ओसेनिया क्षेत्रका नेपाली मूलका खेलाडीहरू सम्मिलित 'ओसेनिया नेपाली स्पोर्टस् मिट २०२३' शुक्रबारदेखि अस्ट्रेलियाको राजधानी क्यानबेरामा सुरू हुने भएको छ।
अप्रिल ७ देखि १० सम्म राजधानी क्यानबेरामा आयोजना हुने प्रतियोगितामा अस्ट्रेलिया र न्यूजिल्यान्डका गरी सयौंको संख्यामा खेलाडीहरूको सहभागिता रहने प्रतियोगिता आयोजक समितिका संयोजक दुर्गादत्त कँडेलले बताए।
ओसेनिया नेपाली स्पोर्टस् मिट आयोजक समिति तथाअस्ट्रेलियन नेप्लिज फ्रेन्डसिप सोसाइटीको आयोजना तथा एनआरएन लगायतका संघ संस्थाको सहयोगमा यो प्रतियोगिता आयोजना हुन लागेको हो।
सन् २०१३ बाट सुरू भएको यस प्रतियोगिताको पाँचौं संस्करण राजधानी क्यानबेरामा आयोजना हुन लागेको हो।
अस्ट्रेलियाका सबै राज्य र न्यूजिल्यान्डको सहभागिता रहने यस खेलकुदको कुम्भ मेलामा सात सय खेलाडीको सहभागिता रहने संयोजक आर्दशजंग पाण्डेले बताए।
प्रतियोगितामा क्रिकेट, गल्फ , फुटबल, भलिबल, लन टेनिस, ब्याडमिन्टन, बास्केटबल, टेबल टेनिस, पौडी, ५ किमी दौड लगायतका खेल समावेश गरिएको संयोजक पाण्डेले सुनाए।
सिड्नीबाट सुरू भएको ओसेनिया स्पोर्टस् मिट मेलवर्न हुँदै ब्रिसबेनले आयोजना गरिसकेका छन्। क्यानबेरामा भने पहिलो पटक आयोजना हुन लागेको हो।
करिब एक करोड २० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ।