नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सांसदहरूले अस्ट्रेलियाको भिक्टोरिया राज्यको संसदको अवलोकन भ्रमण गरेका छन्।
नेपाली जनप्रगतिशिल मञ्च अस्ट्रेलियाको निमन्त्रणामा अस्ट्रेलिया आएका सांसदहरू युवराज दुलाल र रत्न ढकाललाई भिक्टोरियाको संसदमा सांसद क्याथलिन म्याथ्यू वार्डले स्वागत गरिन्।
माओवादी केन्द्रको बागमती प्रदेश प्रमुख सचेतक समेत रहेका ढकाल र सांसद दुलालले प्रदेश सरकार र प्रदेश सरकार सञ्चालनबारे जिज्ञासा राखेका थिए। सांसद क्याथलिनले प्रदेश सरकार र प्रदेश सभाको स्वायत्तताबारे जानकारी गराएकी थिइन्।
सांसद दुलाल र ढकालले अस्ट्रेलिया नेपाल पार्लियामेन्ट्री फ्रेन्ड्सकी सचिव समेत रहेकी क्याथलिन म्याथ्यू वार्डलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
नेपाल भ्रमणको निम्तो पाउनु र आफ्ना लागि यो विशेष अवसर रहेको उनले बताइन्।
भेटपछि नेकपा माओवादी बागमती प्रदेशका प्रमुख सचेतक ढकालले अस्ट्रेलियाको प्रदेश सरकार स्वायत्त रहेको तर नेपालको प्रदेश सरकार केन्द्रबाट नियन्त्रित रहेको बताए।
उनले अस्ट्रेलिया जस्ता विकसित देशहरूमा संसदहरू सर्वसाधारणका लागि खुला रहे पनि नेपालमा त्यस्तो नरहेको बताए।
भेटमा भिक्टोरियाका लागि नेपाली वाणिज्यदूत निराजन गौली पनि सहभागी थिए।