नेपाली विद्यार्थी टार्जन बुढाथोकी इमर्जिङ लिडर अल्मुनाई अवार्डको फाइनलिस्टको सूचीमा परेका छन्।
स्टडी मेलवर्नले प्रदान गर्ने भिक्टोरियन इन्टरनेसनल एजुकेसन अवार्डका लागि ७ विधामा दिने अवार्डमध्ये बुढाथोकीको नाम इमर्जिङ लिडर अल्मुनाई अवार्डको लागि प्रकाशित अन्तिम नामावलीमा समावेश भएको छ।
उनीसँगै भारतका फजिल मोह्मद र बंगलादेशका हसन मुट्टाकिन पनि छन्। तीनमध्ये एक जनाले इमर्जिङ लिडर अवार्ड पाउनेछन्।
२०२२ मा मेलवर्न इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट व्याचलर अफ इन्जिनियरिङ टेक्नोलोजिष्ट गरेका बुढाथोकी टिएक्सओ कम्पनीमा काम गर्छन्। बुढाथोकी सन् २०१८ मा अस्ट्रेलिया आएका हुन्।
विश्वविद्यालय पढ्दा देखाएको नेतृत्वदायी क्षमता, आफ्नो समुदायमा गरेको योगदान र भिक्टोरियाको अन्तर्राष्ट्रिय शिक्षामा गरेको योगदानका आधारमा प्रतिस्पर्धी छानिन्छन्।
उनी मेलवर्नमा रहेका नेपाली विद्यार्थी र यहाँ हुर्किंदै गरेको नेपालीभाषी पुस्तालाई एकआपसमा घुलमिल गराउने अनि यहाँको संस्कृतिसँग समेत परिचित गराउने उद्देश्यले स्थापना भएको मेलवर्न नेपालका उपाध्यक्ष हुन्।
इमर्जिङ लिडरको अवार्ड पाएमा त्यसले नेपाली समुदायलाई भिक्टोरियामा चिनाउन थप सहज हुने बुढाथोकीले बताए।
‘इमर्जिङ लिडर बन्न सकियो भने यसको प्रतिनिधित्व महत्वपूर्ण हुन्छ। यहाँको सरकारी तथा गैरसकारी तहमा आफ्ना कुराहरू राख्न सहज हुन्छ,’ उनले भने।