधिकारीहरूले ज्यालुज्नीलाई हटाउने प्रस्तावमा अमेरिका सहमत भएको दाबी गरेका छन्।
रूस-युक्रेन युद्धमा अमेरिकाले युक्रेनलाई समर्थन गर्दै आइरहेको छ। उसले युक्रेनलाई हतियारदेखि बजेटसमेत सहायता गर्दै आएको छ।
पछिल्लो समय रिपब्लिकन सांसदहरूले युक्रेनलाई अमेरिकाले दिँदै आएको सहायताबारे विचार गर्नुपर्ने बताउँदै आएका छन्।