अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित दक्षिणी सहर एडिलेडमा नेपाल महोत्सव सम्पन्न भएको छ।
अस्ट्रेलियाको दक्षिणी सहर एडिलेडमा आयोजित नेपाल महोत्सवमा अस्ट्रेलियन नागरिकसमेत परम्परागत नेपाली पहिरनमा सजिएर आएका थिए।
अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गैर आवासीय नेपाल संघ (एनआरएन) ले दक्षिणी सहर एडिलेडमा आयोजना गरेको नेपाल महोत्सवमा नेपाली समुदायसँगै स्थानीय अस्ट्रेलियनको बाक्लो उपस्थिति थियो।
मुलुकको कला संस्कृति झल्काउने वेशभूषा र झन्डासहित सहरको केन्द्र शनिबार नेपालमय भएको थियो।
अस्ट्रेलियाका विभिन्न राजनीतिक दलका नेता, मन्त्री र सांसदको विशेष उपस्थितिमा अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका थिए।
महोत्सवमा दक्षिण अस्ट्रेलियाका प्रिमियर पिटर मालिनौस्कसले कार्यक्रम सफलताको शुभकामना सन्देश पठाएका थिए।
उनको सन्देशमा तीव्र रूपमा बढ्दो नेपाली समाज र महोत्सव सफलताको कामना गर्दै राज्यले यस कार्यक्रमका लागि आर्थिक सहयोगसमेत गरेको जानकारी गराए।
पर्यटन तथा बहुसांस्कृतिक मन्त्री जो बेटीसनकोसमेत कार्यक्रममा उपस्थिति थियो।
कार्यक्रममा माथिल्लो सदन लेजेस्लेटिभ काउन्सिलको विपक्षी दलको उपनेता जिङ ली नेपाली सारी चोलोमा सजिएर महोत्सवमा सहभागी भएकी थिइन्।
यो उपस्थिति नेपाली समाजको लागि महत्वको विषय भएको एनआरएनए अस्ट्रेलियाकी उपाध्यक्ष तथा साउथ अस्ट्रेलिया राज्य समिति संयोजक रेनुका लामाले जानकारी दिइन्।
संयोजक लामाले नेपाल हाउसदेखि नेपाली खाना र कला संस्कृति झल्कने गीत संगीतले सबैलाई एक बनाएको बताइन्।
पछिल्लो समय दक्षिण अस्ट्रेलियामा नेपालीको संख्या बढेसँगै नेपाली समुदायका कार्यक्रम र गतिविधि पनि बढ्न थालेका छन्।
यहाँको सरकारी तवरबाट पनि नेपाली समुदायप्रति चासो र महत्वका साथ हेर्न थालिएको एनआरएन साउथ अस्ट्रेलियाका पूर्व संयोजक नविन पन्थले बताए।
महोत्सवमा नेपालबाट आएका कलाकारहरू एस कुमार, प्रिती आले, प्रकाश सपुत, टीका प्रसाइलगायतले साँझको माहौल तताएका थिए।
महोत्सवका मुख्य प्रायोजक बुमरेङ इन्टरनेशनलका निर्देशक आशिष वाग्लेले प्रवासमा नेपाल प्रवर्द्धन गर्ने नेपाली समुदायको यो पवित्र अभियानमा जोडिन पाउँदा आफूहरूलाई गौरवको महसुस भएको बताए।
यस्ता सामाजिक सत्कार्य र कल्याणकारी कार्यमा आफूहरूको सदैव साथ र सहयोग रहने वाग्लले प्रतिबद्धता व्यक्त गरे।
महोत्सव र मेला नेपाल चिनाउने भेला भएकाले एनआरएनको यस्ता कार्यक्रमलाई संसारभर अगाडि बढाउनुपर्ने एनआरएनका कोषाध्यक्ष अनिल पोखरेलले बताए।
कार्यक्रममा एनआरएनका केन्द्रीय उप-महासचिव गणेश केसी र नारायण काफ्ले लगायतले महोत्सवको सफलताको कामना गरेका थिए।
एनआरएन अस्ट्रेलियाले नेपाली भाषा, कला, संस्कृतिको जर्गेना गर्न भन्दै हरेक दुई–दुई वर्षमा अस्ट्रेलियाका प्राय: सबै राज्यमा नेपाल महोत्सवको आयोजना गर्दै आएको छ।