अस्ट्रेलियाको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्र मन्त्री एनपी साउदले एनआरएनका नेताहरूको आपसी कलहले नै संस्थामा विवाद निम्तिएको बताएका छन्।
नेपाल र अस्ट्रेलियाबीचको व्यापार तथा लगानी सम्झौताका लागि अस्ट्रेलिया आइपुगेका मन्त्री साउदले परोपकारी संस्थाका रूपमा रहेका एनआरएनका पदाधिकारीहरू विद्यार्थी संगठनझैं आपसमा भिडन्त सुरू गर्न थालेपछि अहिले संस्थामा विवाद देखिएको र त्यसको समाधानको लागि सरकारले उच्चस्तरीय छानबिन समिति बनाएको जानकारी दिए।
जनसम्पर्क समिति क्यानबेराको आयोजनामा अन्तर्क्रिया कार्यक्रममा सहभागी हुँदै मन्त्री साउदले यसको दर्ता प्रक्रियामा केही विधि विधान नपुगेको तर एक्कासि अदालती कारण देखाऊ आदेश आएपछि यो रोकिएको समेत बताए।
कार्यक्रममा बोल्दै मन्त्री साउदले आफूले एनआरएनको मर्यादा बढोस् भन्ने चाहेको तर स्वयं संस्थाका व्यक्तिहरू नै आपसमा ढुंगामुढा गर्ने र झैझगडा गर्न थालेपछि विवाद चर्केको बताए।
विदेशमा बस्ने नेपालीहरूको एकताका आधारमा र विधि विधानका आधारमा सहमति गर्न आफूले समय दिएता पनि विवादित पक्ष नमिलेका कारण सरकारले छानबिन समिति बनाउन बाध्य भएको समेत मन्त्री साउदले बताए।
'सरकारलाई गाली गरेर भाइरल हुनु फरक विषय हो तर वास्तविकता भनेको आपसी सहमति र एकता नै हो भन्ने कुरा बुझ्न जरूरी छ, सरकार एनआरएन भत्काउन, बिगार्न लागिपरेको छैन, एनआरएन भित्रकै साथीहरू यसलाई भत्काउन लागेको हो कि भन्ने विषयमा चिन्ता लिनुपर्ने बेला आएको छ,' उनले भने।
सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा कुनै काम नगरेको तर अधिवेशनले झैझगडाले एउटाले दर्ता गरिपाऊँ भन्ने तर अर्कोले अवैधानिक भएकोले नगर्न समेत निवेदन दिएपछि आफूहरू अलमलमा परेको उनले बताए।।
'संरक्षकका हैसियतले अन्तमा यसको समाधानका लागि छानबिन समिति बनाएर अगाडि बढ्ने र यसको एकता कायम गर्नेमा हामी लागेका छौं,' उनले भने।
कार्यक्रममा एनआरएन नागरिकता लिने व्यक्तिहरूले समेत भिसा लिनुपर्ने अवस्थाका बारेमा सोधिएको प्रश्नमा यसको लागि परराष्ट्र मन्त्रालयले अर्थ र गृह मन्त्रालयका प्रतिनिधिसहित कार्यविधिका लागि समिति बनाइसकेको उनले बताए।
'केही महिनामै यसको निकास निक्लने छ,' उनले भने।
मन्त्री साउदले एनआरएन नागरिकताले प्राप्त गर्ने सबैखाले हक र अधिकार सुनिश्चित हुने तर यसका लागि कानुन बनेपछि यसमा विनियम र कार्यविधिका विषयमा भने सरकारले काम गरिरहेको बताए।
जनसम्पर्क समिति एसिटीका अध्यक्ष ललित मल्लको संयोजकत्वमा सम्पन्न कार्यक्रममा एनआरएनका केन्द्रीय सचिव ज्ञानेन्द्र रेग्मीले एनआरएन नागरिकता विषयमा कृष्ण हमालले लगानीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सीमित स्रोत र साधनका बाबजुद पनि राजदूतावासले आफ्नो सेवा र सुविधालाई दिनरात नभनी काम गर्दै आएको र त्यसले केही राम्रो प्रतिफल पनि दिएको बताए।
राजदूत पोखरेलले दुई देशबीच परराष्ट्रमन्त्रीस्तरीय भेटवार्ता र लगानी तथा व्यापार सम्झौताले दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनेको समेत सुनाए।