लेखक प्रज्ञा पनेरुको पहिलो उपन्यास 'बिषाणु ऋ' को लोकार्पण भएको छ।
सिड्नीको म्याक्स वेबर पुस्तकालय, ब्ल्याकटाउनमा उक्त उपन्यास लोकार्पण भएको हो।
ब्ल्याकटाउन सिटी काउन्सिलले सहयोग गरेको सो कार्यक्रममा लेखक प्रज्ञा पनेरु, गजलकार ज्ञानुवाकर पौडेल र त्रिभुवन विश्वविद्यालय नेपाली भाषाकी प्राध्यापक गार्गी शर्माले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए।
'बिषाणु ऋ' भित्र रहेका विषयवस्तुमाथि केन्द्रित भएर लेखक प्रज्ञा पनेरुसँग लेखक सानु घिमिरेले आधा घण्टा लामो पुस्तक वार्ता गरेको थिइन्, जसमा पुस्तक भित्रका विभिन्न घटनाक्रम, लैंगिक चेतका कुराहरू र समग्रमा लेखकको भनाइ र दृष्टिकोण प्रस्तुत भएको थियो।
पुस्तकमाथि टिप्पणी गर्दै लेखक तथा समालोचक सुरेन्द्र दवाडीले यो पुस्तक उत्तर आधुनिकीकरणको उत्कृष्ट नमूना भएको बताउँदै पुस्तकभित्र प्रस्तुत भएको मनोवैज्ञानिक पक्ष, साइकोथेरापीको प्रयोगदेखि नेपाली चर्चित साहित्यकार पारिजातको लोकप्रिय उपन्यास 'शिरिषको फूल' को पात्रलाई पुनर्लेखन गरी लेखिएको भागलाई प्रशंसा गरेका थिए।