गैरआवासीय संघ अस्ट्रेलिया (एनआरएनए) ले संघको नक्कली लेटरप्याड प्रयोग गरी नक्कली पण्डित अस्ट्रेलिया ल्याउनेविरूद्ध अस्ट्रेलियन सरकार र नेपाल सरकारमा समेत उजुरी दिएको बताएको छ।
एनआरएनद्वारा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अनिल पोखरेलले एनआरएनएको किर्ते काम गरेर मानव तस्करीमा संलग्न एजेन्टको पत्ता लागेको र उनलाई कारबाहीको दायरामा ल्याउन अस्ट्रेलिया तथा नेपाल प्रहरीमा समेत उजुरी दिइसकेको बताए।
गैरआवासीय नेपाली संघको लेटरप्याडमा आफ्नो नक्कली हस्ताक्षरसहितको सिफारिसपत्र संलग्न गरी अध्यागमन कार्यालयमा चितवनका एक युवकलाई नक्कली पुजारी बनाई ल्याउन भिसा हाल्ने सिड्नीको एक कन्सल्टेन्सी भएको र भिसा आवेदनमा सहयोग गर्ने व्यक्ति सोही संस्थासँग आबद्ध समेत रहेको बुझिन आएको अध्यक्ष पोखरेलले बताए।
चितवन निवासी एक युवकलाई नक्कली पण्डित बनाई अस्ट्रेलिया ल्याउन एक कम्पनीबाट भिसा हालिएको देखिएको समेत अध्यक्ष पोखरेलले बताए। उक्त प्रमाण आफूसँग सुरक्षित रहेको उनले बताए।
‘हजारौं नेपाली मनहरूको जोडिने थलोको रूपमा रहेको एनआरएनलाई बदनाम गर्न जुन कार्य भएको छ, यो सह्य हुँदैन। यसका लागि हामीले कानुनी विशेषज्ञ पनि राय, सुझाव लिने काम भैरहेको छ, नेपाल प्रहरीले केन्द्रीय कार्यालयमार्फत् उजुरी दर्ता गर्न सुझाव दिएकोले हामीले त्यसै अनुरूप गरेका छौं,’ उनले भने।
एनआरएनएले यसरी किर्ते काम भएपछि अस्ट्रेलियन हाइकमिसन दिल्लीसँग पत्राचार गर्दै प्रवेशाज्ञाको लागि यस संस्थासँगको कुनै पनि आबद्धता वा सिफारिस आएमा सम्बन्धित अध्यक्ष वा महासचिवसँग त्यसको सत्यतथ्य बुझ्न अनुरोध समेत गरिएको अध्यक्ष पोखरेलले सुनाए।