गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालमा केन्द्रीय सचिवका लागि ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी दिएका छन्।
एनआरएनए अष्ट्रेलियाका पूर्वमहासचिवसमेत रहेका रेग्मी एक दशकभन्दा बढी समयदेखि एनआरएनएका विभिन्न पदमा बसेर काम गरिसकेका छन्।
यति लामो समयसम्म संस्थाको सबैखाले गतिविधिमा सरिक भइसकेका रेग्मीले यस भित्रका आरोह र अवरोह देखेर नै केही संस्थागत परिवर्तनका लागि आफू नेतृत्वमा आउन लागेको बताए।
नीति निर्माण तहमा पुगेर संस्थालाई योगदान गर्ने आफ्नो इच्छा रहेकाले आफूले उम्मेदवारी दिएको उनले स्पष्ट पारे।
'संघमा बसेर लामो समय काम गरेको अनुभव छ। अब नौला तथा रचनात्मक कामको सुरूवात गर्नुपर्छ भन्ने सोचेर नै सचिव पदमा उम्मेदवारी दिएको हुँ,’ उनले भने।
उनले संस्थाको विकाससँगै विभिन्न विकृति पनि बढ्दै गएकाले विकृतिलाई रोकेर सकारात्मक कामका लागि नौलो प्रयोग गर्न आफू आएको बताए।
'संस्था ठूलो हुँदै गइरहेको छ। राम्रा काम पनि भइरहेका छन्। तर, विकृति पनि उत्तिकै छ, गुटभन्दा माथि उठेर संस्थालाई हाम्रो र राम्रो संस्था बनाउने मेरो भूमिका हुनेछ,’ रेग्मीले भने भने, ‘संसारभरका नेपालीको साझा संस्था भएकोले यसलाई सबैको हक हितको लागि योग्य बनाउनेमा मेरो पहल हुनेछ।’
उनले आफूले जापान र अष्ट्रेलियाको एनआरएनमा काम गरिसकेकाले अब समग्र विश्वभर फैलिएका एनआरएनएका लागि केही उपयोगी काम गर्ने बाचासमेत गरे।
‘संसारभर छरिएर रहेका गैरआवासीय नेपाली साथीहरुबीच खाडीको व्यथासँगै अमेरिका, अष्ट्रेलिया र युरोपको कथालाई सम्मानित तवरले अगाडि बढाउन आफूले भोगे जानेका ज्ञानको सदुपयोग गर्ने मेरो उद्देश्य हो,’ उनले भने।
उनले इमान्दारिपूर्वक काम गरेर संस्थामा भएको बेथितिलाई हटाउने, संस्थालाई भर्याङ बनाउन होइन समाजको निम्ति केही दिन आउने भन्ने प्रमाणित गर्न र सामुहिक भावनामा हाम्रो अर्थात सबैको साझा संस्थाका रुपमा राम्रो बनाउने अभियान बोकेर केन्द्रीय सचिव पदमा उम्मेदवारी दर्ता गरेको स्पष्ट पारे।
उनले विदेशमा सिकेको ज्ञान र सिपलाई नेपालको वृहत्तर हितको लागि सदुपयोग गर्न विश्वका बिभिन्न विश्वविद्यालय लगायत उच्च तहमा पुगेका विज्ञहरुबीच स्थायी सञ्जालको निमार्ण गर्नेसमेत योजना बनाएका छन्।
को हुन् रेग्मी
सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरेका रेग्मी अस्ट्रेलियन राज्य सरकारको जलस्रोत विभागमा सिनियर इन्जिनियरका रूपमा कार्यरत छन्।
पूर्वी नेपालको मोरङमा हुर्कि बढेका रेग्मीले जनता नमूना मा बि, विराट साइन्स कलेज हुँदै पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट प्रारम्भीक अध्ययन पूरा गरे।
अध्ययन पूरा गरेर अध्यापन थालेका रेग्मीले २००० देखि ४ वर्षसम्म थापाथली क्याम्पसमा लेक्चर हुँदै विभागीय प्रमुखसमेत भए।
त्यसपछि सन् २००४ देखि २००६ सम्म जापानबाट एमई सिभिलमा मास्टर्स डिग्री पूरा गरे।
त्यसपछि ओलोङोङ युनिभर्सिटी अस्ट्रेलियाबाट जलश्रोत विधामा पिएचडी सकेका जलश्रोत विज्ञ रेग्मी हाल अस्ट्रेलियाको राज्य सरकारको जलश्रोत मन्त्रालयमा सिनियर इन्जिनियरको रूपमा कार्यरत छन्।
अस्ट्रेलियाकै स्विन्वर्न युनिभर्सिटिमा सिभिल इन्जिनियरिङ विधामा प्राध्यापन गराइरहेका रेग्मी प्रवासी नेपाली समजमा लोक्रपिय छन्।