नेकपा (एमाले) का सचिव योगेश भट्टराईले जनप्रतिनिधिको संख्या सानो बनाउने गरी संविधान संशोधन गर्न जरूरी रहेको बताएका छन्।
प्रवासी नेपाली मञ्चले अस्ट्रेलियाको मेलवर्नमा गरेको कार्यक्रममा बोल्दै एमाले सचिव भट्टराईले संघदेखि सथानीय तहसमम्म जनप्रतिनिधिको संख्या घटाउनुपर्ने बताए।
‘सात सय ५३ स्थानीय तहलाई पाँच सयभन्दा तल पुर्याउन सकिन्छ। बरू जरूरी परेमा वडाको संख्या बढाउने गरी संविधान संशोधन गर्ने नेपाली कांग्रेस र नेकपा (एमाले) को तयारी हो,’ उनले भने, ‘संघमा पनि सांसदहरूको संख्या घटाउन पर्छ, संघमा घटाएपछि प्रदेशमा स्वतः घटिहाल्छ।’
जनताले संघर्ष गरेर ल्याएको संघीयता, राज्यको समावेशी चरित्र लगायतका विषयमा संविधान संशोधन नहुने उनले प्रष्ट पारेका छन्।
उनले गैरआवासीय नेपाली नागरिकको अधिकारका विषयमा भएका अन्यौल छिट्टै हट्ने बताए।
संविधानले तोके बमोजिम गैरआवासिय नेपाली नागरिकका अधिकारहरू कार्यान्वयनमा रहेका कानूनी अवरोधहरू हटाउन सरकारले कार्यदल नै निर्माण गरेर अगाडि बढेको उनको भनाइ छ।