ग्लोबल नेपाली
हेल्थ असिस्टेन्ट (एचए) पास गरेर केही समय काम गरेपछि सुनिल कुमार साह एमबिबिएस पढ्न सन् २०१३ मा चीन गए।
चीनमा नेपाली रूद्राक्ष बिक्री हुन्छ भन्ने थाहा पाएपछि सन् २०१४ मा पहिलो पटक २०/२५ किलो रूद्राक्ष मगाए अनि सडकमै राखेर बेचे पनि। एक पटक, दुई पटक गर्दै धेरै पटक रूद्राक्ष लगेर बेचेपछि उनलाई अरू काम गर्न हिम्मत आयो।
‘चीनमा विदेशीलाई कम्पनी खोल्न नदिने भएकाले मैले साथीको नामबाट दर्ता गराएँ। सन् २०१५ देखि कम्पनी खडा गरेर कृषिसम्बन्धी सामग्री नेपाल पठाउन सुरू गरियो,’ उनले भने, ‘चीनमा क्याम्पस पढ्दै गरेको विद्यार्थीले कुनै व्यवसाय सुरू गरेमा उसलाई सरकारले ठाउँ उपलब्ध गराउने र त्यसको भाडा समेत तिर्न नपर्ने भएकाले काम गर्न पनि सजिलो भयो।’
सुरूमा उनले ग्रीन हाउसका लागि चाहिने सामग्री, मल लगायतका विभिन्न कृषि सामग्री नेपाल पठाउन थाले।
सन् २०१८ मा उनले आफूसँगै एमबिबिएस पढ्दै गरेकी चिनियाँ युवती लिन्डासँग बिहे गरे। लिन्डाका बुवा जुन कृषि इन्जिनियर हुन् भने उनको लिहाइको एग्रिकल्चर नामको मल उद्योग समेत छ।
सन् २०१९ मा सुनिल र लिन्डा दुवैले एमबिबिएस सके। तर उनीहरूले डाक्टरी गरेनन्। सुनिलले मलको निर्यात सम्हाले अनि लिन्डाले चीनको आन्तरिक बिक्रीको जिम्मा लिइन्।
‘मेरो ससुराले उद्योगको जिम्मेवारी लिनुहुन्छ। श्रीमतीले चीनभित्रको बिक्री हेर्छिन्। मैले चीन बाहिरको निर्यात हेर्छु,’ उनले भने, ‘हामीले मध्यपूर्वका साउदी अरब, इरान, सिरिया, टर्की लगायतका देशमा मल पठाउँछौं। त्यस्तै श्रीलंका, पाकिस्तान, भारत र अहिले नेपाल पनि पठाउन सुरू गरेका छौं।’
सुनिलका अनुसार सान्दोङ प्रान्तको विफाङ सिटीमा रहेको उद्योगमा मल उत्पादन हुन्छ। यो मलले युरिया र प्राङ्गरिक दुवै मलको काम गर्छ।यसले युरिया र डियपी मललाई विस्थापित गर्छ भने बिरूवालाई चाहिने भिटामिन र मिनरल्स समेत दिन्छ। यो मल प्रयोग गरेपछि बिरूवालाई पानी मात्र दिए पुग्ने उनको दाबी छ।
‘नेपालमा सधैंजसो मलको अभाव हुन्छ। यसको निर्यातले केही सहज बनाउन सक्छ। युरिया मलमा पाइने नाइट्रोजनले माटो बिगार्ने भएकाले यो मलमा त्यो खतरा रहँदैन,’ उनले भने, ‘धेरै देशमा युरिया मललाई विस्थापित गरिसकिएको छ। सुमद्रमा पाइने फ्युकस नामको वनस्पती र गड्यौलामा पाइने इन्जाइमलाई मिलाएर बनाइएकाले यसका धेरै फाइदा छन्।’

नेपालमा मल पठाउनको लागि आफूहरूले सलोम एग्रिकल्चरसँग सम्झौता समेत गरिसकेको उनले जानकारी दिए।
लिहाइको एग्रिकल्चरबाट मासिक ३५ हजार टन मल उत्पादन हुने भएकाले नेपालको माग अनुसारको मल उपलब्ध गराउन सक्ने उनको दाबी छ।
मलको निर्यात उनको मुख्य काम भए पनि नेपालबाट थान्कासहित हातले निर्माण गरिएका सामग्री समेत उनले चीन लैजान्छन्।
सप्तरी राजविराजका सुनिलको स्कुल शिक्षा नुवाकोटको तलाखुमा भयो। उनका बुवा हरिनारायण साह शिक्षक भएकाले परिवारका सबै नुवाकोटमै बस्थे।
एसएलसीपछि सुनिल काठमाडौं आएर एचए पढ्न थाले। सन् २००९ मा एचए पास गरेपछि एमबिबिएस पढ्न चीन जानुअघि उनले काठमाडौंका विभिन्न अस्पताल र क्लिनिकमा काम गरे।
मल उद्योगको अनुभव लिइसकेका सुनिल नेपालमा पनि उचित वातावरण भएमा मल उद्योग सुरू गर्न चाहन्छन्। तर उनलाई नेपालमा सहजै काम हुन्छ भन्ने लाग्दैन।
सन् २०१७ मा उनले चिनियाँहरूको एउटा टिम ल्याएका थिए। यहाँ कुनै फ्याक्ट्री खोल्न प्रयास गरेको तर विभिन्न तहबाट बार्गेनिङको काम भएपछि आफूहरू फिर्ता भएको उनको गुनासो छ।

‘म मेडिकल साइन्सको विद्यार्थी भएकाले यसरी व्यवसायमा लाग्छु भनेर सोचेको समेत थिइनँ। तर परिस्थितिले म अहिले व्यवसायमा छु,’ उनले भने, ‘नेपालमा मल उद्योग स्थापना गर्ने इच्छा छ। नाइट्रोजनयुक्त मल विस्थापनका लागि यस्ता मल उद्योग जरूरी छ।’
चीनको मल उद्योगमा जोडिएकाले उनलाई त्यहाँको कृषि र किसानको अवस्थाबारे राम्रो जानकारी छ।
नेपालकै भएपछि यहाँको कृषिबारे पनि थाहा नहुने कुरै भएन। हुन त चीन र नेपालको अवस्थाबारे तुलना गर्न मिल्ने अवस्था छैन। तर चीनबाट नेपालले सिक्नुपर्ने केही महत्वपूर्ण पाटो छ। जस्तो किसानको उत्पादन बिक्रीको जिम्मा सरकारले लिन सक्छ।
‘चीनमा जति सामान उत्पादन भए पनि सरकारले किन्दिन्छ। ठाउँ ठाउँमा सरकारका प्रतिनिधि राखेर खरिद हुन्छ,' उनी भन्छन्, ‘नेपाल सरकारले पनि किसानको उत्पादन खरिद गर्ने वातावरण बनाइदियो भने धेरै राम्रो हुन्छ।’
नेपालमा कृषिको आधुनिकीकरणको प्रयास भए पनि यसले तीव्र गति लिन नसकेको उनको बुझाइ छ।
सरकारले नै किसानलाई कसरी काम गर्ने, कस्तो खेती गर्ने लगायतका विषयमा कृषि तालिम दिन जरूरी रहेको उनको तर्क छ।