अध्ययनका लागि विदेशिने नेपालीको प्रायः एकैखाले सपना हुनेगर्छ– पढाइ पूरा गर्ने र गतिलो जागीर खोजेर स्थापित हुने।
त्यसमध्येका केही अन्तर्राष्ट्रिय डिग्री लिएर स्वदेश फर्किन्छन्। पछिल्लो समय विदेशमा जागिर मात्र होइन व्यवसाय र लगानी गरेरै अरूलाई रोजगारीसमेत दिँदै आएका छन्।
प्रत्येक वर्ष नेपालबाट अष्ट्रेलिया अध्ययन गर्न आउने विद्यार्थीको संख्या उच्च छ। अमेरिका र बेलायतको दाँजोमा सजिलैसँग भिसा पाईने र पढाईपछि पनि लामो समयसँग बस्न मिल्ने प्रावधान भएकाले अष्ट्रेलिया नेपाली विद्यार्थीमाझ लोकप्रिय छ।
यसरी विद्यार्थी बनेर अष्ट्रेलिया आएका केही नेपालीले परदेशमा सफल व्यवसायीको परिचय बनाइसकेका छन्।
आफ्नै मिहिनेतले यहाँको तीव्र प्रतिस्पर्धात्मक बजारमा अलग परिचय बनाउन थालेका उनीहरू समुद्रपारको नेपाली डायस्पोरालाई गर्विलो पार्ने काम गरिरहेका छन्।
अष्ट्रेलियाकै धनाढ्यको सूचीमा समेटिएका गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेपछिको यो पुस्ता लगानी र व्यवसायमा विविधिकरण समेत भित्र्याउँदैछ।
नयाँ सम्भावनाको खोजी गरिरहेको र घरजग्गा व्यवसाय, शिक्षा, हस्पिटालिटी, रेस्टुरेन्टलगायतका क्षेत्रमा स्थापित हुँदै गरेको यो पुस्ताले आफ्नो सफलतालाई नेपालमा समेत जोड्ने प्रयास गर्दैछ।
पराइ भूमिमा आउने युवायुवतीको ध्यान केवल अर्काको कम्पनीमा काम गर्नु मात्र होइन भन्ने उनीहरूले पुष्टि गर्न थालेका छन्।
आफ्नो थाँतथलो छाडेर विदेश पसेका युवायुवतीको उद्यमी बन्ने चाहनाले एकातिर उनीहरूलाई पुँजी संकलनमा त सहयोग पुर्याइरहेको छ नै अर्कोतिर त्यस्ता नवउद्यमीले रोजगारी पनि सिर्जना गरिरहेका छन्।
यीमध्येका केहीले अष्ट्रेलियाको कमाइलाई नेपालमै लगानी गर्न थालेका छन्। विदेशमा उद्यमी बनेर पुँजी र रोजगारी विस्तार गरिरहेका युवामध्ये एक हुन्– कल्याण कँडेल।
विद्यार्थीका रूपमा सिड्नी आएका ३९ वर्षे युवाका लागि व्यवसायी बन्ने कुरा कल्पना बाहिर थियो। उनलाई यहाँको पिआर पनि लिन मन थिएन, पढाई सकेर आफ्नै मुलुकमा केही गर्ने भन्ने सोचेका थिए।
नेपालमै बिबिए गरेका उनको अष्ट्रेलिया आएको ५ वर्षपछि बाटो मोडियो। श्रीमान श्रीमती मिलेर अष्ट्रेलियामा निकै दुःख गरे। तर जब बच्चाबच्ची भए तब उनीहरूलाई यहाँको सेवा सुविधा र उनीहरूको भविश्य सम्झेर यतैको पिआर लिने निर्णय गरे।
पिआर पाइसकेपछि यतै सानो तिनो व्यवसाय गरेर अतिरिक्त पैसा कमाउने उपाय निकाले। आफ्नो काम निरन्तर गरिरहेका उनले बचेको समयमा रियलस्टेटबारे तालिम लिए।
