नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता (टिफा) मा हस्ताक्षर भएको छ।
परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा अस्ट्रेलियाको पर्थमा उक्त सम्झौता भएको हो।
अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
अस्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको नेपाली राजदूतावासले जनाएको छ।
हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्र मन्त्रीहरूले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका छन्।
अस्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्र मन्त्री एनपी साउदले यस सम्झौताले आगामी दिनमा नेपाल र अस्ट्रेलियाबीच व्यापार र लगानीका विषयमा बाटो खुलेको बताउँदै यो सम्झौता मुलुकका लागि महत्वपूर्ण उपलब्धीका रूपमा रहेको बताए। उक्त सम्झौतापछि यसका लागि एउटा संयन्त्र तयार हुने र हरेक दुई वर्षमा नेपाल र अस्ट्रेलियामा पालैपालो बैठक बस्ने तथा नयाँ
सम्झौता तय हुनेछ।
सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको कारण पनि यो सम्झौता महत्वपूर्ण रहेको बताए।
‘अस्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्रहरू हुन्। हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ। हाम्रो देशमा नेपाली मूलका अस्ट्रेलियालीको समुदाय तीव्र रूपमा बढिरहेको छ,’ सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले उल्लेख गरेका छन्।
वाट्सले गत वर्ष नेपाल भ्रमणमा गएका थिए। उक्त भ्रमणका क्रममा आफूले नेपाल सरकार, विभिन्न क्षेत्रका अगुवाहरूसँग आपसी सम्बन्ध थप गहिराइमा पुर्याउने अवसरका र उपायबारे कुराकानी गरेको समेत उल्लेख गरे।
त्यसबेला परराष्ट्रमन्त्री साउदसँग भएको भेटवार्तामा दुवै देशबीचको आर्थिक सम्बन्ध थप गहिराइ पुर्याउने विषयमा छलफल गरेको स्मरण गर्दै उनले दुवै देशबीच आर्थिक तथा लगानीको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्ने अवसर मिलेकोमा सहायक मन्त्री वाट्सले खुसी लागेको बताए।
अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले यो सम्झौता दुई देशबीच महत्वपूर्ण उपलब्धीका रूपमा रहेको बताए।
‘आधिकारिक रूपमा सहायक मन्त्री वाट्सको पहिलो आधिकारिक नेपाल भ्रमण र त्यसको निरन्तरताका रूपमा पर्थ सम्झौता सम्पन्न भएकोमा दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ हुँदै गएको हामीले विश्वास गरेका छौं,’ पोखरेलले भने।