पश्चिम् अष्ट्रेलियामा भोलि शनिबार आयोजना हुने नेपाल महोत्सवको तयारी पुरा भएको छ।
पर्थमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले कार्यक्रमको तयारीबारे जानकारी गराएको हो।
पश्चिम अष्ट्रेलियाका एनआरएन संयोजक तथा महोत्सव आयोजक समितिका संयोजक दिपक बस्नेतका अनुसार पर्थको मुख्य क्षेत्र फरेस्ट चेसमा महोत्सवको आयोजना हुनेछ।
महोत्सवमा अष्ट्रेलियाका नेपाली राजदूत, पश्चिम अष्ट्रेलियाका डेपुटी प्रीमियर, विभिन्न राजनीतिक दलका नेताका साथै एनआरएनएका पदाधिकारी र विभिन्न सस्थाका प्रतिनिधिको सहभागिता हुनेछ।
महोत्सवमा बिहानै नेपाली कला संस्कृति झल्काउने विभिन्न झाकी सहित संस्कृतिक परेडको आयोजना गरिनेछ।
कार्यक्रममार्फत नेपाली कला संस्कृतिका साथै नेपाली पर्यटन प्रवर्द्धन हुने विश्वास आयोजकले लिएको छ।
महोत्सवमा नेपाली खाना, ब्यवसायीक, पर्यटन प्रबर्द्धन गर्ने किसिमका ३० वटा स्टल राखिनेछ।
महोत्सवमा नेपाली कलाकार सन्दीप क्षेत्री, गायक दीपक बज्राचार्य र रिदम ब्याण्डले प्रस्तुति दिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।
महोत्सवको मुख्य प्रायोजकको रूपमा एभरेस्ट ग्लोबल एजुकेसन रहेको छ। पत्रकार सम्मेलनमा एनआरएनका केन्द्रिय उपाध्यक्ष धर्मराज अधिकारी, अष्ट्रेलिया अध्यक्ष नन्द गुरूङसहित एनआरएनएका विभिन्न पदाधिकारीको सहभागिता थियो।
महोत्सवको तयारी स्वरुप आज शुक्रबार बेलुका गाला डिनरको समेत आयोजना गरिएको छ।
महोत्सवको मुख्य प्रायोजकको रूपमा एभरेस्ट ग्लोबल एजुकेसन छ।
मेलबर्न, डार्बिन ,तास्मानिया, ब्रीजबेन र सिड्नीमा नेपाल महोत्सव सम्पन्न गरेको एनआरएनले पर्थमा महोत्सवलाई भव्य बनाउने तयारी गरेको छ।
अष्ट्रेलियामा नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृतिका बारेमा जानकारी गराउन र नेपालको पर्यटन क्षेत्रमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ नेपाल महोत्सव आयोजना गर्न लागिएको हो।
‘शनिबार बिहान मुर्रे स्ट्रिट महलबाट सुरू हुने कलश यात्रा विलियम स्ट्रीट हुँदै हे स्ट्रीटबाट घुमेर ब्यारेक स्ट्रीट महल हुँदै पुनः मुर्रे स्ट्रिट फर्केर समापन हुनेछ। कलश यात्रा स्कटिङका लागि पर्थ स्टेटको प्रहरीसँग सहयोग मागेको छ’, संयोजक बस्नेतले भने।
कलश यात्रा बौद्धनाथ र पशुपतिनाथ समितिले आयोजना गर्ने उनले जानकारी दिए। नेपाल महोत्सव पर्थको औपचारिक कार्यक्रम १२ बजेबाट फरेस्ट चेसमा सुरू हुने संयोजक बस्नेतले बताए।
नेपालीको कला संस्कृतिको प्रवर्द्धन गर्ने मूल उदेश्य रहेको उक्त कार्यक्रममा नेपालका विभिन्न ठाउँको फोटो भिडियो प्रदर्शनीसमेत गरिने संयोजक बस्नेतले बताए। पर्थमा हुने महोत्सवमा सहभागी हुन पर्थ वरपरका अल्बानी, मन्डिरा बनबेरी र अन्य धेरै क्षेत्रीय शहरहरूमा बसोवास गर्ने नेपाली पनि सहभागी हुने उनले बताए।
महोत्यवमा यस पटक १० हजार भन्दा बढी नेपाली र विदेसीको सहभागिता रहने अनुमान गरिएको संयोजक बस्नेतको भनाइ छ।
नेपाल कला संस्कृतिको धनी देश भएकाले यस कार्यक्रममा विभिन्न जात जाति भाषभाषीका झाँक्री पनि प्रस्तुत गरिनेछ। नेपाल महोत्सव पर्थमा आउँदा एक जना विदेशी साथी लिएर आउन उनले पर्थवासी नेपाली समुदायलाई आग्रहसमेत गरेका छन्।