सिड्नीको पश्चिमी क्षेत्रमा रहेको चिपीङ नर्टनको ताल नजिकै पार्कमा नेपाल तराई संघ अस्ट्रेलिया (एन्टा) ले भव्य रूपमा यस वर्षको छठ पर्व मनाएको छ।
तिहार सकिएलगत्तै सुरू हुने छठ पर्व पछिल्ला वर्षहरूमा समेत अस्ट्रेलियामा धुमधामका साथ मनाइँदै आएको छ। वर्षभरि मानव जातिलाई शक्ति प्रदान गर्न सूर्य देवताको विशेष पूजाआजा गरिने यस छठ पर्व यतिबेला तराई मधेसको मात्र नभई सबैको राष्ट्रिय चाड बनिसकेको एन्टाका अध्यक्ष रन्जित शाहले बताए।
‘नेपाल र नेपालीको पहिचान बनिसकेको यो पर्व विदेशमा आएर पनि भव्य र सभ्य रूपमा मनाउन पाउँदा हामीलाई निकै खुसी लागेको छ’, अध्यक्ष शाहले भने।
एन्टाका पूर्वअध्यक्ष सुवांश शाहले विदेशमा पनि छठ पर्वको विस्तार बलियो बन्दै आएको र अस्ट्रेलियामा लामो समयदेखि यो पर्वलाई हर्षोल्लासका साथ मनाउँदै आएको बताए।
कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले सहभािगता जनाउँदै मुलुकसँग जोडिएका यस्ता चाडपर्वहरू सबैका लागि महत्वपूर्ण र विशेष हुने बताए।
कार्यक्रममा आइसिसी सदस्य डिल्ली ढकाल, एनआरएन अस्ट्रेलियाका सल्लाहकार बुद्धि डल्लाकोटी, पूर्व अध्यक्ष महेन्द्र ओली, समुदायका अगुवा रमेश पाण्डे लगायतले छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरेका थिए।