नेपाली युवा इन्जिनियर एलेक्स कार्की अष्ट्रेलियाको राज्य सांसदको उम्मेदवार भएका छन्।
सिड्नी विश्वविद्यालयबाट ब्याचलर अफ इन्जिनियरिङ र मास्टर अफ रिसर्च (ट्रान्सपोर्ट प्लानिङ)को उच्च शिक्षा पुरा गरेर सिड्नीको बेलाभिष्टामा बस्दै आएका एलेक्सलाई अस्ट्रेलियाको सत्तारुढ दल लेबर पार्टीले टिकट दिएको हो।
पेशाले इन्जिनियर कार्कीले अस्ट्रेलियन राजनीतिलाई पनि नजिकबाट नियाल्दै आएका थिए। केहि वर्षदेखि अस्ट्रेलियाको सत्तारूढ दल लेबरको स्थानीय राजनीतिमा सक्रिय हुँदै आएका थिए।
एलेक्स सिड्नी ट्रेनका कुशल युवा इन्जिनियर हुन्। पढाइ र पेशासँगै अस्ट्रेलियाको स्थानीय राजनीतिमा होमिएका एलेक्स स्थानीय यातायात, स्कुल र स्वास्थका विषयमा बढि जागरूक छन्।
उनी यस पटक अस्ट्रेलियाको संघीय चुनावमा राज्य सांसद पदका उम्मेदवार बनेका हुन्। जुन नेपाली समाजको लागि गौरवको विषय हो।
सिड्नीको केलिभिल, बेलाभिष्टा, नरवेष्ट, बकमहिल्स, राउजहिलको स्थानीय जनसरोकारका मुद्दामा एलेक्स निकै जागरूक छन्।
उनको राजनीतिक यात्रामा पेशासँगै सामाजिक जिम्मेवारी पनि महत्वपूर्ण देखिन्छ। एलेक्सका राजनीतिक मुद्दामा उपर्युक्त योजना र त्यसको संस्थागत विकास, सडक योजना, शैक्षिक वातावरणलाई सहजीकरण, हिल्स समाजलाई अत्यन्तै आवश्यक हस्पिटल र समुदायलाई आवश्यक सेवा र सुविधा छन्।
‘एउटा नेपालीको छोरो अस्ट्रेलिया आएर यहाँको राजनीतिक मैदानमा उत्रनुनै ठूलो कुरा भएको उनले सेतोपाटीलाई बताए। ‘यहाँ पेशासँगै स्थानीय राजनीति गर्न कानुनको पनि छेकवार छैन, त्यसैले यस पटक मैले हिल्सका जनताको चाहना अनुसार उमेदवार बन्न खोजेको हु’, उनले सेतोपाटीसँग भने।
अस्ट्रेलियाको सत्तारुढ दलले यसरी एक नेपाली युवालाई राज्य सांसदको उम्मेदवार छान्नुलाई निकै महत्वका साथ हेरिएको छ। अस्ट्रेलियामा बढ्दो नेपाली समाज र यसको प्रभावको महत्वपूर्ण पाटोको रूपमा यसलाई लिन सकिन्छ।
अस्ट्रेलियाको राजनीतिमा नेपाली समुदायबाट काउन्सिलर पदसम्म नेपालीले सफलता पाए पनि त्यसभन्दा माथि कसैले सफलता हात पार्न सकेका छैनन्।
अस्ट्रेलियाको एनएसडब्लु राज्यको निर्वाचन आगामी मार्च २५ तारिखमा हुँदैछ। एलेक्सले यस पटकको निर्वाचनमा आफ्ना क्षेत्रका तथा समग्र अस्ट्रेलियामा रहेका नेपाली समुदायसँग साथ र सहयोगको अपेक्षा राखेका छन्।
यो निर्वाचनमा उमेदवारी र जित मेरो र लेबरसँगै समग्र नेपाली समुदायको प्रतिष्ठासँग पनि जोडिने भएकोले सम्पूर्ण नेपाली समुदायलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन्।