गैरआवासीय नेपाली संघ यतिखेर निर्वाचनमा होमिएको छ र नयाँ नेतृत्व चयन प्रक्रियामा छ। जित र हारभन्दा पनि संघको पछिल्ला गतिविधि र खिचातानीका बाबजुद संघको धुलो मैलो फालेर पुरानै लयमा फर्काउने चुनौती नयाँ नेतृत्वलाई हुनेछ। त्यति मात्र नभई महिला, युवा, वैदेशिक रोजगारमा गएका नेपाली, प्राज्ञिक वर्ग र दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूसहित आम गैरआवासीय नेपालीहरूले अपनत्व महसुस गर्ने संस्थाको रूपमा संघलाई रूपान्तरण गर्ने महत्वपूर्ण जिम्मेवारी पनि थपिएको छ।
अवसर र मौकाको खोजीमा परदेशिएका नेपालीहरू गोलबद्ध हुँदै गर्दा नेपाली राजनीतिलाई प्रवासमा पनि फराकिलो बनाउँदै गरेका कयैन् दृष्टान्तहरू छन्। तर पछिल्लो निर्वाचनमा भने प्रवासी नेपालीहरूको सोच र उपजले नेपाली राजनीति पनि प्रभावित हुन लागेको संकेत मिलेको छ। जसमा नेपालमा पछिल्लो निर्वाचनमा उदाएका केही नयाँ पार्टीहरूको साथ र सहयोगमा प्रवासको भूमिका देखिन थालेपछि नेपाली राजनीतिमा पनि यसको तरंग फैलिन लागेको छ।
यतिखेर प्रवासमा भारतबाहेक मात्र करिब २४ लाख नेपालीहरू विदेशमा विभिन्न पेशामा संलग्न छन्। अमेरिका, जापान, अस्ट्रेलिया, बेलायत, युरोप अनि क्यानडा लगायतका करिब ९० देशमा नेपालीहरूको बसोबास भएको तथ्यांकले देखाउँछ।
यसरी विश्वका कुनाकन्दरामा छरिएर रहेका नेपालीहरू गैरआवासिय नेपाली संघको छातामुनि गोलबद्ध हुँदै गर्दा यसको प्रभाव फरक र अलग रूपमा गनिन्थ्यो। तर 'एक पटकको नेपाली सधैंको नेपाली' भन्ने मूल मन्त्र बोकेर हिँडेको एनआरएनको यो अभियान पनि सफल भएपछि यतिखेर लगानी र मुलुकको सिरानीसँग जोडिने कुरामा नयाँ आयामको प्रारम्भ भएको छ।
सँगसँगै नेपाली राजनीतिक दल र सरकारले प्रवासी नेपालीलाई हेर्ने नजरमा समेत केही फरक सोचको विकास भएको देखिएको छ।
पछिल्लो आमनिर्वाचन र स्थानीय निर्वाचनका केही परिणामले यो सन्देश दिएको हो। काठमाडौंमा बालेन शाहको उदय र चितवनलगाायत केही क्षेत्रका स्वतन्त्र पार्टीको उदयमा प्रवासी नेपालीहरूको भूमिका छचल्किएपछि यसको अलग धारमा विश्लेषण हुन थालेको हो।
नेपालका राजनीतिक दलले एनआरएनमात्र मान्ने एउटा परदेशिएको विशाल कित्तालाई कहिले राष्ट्रिय महत्वको विषयमा राखेको पाइँदैनथ्यो। दुई वर्षमा आउने हल्ला मच्चाउने साना तिना काम र ठूला गफ गर्ने जमातका रूपमा विश्लेषण गर्ने राजनीतिक दलहरू यतिखेर चनावी गठजोठमा समेत प्रवासीहरुूको भूमिकाको खोजी गर्न थालेका छन्।
यो हामी गैरआवासीय नेपालीहरूको लागि उपलब्धीमूलक रहेको छ। यसरी नेपाली राजनीतिक दल र सरकारले राजनीतिक अधिकारविहीन नागरिकता दिएर हामी सबैलाई सम्मान गरेता पनि राजनीतिभित्र पनि हाम्रो भूमिकाको खोजी गर्नुलाई थप उपलब्धीको रूपमा लिनुपर्दछ।
नेपालको पछिल्लो निर्वाचनले देखाएको परिणामले प्रवासी नेपालीको भूमिका निकै महत्वपूर्ण देखिएको एनआरएनका महासचिव गौरी जोशी बताउँछन्। विदेशमा नेपाली जनसंख्या बढेसँगै नेपालभित्र राजनीतिमा पनि विदेशका नेपालीको दबाब बढ्न थालेको हुनाले विदेशका नेपालीलाई सुसूचित गर्ने जिम्मेवारी बढेको कुरा महासचिव जोशीले बताए।
अबका दिनमा नेपाली राजनीति र त्यसको प्रभावकारितामा प्रवासी नेपालीको भूमिका समेत महत्वपूर्ण बन्दै आएको उनले बताए।
पछिल्ला दिनमा नेपाली राजनीतिमा देखिएको प्रभावलाई स्थापित गर्न गैरआवासीय नेपाली संघको दायरा बढाउँदै अन्तर्राष्ट्रियस्तरको बहुआयामिक संस्थामा विकास गरी संघलाई विश्वासिलो साझेदारका रूपमा स्थापित गर्नु अहिलेको प्रमुख आवश्यकता हो।
गैरआवासीय नेपाली समुदायसँग जोडिएका अन्य विषयहरू सामाजिक सुरक्षाकोष, श्रमिक समस्या, नागरिकता, सम्पत्ति अधिकार, नेपालको निर्वाचनमा विदेशबाट मतदान, विद्यार्थीका समस्या, दोहोरो कर प्रणाली, नेपालीभाषी समुदायको पैरवी गर्ने जस्ता महत्वपूर्ण पाटोलाई हामीले बिर्सनु भने हुँदैन।