नेपाली पपब्याण्ड १९७४ एडी आफ्नो ३० औं वर्षगाँठ मनाउने क्रममा हिजोआज अष्ट्रेलियामा छ।
ब्यान्ड विश्वव्यापी कन्सर्ट टुरमा छ। गत मे र जुनमा अमेरिकाबाट सुरू भएको ब्याण्डको यात्रा आगामी शनिबार अस्ट्रेलियाबाट समापन हुँदैछ।
नेपाल र विश्वभर फैलिएका नेपाली संगीतप्रेमीमाझ चिनिएको नाम र ब्यान्ड हो- १९७४ एडी।
आउँदो शनिबार सिड्नीको बहुचर्चित भेन्यू आइसीसीमा १९७४ एडीले आफ्नो सांगीतिक प्रस्तुती दिने भएको छ।
करिब एक दशकअघि मुख्य गायक फिरोज स्याङ्देन अचानक अमेरिका जानु र लगत्तै अर्का गायक एड्रियन प्रधानसमेत अनुपस्थित भएपछि ब्यान्डका प्रशंसकहरू निराश भएका थिए। सर्वकालिन हिट गीत गाउने दुवै गायक साथमा नभएपछि ब्यान्डमा केही अभाव खड्किएको थियो।
फिरोज र एड्रियन गायक मात्र नभई सर्जक पनि थिए। सन् २०१९ मा समूहका पाँचै जना पुराना सदस्य फिरोज, एड्रियन, निराकार याक्थुम्बा, मनोज केसी र सञ्जय श्रेष्ठ फेरि ब्यान्डमा सामेल भएपछि यसले पुर्नताजगी पाएको थियो। संयोगले यसै वर्ष ‘१९७४ एडी’ स्थापनाको ३० वर्ष पुगेको छ।
सिड्नीमा सोमबार आयोजना गरिएको पत्रकार भेटघाटमा एड्रियन प्रधानले ब्यान्ड भनेको एउटा परिवारजस्तै भएको भन्दै परिवारभित्र कुन बेला कसलाई के चित्त बुझ्दैन त्यस्तो बेलामा नकारात्मक भावनाहरू आउनु स्वभाविक भएको बताए। उनले हाम्रा गीत सुनेर संगीतसँग जीवन जोडिएका प्रशंसकको मायाले फेरि आफूहरू एकताबद्ध भएको जिकिर गरे।
ब्यान्डका अर्का सदस्य निराकर याक्थुम्बाले आफ्नो तीन दशक लामो यात्रालाई विशेष बनाउने सिड्नीमा केही नयाँ गर्ने बताए।
'यसपटक ३०औँ स्थापना दिवसमा सिड्नीमा केही विशेष प्रस्तुती दिने प्रयास गर्नेछौँ,' उनले भने, 'कुनै पनि नेपाली ब्याण्डले पहिलो पटक आइसिसीमा प्रस्तुति दिनु पाउनु आफ्नो लागि ठूलो अवसर र मौका भएको उनले प्रस्ट्याए।
कार्यक्रममा ब्यान्डका सदस्यहरू सञ्जय श्रेष्ठ, मनोज केसी, फिरोज स्याङदेनले ब्यान्डको पुर्नमिलनपछिको विदेश यात्रामा दर्शक श्रोताको माया र स्नेहमा अझ बढी अभिवृद्धि भएको आफूहरूले पाएको बताए।
'सन् २०१९ मा ब्याण्ड पुनः एक भएसँगै विश्वयात्रामा निस्किने तयारी गरेको भए पनि कोभिड महामारीले रोकिएको थियो। ३० औं वर्षगाँठको अवसरमा विश्वभर छरिएका फ्यानसम्म प्रस्तुति पुर्याउन पाउँदा खुसी लागेको छ', ब्याण्ड सदस्य सञ्जय श्रेष्ठले भने।
३० वर्षको यात्रामा धेरै उतारचढाव झेलेको भए पनि अहिले एकसाथ नयाँ र पुराना फ्यानसँग जोडिन पाउँदा खुसी लागेको ब्याण्डका संस्थापक निराकार याकथुङ्बाले बताए।
'यो मन त मेरो नेपाली हो....', 'गुराँसै फुल्यो.....', 'छुँदैन तिम्रो मायाले.....', 'सम्बोधन....'जस्ता सर्वकालिन गीतले दर्शक श्रोताको मन जितिसकेको यो समूहको फरक पहिचान बन्दै आएको छ।
रोटेपिण्ङ इन्टरटेन्टमेन्टले अष्ट्रेलिया भ्रमण गराएको ब्याण्डले यसअघि ब्रिसबेन, पर्थ, मेलवर्न, एडिलेड, होबर्ट र क्यानबेरामा प्रस्तुती दिइसकेको छ।
भ्रमणका दौरान सिड्नी आइपुगेका १९७४ एडीको टोलीलाई एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा न्युसाउथवेल्स राज्यका संयोजक विनोद कुँवर, सचिव कल्याण खड्का, एभरेष्ट ट्राभल्स एवं मार्की होक्सका इर्शाद अहमद लगायतले कार्यक्रमलाई सफलताको शुभकामना दिएका थिए।
एनआरएन एनएसडब्लूका संयोजक कुँवरले राष्ट्रिय प्रतिभाहरूलाई सम्मान गर्न पाउनु आफ्नो लागि गौरवको विषय रहेको बताए। उनले एनआरएनए सधै नेपाली कला र संस्कृतिको सम्मान गर्दै आवश्यक सहयोगको लागि तयार रहेको बताए।
यस्तै मार्की होम्सका इर्शाद अहमदले नेपाली दर्शक श्रोताको मन जित्ने कलाकार र ब्यान्डसँग जोडिन पाउनु आफैमा महत्त्वपूर्ण उपलब्धि रहेको भन्दै आगामी दिनमा पनि सांगीतिक रूपमा सँगै रहेने विश्वस्थ तुल्याए।
रोटेपिङ इन्टरटेन्टमेन्टका रोशन भट्टराईले आफूहरूले पहिलो पटक सिड्नीको आईसीसीमा कार्यक्रम आयोजना गरिएको र यसको सबै तयारी पूरा भएको जानकारी दिए।
'कुनै पनि नेपाली ब्याण्डले यो भेन्युमा कार्यक्रम गरेको पहिलो पटक हो। करिब ५ हजार दर्शक क्षमताको उक्त हल लगभग भरिएको छ। यो हाम्रो लागि खुसीको कुरा हो,' उनले भने,' कार्यक्रमका लागि सबै तयारी पूरा भएको छ। हामी कार्यक्रमलाई सभ्य र भब्य बनाउन कुनै कसर बाँकी राख्नेछैनौ।'
पाँच हजारभन्दा बढी दर्शक क्षमता भएको आइसीसी सिड्नीमा कुनै पनि नेपाली सांगीतिक समूहको यो पहिलो प्रस्तुति हो। ब्याण्डले केही समयअगाडि आफ्नो ‘हजार सपना’ गीतको भिडिओ पनि सार्वजनिक गरेको थियो।