राज्य संयोजकले अनुमोदन गरेको सदस्यता विवरणलाई राष्ट्रिय कार्यकारी समितिका महासचिव र अध्यक्षले 'होल्ड' मा राखेका थिए। त्यसमा निर्वाचन आयोगले ७ सय ५० जना आवेदकको सदस्यता खारेज गरिएको घोषणा गर्यो। यो विषयले यतिबेला एनआरएनए अस्ट्रेलियाको चुनावी माहोल गर्माएको छ।
सदस्यता स्वीकृती र अस्विकृतीमा विधिको चर्चा गरिए पनि यसको मूल उद्धेश्य विधि विधानको पालनाभन्दा निर्वाचनको अंकगणितसँग जोडिएको छ। त्यसैले निर्वाचन आयोगको यस्तो घोषणाले विवाद थप बढ्ने देखिएको छ।
महासचिव र अध्यक्षले सदस्यता अस्वीकृतबाट सदस्य शुल्क भुक्तानीमा 'बल्क पेमेन्ट' भएको दाबी गर्दै आएका छन्। यसमा कार्यकारी समितिका अन्य सदस्यले असहमति जनाएपछि विवाद चर्कियो।
विवाद थप किन बढ्यो भन्ने बुझ्न पहिला 'बल्क पेमेन्ट' बारे चर्चा गरौं।
शब्दकोष, कानुनी र बैंक वित्तीय भाषामा एक भन्दा बढी पक्षलाई वा एक भन्दा बढी पक्षबाट भुक्तानी गर्नुपर्ने रकम 'एउटै कारोबार मार्फत मुक्तानी गरेमा बल्क पेमेन्ट' भनिन्छ।
यस मानेमा एनआरएनएको सदस्यता सवालमा एक वा सो भन्दा बढी सदस्यताको भुक्तानी एकै पटक भएको देखिन्छ। सदस्यता शुल्कको भुक्तानी एउटै व्यक्तिले वा एकै कारोबारमार्फत भएमा त्यसलाई 'बल्क पेमेन्टको रुपमा बुझ्न सकिन्छ।
स्वभाविक रुपमा यसमा एक प्रश्न उठ्छ। के एनआरएनए आष्ट्रेलियाको सदस्यता एपमार्फत एकै पटक एकभन्दा बढीको भुक्तानी गर्न मिल्छ? मिल्दैन। सदस्यता शुल्क भुक्तानी एकै पटक गर्न मिल्दै मिल्दैन। यस अर्थमा पनि सदस्यता शुल्क बल्कमा तिरिएको छैन भनेर दाबी गर्न अन्य सहायक प्रमाण आवश्यक पर्दैन।
त्यसो भए यो विवादको के हो त?
यसलाई थप बुझ्न एसआरएनए अष्ट्रेलियाको विधान र उप-नियम हेर्नुपर्ने हुन्छ।
सदस्यता सम्बन्धी उपनियमको दफा ५ र ६ ले कल्पना गरेको 'बल्क पेमेन्ट' अनुसार आफ्ना नातेदार वा आफ्नो परिवारका सदस्य र नजिकका साथीको शुल्क मात्रै एउटै कार्डबाट तिर्न सकिन्छ। सो उप नियमले त्यसको सीमा के हो भनेर प्रष्ट्याउन सकेको छैन। यस अर्थमा एकै कार्डबाट जति जना सदस्यको रकम पनि भुक्तानी गर्न विधानले रोकेको छैन।
अब मानौं, धेरै जनाले एकै व्यक्ति वा एकै कार्ड प्रयोग गरेर सदस्यता शुल्क भुक्तानी गरियो। उप-नियम अनुसार त्यसो गरेको कार्यकारी समितीले थाहा पाएमा 'कार्यकारी समिति 'ले सदस्यता अस्वीकृत गर्नसक्छ र फौजदारी अपराधको रूपमा सम्बन्धित निकायमा उजुरी दिनसक्छ।
