ग्लोबल नेपाली
सन् २००७ मा इसराइल पुगेका माधव दुलाल अर्को साल लगत्तै क्यानडा पुगे। त्यो बेला इसराइल गएर केही समय काम गर्ने र त्यहाँबाट युरोप, अमेरिका, क्यानडा जाने लहर नै चलेको थियो।
हेटौंडाका माधव नेपालमा सिएमए पास गरेर काम गरिरहेका थिए। केयर–गिभरका रूपमा इसराइल गएका उनी निर्माण कम्पनीमा काम गर्न कामदार भिसामा क्यानडा पुगे।
उनले सुनेको भन्दा भोगेको क्यानडा फरक थियो।
'क्यानडा कस्तो हो भन्ने नभोगी थाहा नहुने रहेछ। मैले पनि पुगेपछि मात्र थाहा पाएँ,' उनले भने, 'सुरूका दिनमा निर्माण कम्पनीमा काम गरेँ। त्यसपछि लामो समय वालमार्टमा काम गरेँ।'
अहिले उनी बीमा र लगानीको क्षेत्रमा कार्यरत छन्।
क्यानडामै उनले बीमा अभिकर्ता तालिम लिए र 'फाइनान्सियल प्लानर' को तीन वर्षे डिप्लोमा सके। सन् २०१४ मा 'एक्सपेरियर फाइनान्सियल ग्रुप' स्थापना गरे। उनी ग्रुपका कार्यकारी निर्देशक हुन्।
'म जस्तै बीमा र लगानीको क्षेत्रमा काम गर्ने नेपाली र विदेशीलाई सिकाउँछु, सिक्छु। मसँग २५० जनाको टिम छ,' उनले भने, 'सारांशमा भन्ने हो भने एउटा फाइनान्सियल एड्भाइजर (आर्थिक सल्लाहकार) का रूपमा काम गर्छौं।'
उनीहरू म्युचुअल फन्ड डिलरका रूपमा, थोरै पैसामा विभिन्न क्षेत्रमा लगानी गर्न सहजीकरण गर्छन्। जीवन बीमाको काम गर्छन्। परिवारका लागि जीवन बीमा कति महत्वपूर्ण छ भनेर सचेतना फैलाउने अभियानमा पनि सक्रिय छन्।
माधवका अनुसार क्यानडा जस्ता विकसित देशमा धेरैले घर बनाउने, गाडी किन्ने, व्यवसाय गर्ने ऋण लिएर (लोन) बाटै हो। यसका लागि आर्थिक सुरक्षा जरूरी पर्छ। त्यो भनेको बीमा हो।
'हामी सबै खाले बीमा उपलब्ध गराउँछौं। कुनै पनि अवस्थामा संकट नआओस् भनेर आर्थिक सुरक्षाका लागि काम गर्छौं,' माधवले भने।
यसरी पैसा नभएका बेला आर्थिक सुरक्षा गर्ने अनि पैसा भएका बेला कहाँ लगानी गर्ने भनेर ठाउँ खोज्ने काम उनको कम्पनीले गर्छ। त्यसैले आफूहरूलाई आर्थिक सल्लाहकार भनिने उनको भनाइ छ।
क्यानडामा बीमा धेरै व्यवस्थित रहेको उनले बताए। बीमा गर्नेले आफ्नो क्षतिपूर्ति लिन परेमा एजेन्टले नै सबै काम गरिदिन्छन्।
'क्यानडामा बीमा अभिकर्ता भनेको आर्थिक सल्लाहकार नै हो। लाइसेन्स लिन पढ्नु र परीक्षा दिनुपर्छ। हरेक वर्ष नवीकरणका लागि पनि सामान्य परीक्षा दिनुपर्छ। यो सबै काम सरकारले गर्छ,' उनले भने।
लामो समय क्यानडा बसेका माधव गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका निवर्तमान अध्यक्ष पनि हुन्। उनी क्यानडा जाँदा मुस्किलले २०–२५ हजार नेपाली थिए। अहिले दुई लाखभन्दा धेरै भएको उनको अनुमान छ।
उनका अनुसार नेपालीहरू दुई तरिकाले क्यानडा जान्छन्— दक्ष जनशक्ति भिसामा सिधै स्थायी आवास अनुमतिपत्र (पिआर) लिएर र विद्यार्थी भिसामा।
पिआर लिएर जानेहरूलाई खासै असहज हुँदैन। विद्यार्थीले भने धेरै संघर्ष गर्नुपर्छ।
'विद्यार्थीले पढ्दै कमाउँला भन्ने सोच्नु हुँदैन। पढाइ सकुन्जेल काम नपाउन पनि सक्छु भन्ने मानसिकता बनाउनुपर्छ। कलेजका कारण काम गर्ने ठाउँ नमिल्न सक्छ,' उनले भने, 'पढाइ सकेपछि जतासुकै जान मिल्छ। केही सीप सिकेको भए काम पाउन सहज हुन्छ। यो वास्तविकता बुझेर क्यानडा आउनु होला।'
अभिभावकले पनि क्यानडा जानेबित्तिकै छोराछोरीले पैसा पठाउँछन् भन्ने सोच्न नहुने उनी बताउँछन्।
'कलेज शुल्क धेरै हुन्छ। त्यस्तो अवस्थामा विद्यार्थीले काम गर्दै पढ्न सजिलो हुँदैन,' उनले भने, 'ऋण लिएर क्यानडा जाने अनि गएकै भोलिपल्टदेखि कमाउने योजना बनाउनेहरूका लागि यो उपयुक्त ठाउँ होइन।'
त्यस्तै वर्षौंदेखि विदेश बसेका र स्वदेशमा केही गरौं भन्ने चाहना भएकालाई नेपाल सरकारले सहजीकरण गरिदिनुपर्ने माधव बताउँछन्। नेपालमा लगानी गर्नेलाई सुरक्षाको ग्यारेन्टी, नागरिकताको निरन्तरता हुनुपर्ने र लगानी गरेपछि नियम अनुसार कर तिरेर नाफा लैजान पाउनुपर्ने उनले बताए।
'विदेश गएकालाई पलायनवादी भनेर हुँदैन। विदेश बस्ने प्रत्येक नेपाली अनौपचारिक राजदूत जस्तै हो। उसले देशका लागि केही गर्न पाए हुन्थ्यो भन्ने सोचेको हुन्छ,' माधवले भने, 'विदेशमा एक तहको स्थायित्व भएपछि नेपालमा लगानी गर्ने धेरैको चाहना हुन्छ। त्यसैले गैरआवासीय नेपालीका लागि लगानीको वातावरण बनाउन सक्नुपर्छ।'