गैरआवासीय नेपाली संघको आयोजनामा भएको युथ कन्क्लेभले युवाहरूलाई देश विकासमा प्रोत्साहन र अवसर प्रदान गर्न थप सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएको छ।
अष्ट्रेलियाको एडिलेडमा भएको कन्क्लेभमा नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराई, एनआरएन आइसिसी अध्यक्ष बद्री केसी, एनआरएन अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, सेतोपाटीका प्रधान सम्पादक अमित ढकाल सहभागी थिए।
कार्यक्रममा बोल्दै एनआरएन आइसिसीका अध्यक्ष बद्री केसीले एनआरएन आइसिसीमा विवाद नरहेको बताए। आगामी गैरआवासीय नेपाली दिवस अगावै सरकारले केही नेपाल ऐन संशोधन गरी एनआरएन नागरिकतामा देखिएको अप्ठेरोलाई हटाउने तयारी यहेको बताए।
कार्यक्रममा पूर्वमन्त्री योगेश भट्टराईले नेपालको राजनीतिबारे अनावश्यक चासो र टिप्पणी नगर्न अनुरोध गरे।
‘तपाईंहरू विदेशमा हुनुहुन्छ। राम्रो गर्नुहोस् नेपालमा राजनीतिक दलहरूबीच झगडा गराउन नआउनुहोस्,’ उनले भने, ‘गैरआवासीय नेपालीलाई दिने अधिकारका विषयमा सरकार सकारात्मक छ। नेपालको आर्थिक सम्बृद्धिमा विदेशमा बस्ने नेपालीहरूले महत्वपूर्ण भूमिका खेल्नेमा म विश्वस्त छु।’
एनआरएन अष्ट्रेलियाका युथ कोअर्डिनेटर सुमन बोहराले युवाहरूका समस्या, उनीहरूको देश विकासको चाहना र नेपालबाट आएका अतिथिहरूको प्रतिबद्धताबीच युथ कन्क्लेभ सफल रहेको बताए।