घरजग्गा कारोबारकै विषयमा औपचारिक शिक्षापछि आफ्नै व्यवसाय शुरू गरेका उनले अष्ट्रेलियामै पहिलो नेपाली रियल स्टेट कम्पनी खोले। यो सँगै अष्ट्रेलियन, चिनियाँ वा भारतीय मूलका नागरिकले एकछत्र राज गरेको रियल स्टेट कम्पनीमा नेपालीको पनि प्रवेश भयो।
उनको आत्मीय व्यवहार, कामप्रतिको लगाव र मेहनतले व्यवसाय फस्टाउँदै गयो। उनको सिको गरेर अहिले २ दर्जन बढी नेपालीले अष्ट्रेलियामा रियल स्टेट खोलिसकेका छन्।
उनी गर्वका साथ भन्छन्- ‘मैले सुरू गरेको व्यवसाय आज बिस्तारै नेपाली समुदायमा भिजेको छ। नेपाली व्यवसायीप्रतिको विश्वासलाई हामीले डगमगाउन दिएनौं फलस्वरूप आज दर्जनौं साथीहरू यो बजारमा आउनुभएको छ।’
विशेष गरी नेपाल, बंगलादेश, चीन, भारत लगायतका देशबाट स्थायी आवासको अनुमति पीआर पाएकाहरुले आफ्नै समुदायका व्यक्तिहरु बसिरहेको क्षेत्रमा घरजग्गा किन्न खोज्छन् । आफ्नो समुदायका व्यक्तिहरु बसेको ठाउँमा विशेष आकर्षण हुन्छ त्यस्ता क्षेत्र पहिचान गरेर उचित सल्लाहसहित प्रोपर्टी खरिद बिक्री गर्नु नै हाम्रो प्रमुख उद्धेश्य हो।
विश्वमै अष्ट्रेलिया यस्तो देश हो जहाँ संसारका जनुसुकै देशका मानिसले घर, जग्गा, अपार्टमेन्ट वा युनिट किन्न सक्छन्।
अष्ट्रेलिया सरकारले घरजग्गामा लगानी गर्ने जुनसुकै देशका नागरिकलाई स्वागत गर्छ। तर अष्ट्रेलियामा स्थायी बसोबासको अनुमति वा नागरिकता नभएका व्यक्तिले जग्गा किन्दा विदेशी लगानीका लागि सरकारको अनुमति भने लिनुपर्छ।
अष्ट्रेलियाको अधिकांस राज्यमा आप्रवासीहरुको बसाई सर्ने क्रम निरन्तर छ । प्रकृया पुगेका आप्रवासीलाई श्वागत गर्न अष्ट्रेलिया सरकारले शहरसँगै निरन्तर नयाँ वस्ती विकास गरिरहन्छ।
सन् २०१६ देखि सुरू भएको यो व्यवसायले कल्याणलाई पछाडि फर्केर हेर्नु परेको छैन। यसो हुनुको एक मात्र कारण विश्वास हो।
‘हामीले हाम्रो १५ वर्षे विश्वासलाई डगमगाउन दिएका छैनौं। त्यो नै हाम्रो कम्पनीको थप पुँजी हो’, उनले भने, ‘पैसा कमाउने मात्र होइन। ग्राहकलाई सही सूचना दिएर सेवा दिनुनै हाम्रो उद्धेश्य हो।’
उनले कुनै पनि सम्पत्ती ग्राहकलाई बेच्नुअघि या भाडामा दिनुअघि त्यसबारे सबै जानकारी दिने दाबी गरे। ‘हामी राम्रो भए राम्रो भन्छौं। नराम्रो भए त्यहीँ भन्छौ। ठगेर व्यवसाय गर्दैनौं। बरू दुई पैसा नाफा कम होस् तर ग्राहकलाई खिन्न बनाउँदैनौं।’
