अस्ट्रेलियामा सांगीतिक कार्यक्रमका लागि आएका गायक सुगम पोखरेलले एडिलेडमा भएको घटनामा आफूबाट जानी नजानी गल्ती भएकोमा दर्शकसँग क्षमा मागेका छन्।
एडिलेडमा आफू केही इमोसनल भएको र कार्यक्रममा दर्शकमाझ दुर्व्यवहार भएकोमा आफ्नो कमीकमजोरी रहेको भन्दै अब उप्रान्त यस्तो नहुने बताए।
‘एउटा कलाकारको लागि दर्शक श्रोता भनेका भगवान हुन्, उनीहरूको माया र ममता नै हाम्रो लागि आशीर्वाद हो, तर केही गल्ती हुन पुगेछ। मलाई जानेर बुझेर क्षमा गर्नु हुनेछ भन्ने विश्वास लिएको छु’, उनले भनेका छन्।
गत हप्ता एडिलेडमा भएको सांगीतिक कार्यक्रममा सुगमले केही मातिएर दर्शकमाथि अभद्र व्यवहार गरेको भिडिओ र समाचार सार्वजनिक भएपछि उनले आफ्नो गल्ती स्वीकार्दै माफी मागेका हुन्।
कार्यक्रममा उनले जाजरकोटको घटनामा एक मिनेट मौन धारण गर्न आग्रह गर्दा केही हल्ला भएपछि दर्शकमाथि माइक प्रहार गरेको भिडिओ सार्वजनिक भएको थियो।
यससँगै यसको टुर अर्गनाइजर गब्बर इन्टरटेन्टमेन्टले पनि घटनाका बारेमा क्षमा माग्दै एडिलेडको कार्यक्रमको आयोजकका रूपमा गिरिस र यार्सा इभेन्ट्स रहेको जनाएको छ।