तर त्यसो गर्नुभन्दा पहिले समितिले गर्नुपर्ने केही प्रकृया छन्। जुन कार्डबाट धेरै जनाको सदस्यताको शुल्क भुक्तानी भएको छ ती नजिकका साथी वा परिवारका सदस्य हुन् या होइनन् भनेर जानकारी लिनुपर्ने हुन्छ। एकै पटक अध्यक्ष वा महासचिवले अस्वीकृत गर्ने व्यवस्था छैन।
त्यसो भए राज्य संयोजकले अनुमोदन गरिसकेका सदस्यता महासचिव वा अध्यक्षले अस्वीकृत गर्न सक्छन् कि सक्दैनन् भनेर पनि हेर्नुपर्ने हुन्छ। विधान अनुसार अध्यक्ष र महासचीवलै सदस्यता अस्वीकृत गर्न सक्छन् तर बल्क पेमेन्टकै आधारमा सदस्यता हटाउने अधिकार कार्य समितिलाई मात्रै छ! त्यसका लागि कार्यसमितिबाटै निर्णय हुन आवश्यक हुन्छ। विधानले यो अधिकार कार्यसमितिलाई मात्र दिएको छ।
यस विषयमा बहुसंख्यक कार्यसमितिका सदस्यले राज्य संयोजकबाट अनुमोदित सदस्यता कायम राख्ने निर्णय गरिसकेका छन्।
उप-नियमले जे भने पनि सदस्यताको स्वीकृती वा अस्वीकृत गर्ने अन्तिम अधिकार कार्य समितिमा निहित छ। खासगरी सदस्यता सम्बन्धी विवाद भएमा त्यसको अन्तिम निर्णय गर्ने अधिकार कार्य समितिमा भएको र कार्य समितिको निर्णय नै अन्तिम हुने कुरा विधानको दफा ९ मा स्पष्ट लेखिएको छ।
अब प्रश्न उठ्छ के यो विवाद वास्तवमै विधि, कानून र पद्धती अनुसार हो? होइन। यो विवाद भित्रको चुरो सांगठनिक प्राकृतिको छ। यसमा खास एक उम्मेदवारलाई निर्वाचनमा जिताउने या हराउने नियत लुकेकाले नै विवाद समाधानको साटो विवाद बढ्दै गएको हो।
एउटा पक्ष भन्छ- चुनावको परिणामलाई नै प्रभाव पार्ने नियतले सदस्यताको शुल्क भुक्तानी गरिएको छ।
अर्को पक्ष भन्छ- चुनावकै परिणामलाई प्रभाव पार्नेगरी प्रकृया मिचेर सदस्यता अस्वीकृत भए स्वीकार हुन्न।
यसलाई हेर्ने हो भने विधि र पद्धति सबै पक्षबाट मिचिएको देखियो। यसमा निर्वाचन आयोगमा रहेकाहरु पनि जोगिन सकेनन्। दुःखद पक्ष यहीँ हो। त्यसमा पनि अध्यक्ष र महासचिवले कार्यसमितीको सबै अधिकार आफैंले लिए 'बालहठ' गरिरहेका छन्।
समितिका बहुसंख्यक सदस्यले बैठक बसेर माइन्यूटसमेत गरेका छन्। यस्तो बेलामा एउटा सचेत सदस्यले सोच्ने भनेको संस्थाको बृहत्तर हित नै हो। बृहत्तर हित सामुदायिक सद्भाव विना सम्भव हुन्न। अनी जहाँ बृहत्तर हित हुन्न त्यस्तो विधि र प्रक्रियाको पनि अर्थ रहन्न।
त्यसैले अहिलेको आवश्यता भनेको संस्थाको मर्यादा कायम राखेर कसैले पनि हठ नदेखाई संस्था र संस्थाप्रति प्रतिवद्ध सदस्यहरुको बृहत्तर हित हेर्नु नै बुद्धिमानी निर्णय हुनेछ। हठले निम्त्याउने दुर्घटना मात्रै हो।
(दुलाल, एनआरएनए अस्ट्रेलियाका सल्लाहकार हुन्)