सिड्नीको स्टेट थिएटरमा नेपाली हास्यव्यङ्ग्य क्षेत्रका बहुचर्चित व्यक्तित्व मदनकृष्ण श्रेष्ठको प्रवेशसँगै जब हजारौं दर्शकदीर्घाले उठेर उनको सम्मानमा ताली बजाउँदै स्ट्यान्डिङ ओभेसन दिए तब उनी भावुक हुँदै भने- दर्शक मेरा भगवान हुन्, यसरी नउठिदिनुस्, मलाई ऋणको भारी बोकाएजस्तो लाग्छ।
पार्किन्सन्स रोगले थलिएका मदनकृष्ण श्रेष्ठले फुलबुट्टे सारी, एउटा सपना छ तिमीलाई माया गर्ने लगायतका आफ्ना केही लोकप्रिय गीतहरू गाउँदा दर्शक श्रोता भावुक देखिन्थे। दर्शकहरू बसेर गाउन हुटिङ गर्दा पनि मदनकृष्ण भने केहिले उठ्थे अनि नसकेपछि बसेर गाउँथे।
तीन वटा गीत गाएपछि मदनकृष्णले दर्शकमाझ भने, ‘गीत गाउन सास पुग्दैन तै पनि साहसमा अझै कमी आएको छैन। यो सबै तपाईंहरूको माया ममताको प्रतिफल हो। अझै थुप्रै दर्शक स्रोतामाझ पुगौं भन्ने आत्मबल आउँछ तर आत्मबल भएर हुँदैन रैछ हातमा बल पनि चाहिँदो रहेछ।’
करिब १० वर्षपछि सिड्नीमा आयोजित महजात्रामा यस पटक मदनकृष्ण हरिवंशको जोडीले 'होलबडी चेकअप' र हरिवंश आचार्यको उपाध्याय मम सेन्टर प्रहसन गरेका थिए।
'होलबडी चेकअप' देशको आर्थिक, सामाजिक परिवेशममा केन्द्रित रही नागरिकको स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा देखिएको लापरबाहीबारे व्यंग्य गरिएको थियो।
मुलुकको पछिल्लो परिस्थिति र नागरिकको स्वास्थ्यमा हुने लापरबाहीको उदाहरणका रूपमा रहेको होलबडी चेकअपले नेपालमा मौलाएको निजी हस्पिटल र मनपरितन्त्रको पराकाष्ठालाई तिखो प्रहार गरेको छ। होल बडी चेकअप प्रहसनमा नरेन्द्र कंसाकारले चिकित्सकको भूमिका र मदनकृष्णले हस्पिटल मालिकको भूमिका निर्वाह गरेका थिए।
यस्तै, हरिवंश आचार्यको उपाध्याय म:म सेन्टरको उद्घाटनले नेपाली राजनीति क्षेत्रमा देखापरेका विकृति र विसंगतिलाई उजागर गर्ने प्रयास गरिएको छ।
सिड्नीको ड्रिम हाइटसको प्रस्तुति र मार्कक्यु होम्स तथा एभरेस्ट ट्राभलको प्रायोजनमा दश वर्षपछि सिड्नीको टाउन हलको स्टेट थिएटरमा महजात्रा आयोजना भएको हो।
किरण केसीको प्रस्तुतिबाट सुरू भएको कार्यक्रममा चर्चित गायिका कुन्ती मोक्तान, शिला बहादुर मोक्तान लगायत स्थानीय कलाकार महेश प्रर्साइले आ-आफ्नो प्रस्तुति दिएका थिए।
अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले कार्यक्रमको आयोजना महत्वपूर्ण रहेको बताउँदै प्रायोजक एक्सपर्टका बद्री अर्याल लगायतलाई सम्मानपत्र वितरण गरेका थिए।