व्यवसाय बढेसँगै नेपाली समुदायको बाक्लो बसोबास रहेको सेन्टर कोस्टमासमेत शाखा खोलेर सेवा दिन सुरू गरेको विसले आगामी दिनमा पनि अझै विस्तार गर्ने लक्ष्य राखेको छ।
व्यवसाय विस्तारका लागि अन्य समुदायमा समेत घुलमिल भइसकेका कल्याणले भारतीय, श्रीलंकन्, फिलिपिनो. चिनीयाँ, अष्ट्रेलियाका व्यक्तिलाई रोजगारी दिइरहेका छन्।
यो क्षेत्रमा आउन चाहनेले विस्तृतमा बुझेर आउन उनले सुझावसमेत दिए। किनकि यो सेवामुलक व्यवसाय भएकाले पैसा कमाउनु मात्र ठूलो कुरा होइन, सही समयमा सही सेवा दिनु व्यवसायीको धर्मसमेत हो।
उनी घर बेच्ने र भाडामा लगाउने मात्र गर्दैनन्। त्यसपछिका सबै कानुनी प्रावधान र सरकारका नयाँ नयाँ नीति र नियमका बारेमा जानकारीसमेत सधै दिने गरेका छन्।
‘हामीले आजका लागि सोचेका छैनौ। भोलिका लागि सोचेर अगाडि बढेको भएकाले कुनै पनि ठाउँमा गल्ती र कमजोरी गर्ने तथा ग्राहकको विश्वास टुट्न दिने काम गर्न हामीलाई छुट छैन,’ उनले भने।
अष्ट्रेलिया सरकारले विदेशी नागरिकलाई स्थायी आवास अनुमति पीआर दिएसँगै उनीहरुको वसोवासका लागि शहर नजिकको जमिन एकीकरण गरेर नयाँ बस्ति बसाईरहेको छ। सिड्नी, मेलबर्न, ब्रिसबेनलगायत अष्ट्रेलियका मुख्य शहर नजिकै आउँदो २५ वर्षसम्म कुन क्षेत्रमा कति खालि जमिनमा वस्ती बसाउने भन्नेकुरा सरकारले निक्र्यौल गरिसकेको छ।
अष्ट्रेयामा बसोबास गर्ने नेपाली भारतीय र चिनियाँ मात्रै होइन पछिल्लो समय स्थानीय अजीहरुमाझ पनि नीकै जनप्रीय हुँदै गएको रियलस्टेट कम्पनी हो विस।
पछिल्लो समय अष्ट्रेलियामा स्थापित एम्पल रियलस्टेटलाई ग्रहण गरेपछि कम्पनीले दायरा अझ फराकिलो बनाएको छ।
उनलाई पूर्णनाथ घिमिरेले पूरा साथ दिएका छन्।
अष्ट्रेलियामा बस्दै आए पनि नेपाली समुदाय र नेपाललाई दुखेको घाउमा उनी मल्हम लगाउन सधै तयार हुन्छन्। यसका लागि उनलाई श्रीमतीले गतिलो साथ दिएकी छन्।
देशलाई समस्या परेको बेला उनले प्रसस्तै सहयोग गरेका छन्। क्लिक टु सपोर्टका सञ्चालकसमेत रहेका उनले कोभिडको बेला नेपालमा लाखौं मूल्य बराबरको सहयोग गरेका छन्। भूकम्पका बेला नेपालका दूर दराजमा गएर सहयोग गरेकै छन्।
अफ्ठ्यारोमा गाउँमा जहिल्लै सहयोग गर्न अगाडि` हुने उनले लाखौं रूपैयाँ उठाएर गरिब नेपालीको चुल्हो बालिदिएका छन्।
क्लिक क्लिक टु सर्पोट संस्थाले अस्ट्रेलियामा समस्यामा परेका नेपालीहरु तथा आवश्यकता अनुसार नेपालमा समेत सहयोग गर्दै आइरहेको संस्थाका अध्यक्षसमेत रहेका कँडेलले जानकारी दिए।