गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले आफूहरूलाई राजनीतिक अधिकार सहितको नागरिकता चाहिने बताएका छन्।
एनआरएनए अस्ट्रेलियाको आयोजनामा मेलवर्नमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष केसीले आफूहरूको अभियानपूर्ण अधिकार सहितको नागरिकता रहेको बताए।
केही नेपाल ऐन संशोधन गरेर राजनीतिक अधिकार बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी एनआरएनए नागरिकता छिट्टै वितरण हुने उनले दाबी गरे।
‘हामीले पहिला एनआरएनए नागरिकताको कुरा गर्दा यो सम्भव छैन भनिएको थियो। तर नेपालको संविधानले हामीलाई यो अधिकार दिए अनुसार अब नागरिकता पाइने भएको छ,’ उनले भने, ‘अब पूर्ण अधिकार सहितको नागरिकता पाउने दिन पनि आउँछ। हामीलाई सहज बनाउँदा नेपाललाई नै फाइदा हुने कुरा राज्यले बुझ्नुपर्छ।’
एनआरएनएकी उपाध्यक्ष रोजिना प्रधान राईले महिलालाई बाहिर निस्किन सहज नरहेको भन्दै परदेशमा रहेका महिलाको हकहितमा आवाज उठाउन जरूरी रहेको बताइन्।
उनले महिलालाई सशक्त रूपमा अगाडि बढाउन सकेमा थप सहज हुने धारणा राखिन्।
एनआरएनए अस्ट्रेलियाका प्रवक्ता बबिन मिश्रले विषम परिस्थितिमा समेत एनआरएनको नेतृत्वले सहज ढंगले काम गरेको बताए।
विश्वभरि रहेका नेपालीलाई एक ठाउँमा ल्याउने यो अभियानमा सबैले साथ दिनुपर्ने उनको भनाइ थियो।