तनहुँबाट उच्च शिक्षाका लागि १६ वर्षअघि अस्ट्रेलिया पुगेका सागर लोहनीले आफ्नो स्वामित्वमा अस्ट्रेलियामै दोस्रो कलेज सञ्चालनमा ल्याएका छन्।
अस्ट्रेलियाको 'चर्चहिल इन्स्टिच्युट अफ हायर एजुकेसन' कलेज भर्खरै लोहनी लगायतको स्वामित्वमा सञ्चालनमा आएको हो।
कलेजमा ब्याचलर्स इन बिजनेस अन्तर्गत आइटी, एकाउन्ट, म्यानेजमेन्ट र हस्पिटालिटीमा पढाइ हुने लोहनीले बताए।
पछिल्लो समय अस्ट्रेलिया उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूका लागि ध्यानमा राखी नयाँ कलेज सञ्चालनमा ल्याइएको उनको भनाइ छ।
यसअघि अस्ट्रेलियाको न्यू साउन वेल्समा उनको स्वामित्वमा प्राविधिक कलेज 'इन्टरनेसनल इन्स्टिच्युट अफ एजुकेसन' सञ्चालनमा आइसकेको छ।
लोहनीले ३ वर्षदेखि अस्ट्रेलियामै चाइल्ड केयर समेत सञ्चालन गर्दै आइरहेका छन्।
उक्त चाइल्ड केयरलाई अस्ट्रेलियाको स्टेट सरकारले ५३ विलियन डलरको पाठ्यक्रमसम्बन्धी पाइलट प्रोजेक्ट सञ्चालन गर्नका लागि चयन गरेको लोहनीले जानकारी दिए।
लोहनीले लामो समय अस्ट्रेलियामा विभिन्न भोकेसनल कलेजहरूमा आबद्ध भएपश्चात् कलेज सञ्चालनमा ल्याएका हुन्।
अस्ट्रेलिया प्रवेशको सुरूआतीताका रिटेल चेनमा काम गरेको अनुभव समेट्दै लोहनीले हाल सिड्नीमा 'साथीमार्ट' पनि सञ्चालनमा ल्याएका छन्।
सन् २००८ मा अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न गएका लोहनीले अस्ट्रेलियाकै युनिभर्सिटीबाट कानून, एकाउटिङको अध्ययनसँगै एमबिए समेत गरेका छन्। हाल उनी पिएचडी फेलो हुन्।