नेपाली पपब्याण्ड १९७४ एडी यतिबेला ३० औं वर्षगाँठ मनाउँदै छ।
सन् १९९४ बाट सुरू भएको यो व्याण्डले आफ्नो तीन दशक लामो यात्रालाई भव्य बनाउने क्रममा विश्वव्यापी कन्सर्ट टुरको आयोजना गरिरहेको छ। मे र जुनमा अमेरिकाबाट सुरू भएको १९७४ को यात्रा यतिबेला अस्ट्रेलिया आइपुगेको छ।
ब्रिसवेनमा खचाखच भरिएको हलमा प्रस्तुति दिएको ब्याण्डले अस्ट्रेलियाको अधिकांश सहरमा आफ्नो यात्रा गर्नेछ।
६ अमेरिकी सहर र जापानको टोकियो र क्योटो सहरमा कन्सर्ट सकेर ब्याण्ड अस्ट्रेलिया आएको हो।
सेप्टेम्बर २१ सम्म सात अस्ट्रेलियाली सहरमा कन्सर्ट हुने अस्ट्रेलिया टुर आयोजक रोटेपिङ इन्टरटेन्टमेन्टका रोशन भट्टराईले सेतोपाटीलाई जानकारी दिए।
भट्टराईका अनुसार ४ सेप्टेम्बरमा ब्रिसबेन, ८ सेप्टेम्बरमा पर्थ, ९ सेप्टेम्बरमा मेलवर्न, १२ सेप्टेम्बरमा एडिलेड, १४ सेप्टेम्बरमा होबर्ट, १९ सेप्टेम्बरमा क्यानबेरा र २१ सेप्टेम्बरमा सिड्नीमा कार्यक्रम हुनेछ।
सन् २०१९ मा ब्याण्ड पुनः एक भएसँगै विश्वयात्रामा निस्किने तयारी गरेको भए पनि कोभिड महामारीले रोकिएको थियो। ३० औं वर्षगाँठको अवसरमा विश्वभर छरिएका फ्यानसम्म प्रस्तुति पुर्याउन पाउँदा खुसी लागेको ब्याण्ड सदस्य सञ्जय श्रेष्ठले जानकारी दिए।
उनका अनुसार ब्याण्ड पुरानै लाइनअपमा अमेरिकामा करिब २२ वर्षपछि पुगेको हो।
३० वर्षको यात्रामा धेरै उतारचढाव झेलेको भए पनि अहिले एकसाथ नयाँ र पुराना फ्यानसँग जोडिन पाउँदा खुसी लागेको ब्याण्डका संस्थापक निराकार याकथुङ्बाले बताए।
३० वर्ष पुगेकै अवसरमा ब्याण्डले केही समयअगाडि आफ्नो ‘हजार सपना’ गीतको भिडिओ पनि सार्वजनिक गरेको थियो।